रमेश शुभेच्छु नेपाली साहित्यमा एक ऊर्जाशील स्रष्टा हुनुहुन्छ । उहाँले सिर्जना, समीक्षा, साहित्य सञ्चार, साहित्य सङ्गठन र साहित्यकै प्राध्यापनका माध्यमबाट नेपाली साहित्यको विकासमा टेवा पुर्याइरहनुभएको छ । तीन दर्जन अधिक पाठ्यपुस्तक, सम्पादित एवम् सिर्जनात्मक कृतिका लेखक शुभेच्छु असाध्यै सक्रिय युवा प्रतिभामध्येमा पर्नुहुन्छ । उहाँले साहित्य सिर्जनामा समर्पित भएकै कारण राष्ट्रिय युवावर्ष मोती पुरस्कार २०७३ लगायतका दर्जनौँ पुरस्कार र सम्मान पनि पाउनुभएको छ । उहाँ दर्जनौँ संस्थाहरूको नेतृत्व तहमा रहेर काम पनि गरिरहनुभएको छ । उहाँसँग नव साहित्य अनलाइन पत्रिकाका लागि कार्यकारी सम्पादक मसान उपासकले काठमाडौँको शुभेच्छु कार्यरत वानेश्वर बहुमुखी क्याम्पसमा लिएको अन्तर्वार्तालाई यहाँ समेटिएको छ ।
१. डा. रमेश शुभेच्छुज्यू, तपाईंलाई हार्दिक स्वागत छ ‘ नव साहित्य अनलाइन पत्रिका भेटवार्ता’ मा !
- धन्यवाद मसान उपासकज्यू । यहाँको सद्भावका लागि आभारी छु । नव साहित्य अनलाइन पत्रिका परिवारमा आभार चढाउँछु ।
२. अचेल साहित्य लेखनसँगै के केमा व्यस्त हुनुहुन्छ ?
- म दैनिकीका रूपमा क्याम्पसमा पढाउँछु । गरिखाने क्याम्पस दुई तीन वटा छन् । त्योबाहेक बचेको समय लेखन, सम्पादन, सङ्गठन र साहित्यिक कार्यक्रममा समय दिइरहेको हुन्छु । अहिले ज्ञानको भोकका कारण एउटा अर्को विषयको उच्च शिक्षा पनि लिइरहेको छु । नेपालमा काम छैन भन्छन् । म त पूर्ण काम पाएर बसेको ठान्छु आफूलाई (केही हाँस्तै) ।
३. अर्को विषय पढ्दै हुनुहुन्छ भन्ने सुनेको थिएँ । एउटा विषयको विद्यावारिधिपछि पुनः किन अर्को विषयको पनि उच्च शिक्षामा लाग्नुभयो ?
- यो मेरो रहरको कुरा हो । म तत्कालीन आइ.ए.देखि नै अङ्ग्रेजी विषयको पनि विद्यार्थी थिएँ । त्यसलाई बिस्तारै आफ्नै पाराले अगाडि बढाउँदै थिएँ । नेपालीमा एम.ए., एम. एड., एम.फिल र पीएच. डी गर्न थालेपछि अङ्ग्रेजी पढाइ छुटिरहेको थियो । छुटे पनि त्यसलाई समय मिलाएर घिसार्दै थिएँ । त्यसको औपचारिक उच्च शिक्षाका लागि एम. फिल.को कक्षामा गएको हुँ । यस शिक्षाले मेरो नेपाली साहित्यको अध्ययनको दायरालाई फराकिलो बनाउने छ । विश्वसाहित्यका कृतिहरूका मूल पाठ नभए पनि अङ्ग्रेजी अनुवाद पढ्न पाइन्छ भन्ने मेरो लोभ हो ।
४. तपाईंले नेपाली साहित्य लेखनको क्रममा साहित्यका कुन कुन विधामा कलम चलाउनुभएको छ ?
- मूलतः म कवि हुँ । कविता, गीत, गजल, मुक्तक आदि कवितात्मक उपविधाहरूमा मैले कलम चलाएको छु । केही हाइकु पनि लेखेको छु । बालसहित्यतर्फ बालकविता, बालगीत, आख्यान र निबन्धहरू थुप्रै सिर्जना गरेको छु । नाट्य विधामा पनि कलम चलाएको छु । मेरा थुप्रै नाटकहरू पनि छन् तर ती पुस्तकाकार रूपमा सार्वजनिक भएका छैनन् । आधा दर्जनजति नाटक र लघुचलचित्र प्रदर्शन भएका छन् । लेखनिबन्धहरू पनि त्यत्तिकै लेखिरहेको छु । मेरो उच्चशिक्षा र पेसाले पनि मलाई समीक्षक नबनिरहन दिँदैन । म त्यस क्षेत्रमा पनि सकेको सैद्धान्तिक र प्रायोगिक दुवै किसिमका समीक्षा लेखिरहेको छु । अलि छरिएर भाषाको सेवा गरिरहेको छु । कसैले यसो नगर्नू भन्छन् फेरि कसले के माग्नुहुन्छ त्यही लेख्ने बानी पर्यो ।
५. मान्छेले आफ्ना छोराछोरी साहित्यकार बनाउन चाहँदैनन् । आफ्नो सेवा क्षेत्रका लागि साहित्यलाई किन रोज्नुभयो ? जीवनलाई साहित्यले कस्तो प्रभाव पार्छ ?
