माघ १६ मंगलबार
मकवानपुर ।
बालगायक सुप्रिममल्ल ठकुरीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिने भएको छ ।
सरूभक्त केन्द्रले ५० हजार रुपैयाँ राशिको पुरस्कार सुप्रिमलाई प्रदान गर्न लागेको हो ।
साहित्यकार सरस्वती ‘प्रतीक्षा’ संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसलाई सरुभक्त केन्द्रले अनुमोदन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

पुरस्कारका लागि साहित्यकार सरुभक्त श्रेष्ठले आफ्ना बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ । यसअघि १ लाख रुपैयाँ राशि रहेको अक्षयकोशमा थप गरेर साहित्यकार सरुभक्तले ११ लाख ५० हजार पुर्‍याउनु भएको हो ।

वि.सं. २०५७ मा पहिलो पटक सो पुरस्कार कान्छो पर्वतारोही तेम्बाछिरी शेर्पालाई प्रदान गरिएको थियो । बाजुरामा जन्मिएका सुप्रिम हाल काठमाडौंमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ भने रियालिटी सो ‘भ्वाइस अफ किड्स’ को पहिलो सिजनमा पहिलो रनर अप भएलगत्तै चर्चाका साथ हालसम्म उनका १ सय ९० वटा गीत सार्वजनिक भइसकेको छ ।

११ वर्षीय सुप्रिमलाई माघ २७ मा सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार अर्पण गरिने सरुभक्त केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भएको छ ।