जीवन–यात्रामा
पन्छाएर अलिकति तुवाँलो
ओढ्दै हिउँका दोसल्ला
पत्रपत्रमा भरेर बारुदहरू
बचाई राख्न सिङ्गो अस्तित्व
आत्मियताले उकेरा लगाउँदै
काँडासँगको अटुट सम्बन्ध
रोमाञ्चित हुँदै नवउमङ्गले
निशर्त फुलिरहेछ–रातो गुलाफ
उम्रँदा–उम्रँदै देख्छ
पहिलोपटक पर क्षितिजले
र आउने चेष्टा कहिले गरेन
म भएसम्म
सायद,
उसैको छातीभरि फुलिरहेकी थिएँ
एउटा चन्द्रमुखी
जानेर पनि यतिबेला
आफ्नो जीवनको अल्पायु
छातीभरि बोकेर
आफैँ टुट्नुको पीडा
सहेर कति हुरी
काटेर अथाह दुःख
फुलिरहेछ काँडाहरूको बीचमा
अरुहरूकै लागि ।
विडम्बना !
पूर्ण फुल्न नपाउँदै अस्तित्व
आएका छन्,
अनगिन्ती हत्यारा हातहरू ।
प्यारा प्रेमीहरू
मृत्युपछि पनि
फक्रिरहन सकूँ–तिम्रा सिर्जनाहरूमा
बाँचिरहन सकूँ—तिम्रा प्रेमिल आँखाहरूमा
र, सिङ्गारिन सकूँ–तिम्रा जिउँदा सपनाहरूमा
प्रिय हत्यारा हातहरू
तिमीलाई म
माफी दिन सक्दिनँ
माफी दिनु त
मेरै सन्तानको हत्या रहेछ ।
बुढानिलकण्ठ, काठमाडौँ