- भन्न त सबै छोराछोरी डक्टर, इन्जिनियर बनाउँछु भन्छन् तर त्यसो पनि भइरहेको हुँदैन । मेरा बाआमामा छोरालाई के बनाउने भन्ने थिएन । त्यस बेला म परिवारको पहिलो पुस्ताका रूपमा स्कुल जाँदै थिएँ । अलि पछि बाले वकिल भए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो । हजुरआमा, हजुरबाले नाति पण्डित भएको हेर्ने इच्छा गर्नुभएको थियो । बरु मेरी आमाले मास्टर होस् भनने कामना गरेको सम्झन्छु । उहाँहरूले जे बनाउन खोज्नुभएको थियो त्योभन्दा म अरु नै केही बनिरहेको छु । प्राध्यापन पेसा सम्भवतः मेरी आमाको शिक्षण पेसाको विकास होला ।
- यहाँको प्रश्नको अर्को पक्ष किन साहित्यकार बनिस् भन्ने थियो । साहित्यमा नलागेको भए म गायक वा अभिनेता हुन्थेँ होला । त्यसो पनि नभएको भए मेरो स्वभावले आध्यात्मिक क्षेत्रमा लैजान्थ्यो होला । त्यसो नभए समाजसेवा वा राजनीतिमा पूर्णकालीन भएर लाग्थेँ होला । श्रम गरेर भात खानु परेको भए म कुनै सिपमूलक श्रम गर्थेँ होला । मैले दश कक्षा पढ्दै खात, आलमाली, टेबल कुर्सी बनाएको थिएँ । कटबिराली बनाएको थिएँ । साहित्यमा लागेपछि ती अरु क्षेत्र क्रमशः गौण बन्दै गए । म यसै क्षेत्रमा समर्पित बनेर लाग्न थालेँ ।
- अब त साहित्य मेरो मेडिटेसनको माध्यम पनि भयो, परिचयको आधार पनि भयो, जीवन अनुभव अभिव्यक्त गर्ने आधार पनि भयो, समाजसेवाको माध्यम पनि भयो, मञ्च rढ्ने आधार पनि भयो । सम्पादनका माध्यमबाट अतिरिक्त ज्ञानको माध्यम पनि भयो र कमाइको माध्यम पनि भयो । हरेक दिन केही पढ्न लेख्न पाइँन भने म a]चैन हुन्छु । यो जँड्याहाको वा धुमपान वा खैनी खानेको लत जस्तै भएको छ । अब यो रुचि र पेसा दुवै कोणबाट मेरो क्षेत्र भयो । मैले शिक्षाशास्त्र र मानविकीमा लिएको उच्च शिक्षाले पनि यतै सघायो । नेपाली र अङ्ग्रेजीको उच्च शिक्षाले पनि यतै सघाएको छ । यो मेरो रुचिक्षेत्र र कर्मक्षेत्र दुवै हो । म अब अरु क्षेत्रमा जान्नँ ।
६. लेखनको सुरुवाती कालखण्ड र अहिलेको परिस्थितिलाई कसरी सम्झनुहुन्छ ?
- मेरो लेखनयात्राका प्रारम्भिक दिनलाई म झलझली सम्झन्छु । त्यस बेला मलाई अभिप्रेरित गर्ने पक्ष मेरा घाँसदाउरा, मेलापात थिए । मेरा गोजीमा केही कापीका पाना र एउटा कलम साथै हुन्थ्यो । घाँसको भारी पुर्याएर घर फिर्नुअघि केही श्लोक कविता लेखेर मात्र घर फर्कने पात्र हुँ म । त्यस बेला र आजको मेरो सिर्जना र ममा धेरै अन्तर छ नि ।
- अन्तर कस्तो भन्दा हामी एउटा कुना कन्दरामा जन्मे हुर्केका मानिस हौँ । हामीसँग प्रतिभा भए पनि त्यसलाई ठम्याउने र प्रोत्साहन गर्ने मानिसको अभाव थियो । लेखन र सम्पादनमा ज्यादै धेरै समय दिनुपर्थ्यो । आज तपाईँ मलाई सोध्दै टाइप गर्दै, रेकर्डेट टाइप गर्दै हुनुहुन्छ । यो सुविधा मेरा प्रथम युवा उमेरका भोक, तिर्खा, निद्रा बिर्सिएर काम गर्ने बेलामा भइदिएको भए कति उन्नति गरिन्थ्यो होला भन्ने लाग्छ । मैले पहिलो कृति २०५७ सालमा प्रकाशन गर्दा लेटर प्रेसबाट छापेको थिएँ । सङ्ग्रहका सङ्ग्रह कविता त ५० साल वरिपरि नै सिर्जना गरिसकेको थिएँ तर त्यसको प्रकाशन गरिदिने वा प्रकाशन गर्न प्रोत्साहन गर्ने पक्ष थिएन । मेरो पहिलो कृतिको कम्पोज मात्र गर्न दुई महिना जति प्रेसमा धाएको सम्झन्छु । आज भए त्यति समयमा अरु धेरै काम गर्न सकिन्छ ।
७. धेरै अन्तर भइसक्यो है ? अनि अहिले त जतासुकै छापिएको देखिन्छ नि ?
- हो नि । म जन्मिएको परिवेश र ठाउँ एवम् आज हामीले पाएको परिवेश र हामी कुरा गरिरहेको ठाउँको विकासको गति कत्ति पनि मिल्दैन । यो दुई दशक तीन दशकबिचको कुरा हो तर दुई शताब्दी जतिकै अन्तर बनिसकेको छ । आफ्नो सिर्जनात्मक अतीत र वर्तमान सम्झँदा आकाश पाताल फरक भएको छ ।
- के भन्नु, त्यस बेला भित्तेपत्रिकामा पनि रचना छापिँदैन थिए । इलाम क्याम्पसको विद्यार्थी भएपछि पनि रचना छाप्न कसैले पत्याउँदैन थे । प्रतियोगितामा पुरस्कृत हुन भने कसैले रोक्दैन थियो । मेरो आत्मविश्वास बढाउने एउटा माध्यम प्रतियोगिताहरूमा पुरस्कृत हुनु थियो । त्यस बेला मधुपर्कमा एउटा गजल छापिँदा के के न भएको अनुभव हुन्थ्यो । आज लेखरचना माग्ने पत्रपत्रिकालाई दिन सकिरहेको छैन । सबै पत्रिकामा मेरा लेखरचना सम्मानका साथ छापिन्छन् । लेखकका कृतिमा भूमिका लेखेर भ्याइनसक्नु छ । शनिबारैपिच्छे कृतिमाथि बोल्न विमोचन समारोहहरू जानुपर्छ । त्यस बेलाको बिचरा म आज केही गर्न सक्ने भएको छु । लगातार एकै क्षेत्रमा लागिरहे हुने रहेछ भन्ने लाग्छ ।
८. नेपाली समाजको रूपान्तरणमा साहित्यको भूमिका कस्तो पाउनुभएको छ ?
