मकवानपुर । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौँले मुक्तक दिवसको अवसर पारेर २०८० माघ १८ गते प्रसिद्ध साहित्यकार सरुभक्तलाई रु. ५१ हजार रुपैयाँको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरेको छ ।
यसैगरी २०७९ सालभरिमा प्रकाशित नेपाली मुक्तक कृतिमध्ये उत्कृष्ट ठहरिएको अनुराधा ढकालको ‘आरब्ध’ लाई रु. ३१ हजार रुपैयाँसहित’कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ प्रदान गरियो ।
दुबै पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गर्नु भएको हो ।
यी दुवै पुरस्कारहरू नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् ।
सोही अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली साहित्यका विशिष्ट स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ को समेत लोकार्पण गरियो ।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काईँला, अध्यक्ष कोने, समालोचक श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, ज्ञानु पाण्डे, पुरस्कृत स्रष्टा अनुराधा ढकाल, रमेन्द्र शमशेर थापा, वियोगी बुढाथोकी, दिव्य गिरी लगायतले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा मुक्तककारहरू दिनेश शर्मा (हेटौंडा), सुनिल अधिकारी, राजेन्द्र घिमिरे ‘सागर’, मदन नेपाल, निर्मलरमण पराजुली लगायतले आ-आफ्नो शुभकामना मन्तव्य तथा मुक्तक वाचनु गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।
