हेटौँडा– ६, मकवानपुरमा २०२८ भाद्र २९ गते जन्मिनुभएका किशन पौडेल लघुकथा, कथा, गजल, कवितालगायत विधामा सक्रिय रहनुभएको छ । उहाँ लघुकथा चौतारी, मकवानपुरको संयोजक, वाग्मती लघुकथा समाजको सदस्य, मातृभूमि साहित्य समाजको सदस्य, साहित्य सङ्गम मकवानपुरको सदस्य, मुक्तक मञ्च मकवानपुरको उपाध्यक्ष रहनुभएको छ । उहाँका गजल सङ्ग्रह ‘कहर’ २०७७, लघुकथा सङ्ग्रह ‘खुसी’ २०७९, संयुक्त कविता सङ्ग्रह ‘अभिव्यञ्जना’ २०७९ , संयुक्त गजल सङ्ग्रह ‘हैसियत’ र ‘गजल ए महफिल’, सयुक्त विश्व लघुकथा सङ्ग्रह हिन्दी भाषा– २०२२, संयुक्त विश्व लघुकथा सङ्ग्रह बाङ्ला भाषा– २०२३ लगायत प्रकाशित छन् ।
उसलाई शिखरमा पुग्नु थियो । उसले एउटा आशालाग्दो चाकरीको भर्याङ देख्यो । निहुँरिदै भन्यो– “प्रभु ! मलाई अवसरको ढोका खोलिदिनुस् ।” “तथास्तु ! चढ् माथि ।” उसलाई आशीर्वाद प्राप्त भो । विवेकमा लगाम लगाएर एक खुट्किलो उक्लियो । उसले माथि फर्केर हेर्यो, त्यहाँ गुलियो अङ्गुरको झुप्पा देख्यो र लालचको लामो हात फैलाउँदै भन्यो– “हजुर, मलाई त्यहाँ पुग्नु छ !” “समाऊ हात ! ” कृपा दृष्टि भो ! चाप्लुसीको डोरी समायो र चढ्यो माथि । उसले जिन्दगीको रङ्गिन सपना देख्न थाल्यो, धेरै माथि उड्ने लालसाले महत्कात्त्वाकाङ्क्षा पखेटा फिँजाउँदै भन्यो– “स्वामी मलाई शिखरमा नै पुर्याइदिनुस् ! “ –“अवश्य ! ” मिठो आश्वासन प्राप्त भो । निष्ठालाई कुल्चिँदै ऊ माथि पुग्यो । त्यहाँ ऊ जस्तै अवसरवादीहरू नैतिकताको सौदाबाजी गर्दै रहेछन् । उसले सोध्यो– “मालिक म के गरूँ !” “देऊ बलिदान !” उसले आफ्नो नैतिकताको बलिदान दियो र अवसरको झ्यालबाट फुत्त भित्र पस्यो । इमानको ढोकामा चुकुल लगायो । उचाइको सिसमहलभित्र सुस्ताउँदै ऐनामा अनुहार हेर्यो । ऊसँग स्वाभिमानको शिर थिएन ।
किशन पौडेल, हेटौँडा–४ चिल्ड्रेन पार्क