- साहित्यको मूल भूमिका समाज रूपान्तर नै हो । समाजका मूल्यमान्यता र चेतनाभन्दा साहित्य अगाडि अगाडि हिँडिरहेको हुन्छ । नेपाली समाजमा पनि यो देखिन्छ । भानुभक्त आचार्यको भोलि भोलि भन्दैमा सब घर बिति गो बक्सियोस् आज झोली, लोक्को गरुँ हित् भनी, त्यस घाँसीले कसरी आज दिएछ अर्ती आदि कविता, धरणीधरका जाग जाग अब जाग न जाग, मोतीराम भट्टका अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा, लेखनाथका सत्य कली संवादका कली संवाद वा काल महिमा, देवकोटाका पहाडी पुकारका चेतना, सुलोचना महाकाव्यक चेतना, गोपालप्रसाद रिमालका मसान जस्ता नाटक आदिका चेतना लेखन प्रकाशन नभएको भए हामी जहाँको त्यहीँ रहन्थ्यौँ लाग्छ । युद्धप्रसाद मिश्र, केवलपुरे किसान, रमेश विकल, मोदनाथ प्रश्रित आदिका रचना नआएका भए हाम्रो समाजको जागरण कहाँ हुन्थ्यो र ? यस्तो भूमिका हरेक श्रष्टाले हरेक युगमा निर्वाह गरेका हुन्छन् ।
- मसिनो गरी हेर्यौँ भने यो सबै विधामा हुन्छ । आख्यानको कुरा गर्दा गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुले लेखेको तत्कालीन समाजको यथार्थ चित्र समाजका सचेत पाठकले पढ्न नपाएका भए कहाँ अग्रगामी बाटो लिन सक्थे र ? लैनसिंह बाड्देलले त्यस बेला लेखेको मुलुकबाहिर उपन्यासको कथा र आजको मुलुकबाहिरको नेपालीको कथामा के अन्तर आएको छ र ? मोदनाथ प्रश्रितको मानव पढ्दा मेरा रौँ ठाडा भएका थिए । गोलघरको सन्देश पढ्दा दाँत कड्कडाएका थिए । आजका लेखकको काम पनि त्यही त हो नि । समाजमा राजनीतिभन्दा लेखकको स्वप्नदृष्टि अगाडि हुन्छ । लेखकका चेतनाले राजनीति डोहोरिइरहेको हुन्छ । सामाजिक विकास र उन्नतिले लेखकका चेतनाका पछाडि पछाडि बाटो बनाइरहेको हुन्छ । नेपाली साहित्यमा समाज रूपान्तरणको क्रम प्रगतिवादी र गैरप्रगतिवादी साहित्यले पनि निरन्तर अगाडि बढाइरहेको छ । त्यसमा प्रगतिवादी साहित्यको प्रत्यक्ष र आलो प्रभाव देखिन्छ तर अरु साहित्य पनि त्यस्तो पश्चगामी लाग्दैन ।
९. प्रगतिवादी साहित्यमाथि ह्रास पैदा हुँदै गएको आरोप छ, तपाईँ के भन्नुहुन्छ ?
- प्रगतिवाद वर्गीय आन्दोलनको सिर्जनात्मक चेतना हो । यसको इतिहासलाई हेर्दा आरोह, आवरोह अवश्य आएको छ । यसै आन्दोलनका बलमा नेपालमा २०५१ सालपछि कुनै न कुनै रूपमा कम्युनिस्टहरू सत्तामा छन् । जब उनीहरू सत्तामा पुगे तब वर्गीय पक्षमाथिको चिन्तनमा केही कमजोरी अवश्य भएको छ । यो कमजोरी मूल कम्युनिस्ट आन्दोलनको कमजोरी हो तर यसको साहित्यिक प्रयोग भने प्रगतिशीलताका नाममा र प्रगतिवादका नाममा पनि लेखकहरूले निरन्तर अगाडि बढाइरहेका छन् । साधकहरू विकासकै बाटामा छन् ।
- अर्को कुरा आजको प्रगतिवादले लिने गरेका वर्गीय बिम्बहरू उही छैनन् । यिनीहरू फेरिँदै आएका छन् । यो फेरिएको पक्षलाई प्रगतिवादले समाउन नसक्नु यसको कमजोरी हो । फेरिएको पक्ष के हो भने आज जमिनदारहरू सहकारी, फाइनान्स र बैङ्क बनिरहेका छन् । सामन्तहरू स्कुल, कलेज र बैङ्कको वैधानिक बाटो निम्नवर्गीय समुदायमाथि शोषण गरिरहेका छन् । किसानहरूको तरकारी बिचौलिया, गाडीवाल बिचौलिया तरकारी बजार सञ्चालकहरूका हातमा छ, किसानको अन्न तेल आदि मिलवाला र काँटावालासँग छ । पानीलाई पानी व्यापारीले बोतल र जारमा थुनेर बेचिरहेछन् । सास फेर्ने अक्सिजन पनि व्यापारीले बेच्न थालेका छन् । हाम्रा पाखाभित्तामा हुने जडीबुटी, पहरा रसाएर आउने शिलाजित सबै औषधी माफियाका कब्जामा छन् । समाज परिवर्तन गर्छौँ भन्ने महान् गुरुहरू शैक्षिक माफियाका कब्जामा छन् । यस्तो बेला लेखिने प्रगतिवादी साहित्यले हिजोका गाउँका मुखिया र कामदार वा जमिनदार र किसानका विषय मात्र लेखेर पुग्दैन । वर्गसँग जोडिएको हिजोको प्रश्रितले अगाडि सारेका दलित नायिका र ब्राह्मण नायक अगाडि सारेर पनि पुग्दैन । स्वास्नीलाई फुली किनिदिन नसक्ने बाहुन पनि छ । सहरभरि १०० वटा सुन पसल हुने दलित पनि छ । यी समस्या समाउन नसक्नुले प्रगतिवादी लेखन पछाडि परेको हो ।
१०. यहाँले नयाँ विषय उठाउनुभयो । यस्ता अरु पक्ष पनि त होला न् नि ?
