मकवानपुर, २७ माघ । शनिवार रोयल पार्टी प्यालेस हेटौँडा-४ मा मातृभूमि साहित्य समाज मकवानपुरको रचना वाचन कार्यक्रमका साथै संस्थाको २४ औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव बहादुर पोखरेलको सभाध्यक्षयता र वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठको प्रमुख आतिथ्ययतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिमा काव्यकार मुना अर्याल र मुक्ति गोविन्द वैध हुनुहुन्थ्यो । मकवानपुर सर्जक सञ्जालका संयोजक निमेष निखिलले शुभकामना मन्तव्य राख्दै मातृभूमिले गर्दै आएको कार्यक्रमहरू र गतिविधिहरूको बारेमा चर्चा गर्नुभएको थियो । उक्त वार्षिक साधारण सभाको विशेष अधिवेशनबाट ११ सदस्यीय कार्यसमितिका पदाधिकारीहरू सर्वसम्मतिले घोषणा भएको थियो ।
नयाँ कार्यसमितिमा अध्यक्ष कृष्ण प्रसाद दाहाल, उपाध्यक्ष हेमन्त कुमार ढुङ्गेल, महासचिव मञ्जु खराल,सचिव, किशन पौडेल कोषाध्यक्ष निरा शर्मा,सदस्यहरूमा सानु खनाल श्याम प्रसाद श्रेष्ठ , वैकुण्ठ लामिछाने, गोपिनी गौतम मिथिला अधिकारी , प्रद्युम्न उपाध्याय चयन हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा हयग्रीव आचार्य र सदस्य द्वय अधिवक्ता अप्सरा बस्नेत र चूडाराज उप्रेती रहनु भएको थियो। कार्यक्रमलाई मातृभूमिका महासचिव हेमन्त ढुङ्गेलले सहजीकरण गर्नुभएको थियो भने उपाध्यक्ष कृष्ण प्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा मातृभूमि साहित्य समाज, मकवानपुरका विशिष्ट आजीवन उपासक, प्राध्यापक, अधिवक्ता, सामाजिक अभियन्ता, राजनैतिक कर्मी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । रचना वाचन कार्यक्रममा चितवन जुम्ला र मकवानपुरका दुई दर्जन साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो ।
