मकवानपुर । मकवानपुर–सिन्धुली साहित्यिक सङ्गमको आयोजनामा माघ २० गते शनिबार बागमति नदिको किनारमा बनभोज तथा रचना वाचन कार्यक्रम भएको छ ।

मकवानपुर र सिन्धुली दुबै जिल्लाका साहित्यकारहरूलाई पायक पर्ने गरी मदन भण्डारी लोकमार्ग नजिकै बागमति नदि किनारमा कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि निमेष निखिलले यो राम्रो संस्कारको विकास भएको बताउँदै अर्को बर्ष दुई दिवसीय कार्यक्रम गर्नुपर्नेमा जोड दिए । उनले मकवानपुर, सिन्धुली, रामेछाप, चितवन, सर्लाही, रौतहटलगायतका साहित्यकारहरू समेतलाई समेट्न सके अझै कार्यक्रम फलदायी हुने अपेक्षा राखे ।

बिगत तीन बर्ष यता सिन्धुली तथा मकवानपुरका साहित्यकारहरू यसैगरी भेला हुदै आपसमा भेटघाटसहित रचना वाचन गर्ने गरेकोमा यो बर्ष पनि त्यसैलाई निरन्तरता दिएको मकवानपुरतर्फ संयोजन गरेका साहित्यकार विश्वनाथ सञ्जेलले बताए । उनले आगामी बर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा मकवानपुरका रमेशमोहन अधिकारी, जर्नादन खनाल, पुरुषोत्तम आचार्य, छवि अनित्य, मसान उपासक, देवराज तिवारी, केशव समर्पण, हरी पौडेल, गायत्री रुपाखेती, मिथिला अधिकारी, बैकुण्ठ लामिछानेलगायत तीन दर्जन साहित्यकारको उपस्थीति रहेको थियो । यस्तै, सिन्धुलीबाट लोकेन्द्र डहरे, खडानन्द तिमल्सिना, धनमाया राई, अस्मिता दाहाललगायत दुई दर्जन साहित्यकारको उपस्थीति रहेको थियो ।

बुढ्यौली साहित्य समाज सिन्धुलीका अध्यक्ष शम्भु गजुरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष विश्वनाथ सञ्जेलले गरेका थिए ।