- किन नहुनु, कति छन् कति । सहरमा एउटा घरले अर्को घरको घाम छेकिरहेछ । विदेशी दलालहरू एनजिओको सहयोगी र आइएनजीओको मालिक बनेर पसिरहेका छन् । विदेशी समाजवादको आँखा छलेर वामपन्थीहरू नै पुँजीवादको यात्रामा छन् । शिक्षासेवीहरू स्वयम् व्यापारी बनेका छन् । उनीहरू कन्सल्ट्यान्सी खोलेर हिजो म्यान पावरले गरेका काम गरिरहेका छन् । प्रकारान्तरले मान्छे बेचिरहेका छन् । यो क्रम जतासुकै छ । भुटानी शरणार्थीहरू तेस्रो मुलुक जाने क्रममा नेपालीहरू नक्कली भुटानी बनेर बेचिए । डिभीका नाममा यहाँको बौद्धिक जनशक्ति बेचिए । यसको हिसाबकिताब मसिनो गरी हेर्यो भने साहित्यले खोजिरहेको छ । तर राजनीतिज्ञहरू रेमिट्यान्सले देश चलेको व्याख्या गरेर बसेका छन् । वैदेशिक रोजगारीमा टाढा भएका पतिपत्नीको जवानीको खुसी खोसिएका पक्षको हिसाब कसैले गरेको छैन, यसका कारण आएको पारिवारिक विचलन र विघटनको हिसाब कोही गर्दैन । बाबुआमाको माया नपाएर बाल मस्तिष्कमा परेको चोटको गहिराइ कोही नाप्तैन । सन्तान परदेश जाँदा बाबुआमाका मनमा हरेक चाडबाडमा लागेका चोट र तिनका खत कोही बुझ्दैन । गाउँ रित्ता भइसकेको हिसाब कोही गर्दैन (अलि जोसका साथ) एकोहोरो रेमिट्यान्सको कुरा छ ।
- कुरा अरु पनि छन्, हिजो गाउँका मुखियाका छोराले गर्ने गाउँले चेलीबेटीको हिंसाको रूप पनि फेरिएको छ । पुरुष पनि हिंसामा छन् । इन्टरनेटको बाटो कहाँ कसले कसलाई कहिले हिंसा गर्छ अत्तोपत्तो छैन । अब मुखियाको छोरो होइन हरेक साइबर प्रयोग गर्ने व्यभिचारीहरू महिला हिंसा वा यौन हिंसा गरिरहेका छन् । नारी पनि पुरुषलाई हिंसा गरिरहेका छन् । वैदेशिक रोगजारीका नाममा हाम्रा निम्नवर्गीय बन्धुहरूको शोषण स्वदेशी मालिक मात्र होइन विदेशी मालिकले पनि गरिरहेको छ । हिजोभन्दा जागिरका तह बढेका छन् । ती तहसँगै वर्गविकास भएको छ । मैले गर्ने बौद्धिक पेसामा त मेरो मालिक मेरो ढाडमा चढेर नाच्छ अरुको के कुरा गर्नु ।
११. राजनीतिक तहमा वर्गीय अवस्था कसरी हेरिरहनुभएको छ ?
- राजनीतिमा सामन्तवादको मूल जड राजा मान्थ्यौँ होइन ? आज राजतन्त्र गए पनि राजाहरू बढे जस्तो भइरहेको छ । हरेक नेता स्वयम् सामन्तवादको प्रतीक बन्न थालेका छन् । यस विषयमा कुरा गरी साध्य छैन । अब रमेश विकलको लाहुरी भैँसीका द्वारेबा र लुखुरेका जीवनमा फरक फरक शोषण र शोषितपन देखिँदैछन् । दुधका लोभले लुखुरेलाई शोषण गर्ने द्वारेबासँगै मम पसलेले पनि लुखुरेको भैँसी निकम्मा बनाएर ममको व्यापार गर्न थालेको छ । उसले भैँसीको कल्चौँडो होइन आङको मासु हिसाब गर्दै छ । ऊसँग परम्परित द्वारेबाको प्रवृत्ति पनि छँदै छ । लुखुरेको भैँसी निकम्मा बनाउन मम पसलेको बिचौलिया, सोझै पसले पनि लागेको छ र नजिकैको दुध डेरीको मालिकले पनि लुखुरेको घिउ खाने हक खोसिरहेछ । उसको दुधको उचित मूल्य नदिएर शोषण गरिरहेको छ ।
- अधिकारको दुरूपयोग गर्दै डक्टरले पनि शोषण गर्छ, वकिलले पनि शोषण गर्छ अब ती बिम्बहरू फेरिएका छन् । हिजो हृदयचन्द्रसिंहले डा. गोदत्तप्रसादका नाममा देखाएका नवधनाढ्य र पढेलेखेका सामन्तको रूप यथावतै छ । तिनको रूप पनि फेरिएको छ तर उही छ । इन्टरनेटबाट कमजोर डक्टरले ठुला विज्ञापन गरेर फसाउनुपर्ने मान्छे फसाइरहेको छ । शैक्षिक संस्था पनि त्यस लहरमा छन् । नेता आफैँ शोषकको प्रतिमूर्ति देखिन थाल्यो । जनतालाई भोट दिने हात काटौँ कि नेता काटौँको आक्रोशले थिच्न थाल्यो । राजनीतिको परिभाषा सेवा, समाजसुधार, समानता स्वतन्त्रताबाट पेसामा सीमित हुन थाल्यो । म बिहान छ बजेदेखि साँझ आठ बजेसम्म काम गर्छु तर मेरो जीवन उठ्न सकेको छैन । मेरो आठ कक्षा पढ्दा पढाइ छोडेको सहपाठी वडा अध्यक्ष छ । उसको सहरमा घर छ । गाडीमा हिँड्छ । अब के भन्ने । यस्तो बेलामा यी सबै बिम्ब समाएर लेख्ने लेखकको अभावचाहिँ भएकै हो । तर प्रगतिवादी साहित्य अब नचाहिने भएको होइन ।
१२. नेपालमा कम्युनिस्ट पार्टीहरू कुनै न कुनै रूपले सत्तामा बसिरहे पनि विकासको गति परम्परित भएको आरोप छ नि ? यसलाई कसरी हेर्नुभएको छ ?
- कति गहिरो प्रश्न । सोझो अर्थमा भन्दा नेपालको विकासको मोडल मिलिरहेको छैन । नेपाललाई गाउँपालिककाको मुलुक नबनाएर नगरपालिकाको मुलुक बनाउने प्रयत्न बढिरहेको छ । यसबाट धेरै किसान र निम्नवर्गीय धर्तीपुत्रहरू मारमा छन् । रैथाने शिल्पकला र क्षमता कमजोर बनिरहेको छ । प्लटिङ मालिक र दलाल सर्वसाधारणका धान फलाउने खेतमा नाचिरहेका छन् । प्रकारान्तरले गरिखाने किसान ठगिरहेका छन् । सेयरबजारका नाममा सानो पुँजी हुनेहरू बलिको बोको बनिरहेका छन् । शिक्षाको निजीकरणसँगै छोराछोरी पढाउने निहुँमा सहर पसेका छोरीबुहारी, छोरा ज्वाइँहरू भिन्न प्रकारको शोषणमा छन् । तनाबमा छन् । सन्तान पढाउने कि आत्महत्या गर्ने अवस्थामा छन् । बिरामी परियो भने उपचार गर्ने कि आत्महत्या गर्ने अवस्थामा छन् । गाउँमा राम्रो स्कुल भए गाउँ रित्तिँदैन थिए । गाउँमा पालिका स्तरका अस्पताल जिल्ला स्तरका राम्रा अस्पताल भए गाउँका मानिसलाई राहत हुन्थ्यो । ससाना घरेलु उद्योग र अन्य रैथाने उद्योगलाई सघाएको भए देशको विकासको मोडल मिल्थ्यो । गाउँमा सिमेन्ट र रड जान नदिएर परम्परित घर निर्माणमा प्रोत्साहन गरेको भए गाउँको गति र लय बिग्रँदैन थियो । हाम्रा योजना आयोग, हाम्रा अध्ययन दल सबै बेकम्मा लागिरहेका छन् । यसले सबै नेतालाई भिलेनका भूमिकामा उभ्याइरहेको छ । यो अशिक्षित मानिसको राजनीतिक प्रवेशको प्रतिफल पनि हो । नेताले बौद्धिकलाई पढाउने बौद्धिकका कुरा सुन्दै नसुन्ने चरित्रको प्रतिफल हो कि जस्तो लाग्छ ।
- व्यापार व्यवसाय पनि फरक बाटोमा हिँड्न थालेको छ । अनलाइन बिजनेसको बाटो ठुलो जमात शोषणमा छ । केही व्यापारीले गरिब बाबुले दुई तीन लाख हालेर किनिदिएको मोटरसाइकल एक प्लेट मम कसैका घरमा पुर्याउन लगाएर युवा जनशक्ति र साधन स्रोतको दुरूपयोग गरिरहेका छन् । यो राज्यले प्रयोग गर्नुपर्थ्यो । सार्वजनिक यातायातको उचित व्यवस्थापन नहुँदा हरेक यात्रु शोषणमा छ । खलाँसी र ड्राइभर पनि उठ्न सकेका छैनन् मालिक पनि उठ्न सकेको छैन । यी यावत् पक्ष साहित्य परम्परामा लेखिएका छैनन् । अहिलेको प्रगतिवादी साहित्यको विषय अघिल्ला प्रश्नमा पनि उठाएका र यस प्रश्नमा पनि उठाएका विषय हुन् । मेरो एउटा सहकारीको अङ्कल भन्ने कथा यसै विषयमा लेखिएको छ । द्वारेबा कविता पनि यसै विषयमा केन्द्रित छ । समाजमा नजानिँदो गरी भौतिक र मानसिक क्षति बढिरहेको छ ।
- संवेदनशील क्षेत्रको निजीकरणले क्षमतावान् मानिस कम मूल्यमा र बढी दवाबमा जागिर खान विवश छ । तराईका सहरमा एउटा मालिकका १००० रिक्सा सडकमा छन् । काठमाडौँमा एउटा मालिकका १००० मोटरसाइकल सडकमा छन् । १००० ट्याक्सी सडकमा छन् । एउटा मालिकका १०० घर भाडामा छन् । राज्य यी पक्षमा बेखबर छ । एउटा मालिकले कम शुल्कमा प्रयोग गरेको यतिको युवा शक्ति प्रयोग गर्न नजानेर राज्य गरिब छ । युवाशक्ति पनि त राज्यको सम्पत्ति हो । तपाईँ र मलाई राज्यले हामीले जानेको काम देओस् त हामी अठार घन्टा खट्तैनौँ ? लेखकहरूले पनि यी विषय लेख्न सकेका छैनन् । हुँदा हुँदा प्रकाशकहरू लेखकलाई नै पैसा खर्च गराएर पुस्तक छापिरहेका छन् । कलाकारलाई नै पैसा खर्च गराएर एल्बम निकालिरहेका छन् । यो व्यापार साझा प्रकाशनमा पनि पसिसक्यो । अन्तको कुरा छाडौँ ।
१३. नेपाली साहित्यमा परिमाणात्मक विकास भए पनि गुणात्मक विकास किन हुन सकिरहेको छैन ?
- त्यसो होइन । जे खोज्यो त्यही भेटिने रहेछ । म वर्षसाहित्य पुस्तकको लेखक हुँ । हरेक वर्ष नयाँ कृति पढिरहेको हुन्छु । सम्भवतः मेरो पुस्ताको किताबको किरो हुँ म । केही राम्रा कृति आइरहेका छन् । राम्रा लेखक विकास भइरहेका छन् । यति हो हाम्रामा गम्भीर साधनाको अभाव छ । अध्ययन चिन्तन मननको खाँचो छ । भवानी भिक्षु जस्ता आख्यान साधकको खाँचो यस युगलाई पनि छ । अहिले बजारमा उनका कृतिको अभाव छ । उनको परिष्कारचेत अहिलेसम्मको नेपाली आख्यानले देखाउन सकेको छैन भने पनि हुन्छ । मैनाली, विकल, भिक्षुका आख्यानको उचाइ साधना, साधना र साधनाबाट मात्र स्थापित भएको हो ।
- समदेखि मल्ल बन्धुका आख्यान र नाटकदेखि सरुभक्तसम्मका नाट्य प्रतिभा कम साधनाले त्यो उचाइमा छैनन् भन्ने मलाई लाग्छ । वासुदेव त्रिपाठी, मोहनराज शर्मा, केशवप्रसाद उपाध्याय, राजेन्द्र सुवेदी, अभि सुवेदी, कृष्ण गौतम, महादेव अवस्थी, गोविन्दराज भट्टराई, आदि समालोचकहरू त्यसै समालोचक बन्नुभएको होइन । त्यहाँ ठुलो तपस्या र समर्पण छ । लेखनाथ, देवकोटा, रिमाल, घिमिरे, बल्लभ, अधिकारी, भानुभक्त पोखरेल, मोदानाथ प्रश्रितदेखि आजसम्म स्थापित प्रतिभाहरूको कम समर्पणले कविता माथि उठेको छैन । त्यो समर्पण हराएपछि, एकदुई कविता फेसबुकमा सेयर गरेर कवि हुन थालेपछि, एक दुई लघुकथा लेखेर विशिष्ट साहित्यकार वा आख्यानकार हुन थालेपछि, केही समीक्षा लेखेर र सारेर सौन्दर्यशास्त्री हुन थालेपछि अनि स्तर नखस्किएर के खस्कने ? यो गम्भीर साधनाको क्षेत्र हो तर फुर्सदमा यसो समय बिताउने क्षेत्र ठान्ने चेतनाले पछाडि पारेको छ । गम्भीर अध्येता र साधकको खाँचोले पछि परेको छ ।
- विश्व साहित्यमा अठार वर्षसम्मका प्रयत्नबाट राम्रा कृति सार्वजनिक भएका उदाहरण छन् । माधव घिमिरेज्यू एउटा महाकाव्य बनाउँदा बनाउँदै आजीवन खर्च गरेर जानुभयो । देवकोटाको इन्द्रेणी कालीन परिष्कार चेत त्यही चेतना थियो । प्रमिथस राम्रो बनाउन पाउनु भएन । मुनामदनबाहेक अरु परिष्कार गर्न भ्याउनुभएन नत्र त्यसै बेला हामी नोबेल पुरस्कारका हकदार हुने थियौँ । लेखनाथ पौडेलले जीवनभरको साधनाबाट तरुण तपसी नव्यकाव्य प्रकाशन गरेको, सोमनाथ सिग्द्यालले जीवनभरको तपस्याबाट आदर्शराघव प्रकाशन गरेको, उमानाथ शास्त्रीले जीवनभरको तपस्याबाट मकवानीबाला लेखेको धेरै लामो साधनाबाट इन्द्रबहादुर राईको आज रमिता छ, लीलबहादुर क्षेत्रीको बसाइँ सार्वजनिक भएको पक्षलाई बिर्सनु हुँदैन । त्यस्तो गम्भीर साधना आज कम हुँदै गएको छ । माधवी उपन्यासको खेस्रा र साफी लेखन १२ पटक कलमले नै गरेको दावी मदनमणि दीक्षितको थियो । ती साधक र साधनाका तुलनामा हाम्रामा पठन संस्कृति पनि खस्किएको छ । लेखन र समर्पित साधना गर्ने प्रवृत्ति पनि खस्किएको छ ।
१४. नेपालमा समीक्षाका आधारमा किताबहरू पढ्ने प्रचलन किन अझै सुरु हुन सकिरहेको छैन ?
- हाम्रामा समालोचकलाई एउटा आरोप छ प्राध्यापकीय समालोचक भन्ने । अब म पनि त्यसै कित्तातिर पर्न थालिसक्छु । वास्तविक समीक्षकहरूले कोर्सका पुस्तक मात्र होइन बजारमा आएका नयाँ नयाँ पुस्तक हेरिरहेको हुन्छ । हाम्रो समीक्षा परम्परामा त्यस्ता वास्तविक समीक्षकको अभाव हुँदै गएको छ । तपाईँले मधुपर्कमा हेर्नुभयो भने सन्दर्भसहितको समीक्षा छापिँदैन । अरु दैनिक अखबार पनि सन्दर्भसहितका सामग्री छाप्तैनन् । विश्वविद्यालयमा बढुवाका लागि पियर रिभ्यु भएका पत्रिकामा समीक्षा छाप्न मारामार हुन्छ । त्यस्ता पत्रिका आयोग खुल्ने थाहा पाएपछि छापिन्छन् । बढुवाका लागि आयोग खुल्ने बेलामा छापिने एकाध पत्रिकामा चारपाँच लेख छापेपछि बढुवाका लागि पुगिहाल्यो । ती जम्मा लेखकलाई चाहिने जति छापेर बाँडेको पाइन्छ, सर्वसाधारणसमक्ष पुग्दै पुग्दैन । विश्वविद्यालयले दिने कोर्स बुक र स्वतन्त्र समालोचनाको किताबको अङ्क उस्तै छ । यसो भएपछि अब प्राध्यापकले पनि किन समालोचना गरिरहनुपर्यो ? हिजो पो जहाँसुकै जेसुके विषयमा धेरै लेख लेख्ने मान्छे प्राध्यापकमा बढुवा हुन्थ्यो पक्ष पनि कमजोर भयो । अब त्यो उत्साह पनि रहेन ।
- अब कुरा गरौँ स्वतन्त्र समालोचकको । त्यस्ता समालोचक आजका बजारमा छैनन् भने पनि हुन्छ । मोतीराम भट्ट, सूर्यविक्रम ज्ञवाली, रामकृष्ण शर्मादेखि प्राध्यापन क्षेत्रइतरका समालोचक नभएका होइनन् तर ती ज्यादै थोरै छन् । कृष्णचन्द्रसिंह प्रधान, नित्यराज पान्डे, गोविन्द भट्ट, निनु चापागाईँ, मोहन वैद्यदेखि आजसम्म यस धारका अनेक समालोचक छन् तर उनीहरू निरन्तर यस क्षेत्रमा लागिरहन सकेका छैनन् ।
- भन्दा तितो सुनिए पनि अखबारी समीक्षा समालोचनाले प्राज्ञिकता उठाउँदैन । साहित्य जगत् त्यसैले उठाउँछ भनेर ठानिरहेको छ । हाम्रा अखबारहरू तारानाथ शर्माको नयाँ कृति आएको, ऋषिराज बरालको नयाँ कृति आएको थाहा पाउँदैनन् । त्यहाँ समीक्षा प्रकाशित हुने साथीहरू पनि विभाजित मानसिकतामा छन् । विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर र त्यसभन्दा माथिका विद्यार्थीहरू पनि ज्ञानको विस्तारभन्दा सर्टिफिकेटका लागि पढिरहेका, जागिरे शिक्षाका लागि पढिरहेका र लेखिरहेका छन् । तिनको प्रयोग पक्ष ज्यादै कमजोर छ । कति कुरा भन्दाभन्दै आफ्नै सेल्फी खिचेर फेसबुकमा राखे जस्तो हुन्छ । हो यो विषयमा हाम्रा समीक्षकहरूले सोच्नुपर्ने बेला भएको छ । तपाईंको प्रश्नले मागेको उत्तर भएन कि ?
१५. आयो । आउने भन्दा पनि धेर आयो । आज समीक्षाका पाठकचाहिँ कत्तिको छन् ?
- समीक्षाका पाठक सिर्जनाका भन्दा कम छन् । कसैलाई समीक्षा समालोचना पढेर ज्ञान विस्तार गरिरहनु छैन । सबै आफू आफू जान्ने छन् । समीक्षा पढ्न र बुझ्न बौद्धिक पाठकको खाँचो पर्छ । नेपाली साहित्यकै प्राध्यापक र विद्यार्थी त कोर्सबुकभन्दा परको कुरा खोजेर पढ्दैनन् अब अरुको कुरा के गर्नु ।
१६. भनेपछि अब ज्ञान युग सकियो ? एउटा कुरा नि, नेपाली भाषाका प्राध्यापक÷विद्यार्थीहरू नै साहित्य लेखनबाट टाढा किन भागिरहेका छन् ?
- ज्ञान युग कहाँ सकिन्छ ? मान्छेलाई ज्ञान पो चाहिन छोड्यो । युट्युबमा दुई जना मानिस नाचेको मनोरञ्जनमा मान्छे हरायो । अखबारी चटपटे ज्ञान र भाइरल समाचारका ज्ञानमा हरायो । यो साहित्यको मात्र होइन अरु क्षेत्रको पनि साझा समस्या हो । यहाँ रुचिले साहित्य पढ्ने विद्यार्थीले त सिर्जना समीक्षा दुवै गरिरहेका छन् । तपाईँलाई युवा पुस्ताका नामै तोकिदिन्छु नि । रामप्रसाद ज्ञवाली, नेत्र एटम, सुकुम शर्मा, देवी नेपाल, गीता त्रिपाठी, महेश पौडेल सिर्जनामा पनि समीक्षामा पनि उत्तिकै लागिरहनुभएको छ त । अलि अगाडि हेरौँ शैलेन्दुप्रकाश नेपाल, विनय कुमार शर्मा नेपाल, अविनाश श्रेष्ठ, अझै अगाडि जाउँ दैवज्ञराज न्यौपाने, मोदनाथ प्रश्रित, भानुभक्त पोखरेल, वासुदेव त्रिपाठी, नरहरि आचार्य, सुधा त्रिपाठी । यहाँ बोलिका प्रवाहमा सबै नसम्झिएला । मोफलसमा नरेन्द्र चापागाईं र दधिराज सुवेदीको तहल्का सुन्नु पढ्नुभएकै होला । तपाईँले भनेको कुरा बाध्यताले एउटा विषय पढौँ न त भनेर आएका विद्यार्थीको विषय हो । त्यस्ता विद्यार्थीले नेपाली साहित्यमा मात्र होइन अरु विषयमा पनि केही पनि गर्न सक्तैनन् । त्यो स्वाभाविक पनि हो । विद्यालयको शिक्षासेवामा कृति प्रकाशन, अनुसन्धान, लेख रचना आदिको प्रोत्साहन छँदै छैन भने पनि भयो । विश्वविद्यालयको पनि यो प्रोत्साहन ज्यादै सीमित रूपमा गरिरहेको छ । म पनि साहित्यको विद्यार्थी हुँ । विश्वविद्यालय अनुदान आयोगले पीएच.डीका लागि चार लाखको अनुदान वा विद्वत्वृत्ति दिने भएर म पनि भिडेको थिएँ । म लेखपढमा ती साथीभन्दा अगाडि थिएँ तर उनी टी.यु. का स्थायी भएकाले त्यो वृत्ति पाए मैले पाइनँ । उनी डाक्टर पनि भएका छन् उनले सर्टिफिकेट पनि पाए । अब उनी यो क्षेत्रमा कामै गर्दैनन् ।
- फेरि आजको मानसिकता पैसामुखी छ । विश्वविद्यालयको प्राध्यापक अनुसन्धानमा लाग्नुभन्दा ११, १२ कक्षामा पढाएर आर्थिक विकासमा ध्यान दिन्छन् । उनीहरू स्कुलसम्म पनि पढाउन पुगिरहेका हुन्छन् । होम ट्युसन पनि धाइरहेका हुन्छन् । प्रुफ हेरेर समय बिताइरहेका हुन्छन् । हुनलाई प्राध्यापक भनेको सम्बन्धित विषयको ज्ञानको पराकाष्ठा हो । ऊ कहिल्यै पूर्व पनि हुँदैन । उसलाई दिइएको प्राध्यापक उपाधि देशको राष्ट्रपतिभन्दा ठुलो हो । कोही कुनै प्राध्यापकलाई निवृत्त जीवनमा पनि पूर्वप्राध्यापक भनिँदैन । यो उपल्लो उपाधि वा पदको गरिमा नबुझिने गरी बाँडिएपछि हामी के भन्न सक्छौँ र ? तर नेपाली साहित्यको सिर्जनात्मक विकासमा र समीक्षात्मक विकासमा साहित्यमै उच्च शिक्षा लिएका व्यक्तित्वको त उपस्थिति छँदै छ नि- प्रा.डा. वासुदेव त्रिपाठी, प्रा. बालकृष्ण पोखरेल, प्रा. डा. केशवप्रसाद उपाध्याय, प्रा.डा. तारानाथ शर्मा, प्रा.डा. इन्द्रबहादुर राई, प्रा.डा. श्रीधर लोहनी, प्रा. मोहनराज शर्मा, प्रा.डा. कुमारबहादुर जोशी, प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. चूडामणि बन्धु, प्रा. प्रा. गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, प्रा. कृष्ण गौतम, प्रा.डा. महादेव अवस्थी, प्रा.डा. अभि सुवेदी, प्रा.डा. डी.पी भण्डारी, प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.डा. अरुण गुप्तो, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. केशव सुवेदी, प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा. जीवेन्द्रदेव गिरी, प्रा.डा. सञ्जीव उप्रेती, प्रा.डा. ताराकान्त पाण्डेय, प्रा.डा. माधवप्रसाद पोखरेल, प्रा. घनश्याम कँडेल, प्रा.डा. कृष्णहरि बराल, प्रा.डा. कृष्णप्रसाद घिमिरे, प्रा.डा. रमेश भट्टराई, प्रा.डा. सुधा त्रिपाठी, प्रा. डा जगदीशचन्द्र भण्डारी, प्रा.डा. गार्गी शर्मा, प्रा.डा. ज्ञानु पाण्डे, प्रा.डा. उषा ठाकुर, प्रा.डा. लक्ष्मण गौतम, प्रा.डा. सावित्री मल्ल, प्रा.डा. शैलेन्दुप्रसाद नेपाल, प्रा.डा. ध्रुव घिमिरे, प्रा.डा. कपिल लामिछाने, प्रा.डा. घनश्याम परिश्रमी न्यौपाने, डा. अमर गिरी, प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. सुकुम शर्मा, प्रा.डा. नेत्र एटम आदिलाई झिकेर नेपाली समालोचना खोज्न थालियो भने के भेट्टाइएला ? धेरै त आफ्नै विषय क्षेत्रमा लागेकै छन् । होला कोही नेपालीका कोही अङ्ग्रेजीका र कोही संस्कृतका होलान् तर सबै साहित्यकै विद्यार्थी त हुन् नि । तर धेरैले जागिरे भएर जीवन बिताएका छन् । यस्तै हो गर्नेले गरिरहेका छन् नगर्नेले गरेका छैनन् ।
- सरसरती हेर्दा नेपाली सिर्जना परम्परामा पनि इन्द्रबहादुर राई, मोदनाथ प्रश्रित, अभि सुवेदी, वासुदेव त्रिपाठी, मोहनराज शर्मा, दैवज्ञराज न्यौपाने, डी.पी भण्डारी, कृष्णहरि बराल, भानुभक्त पोखरेल, गोविन्दराज भट्टराई, प्रयागराज वाशिष्ट, मञ्जुल, निर्मोही व्यास, प्रह्लाद पोखरेल, प्रभा भट्टराई, शैलेन्दुप्रकाश नेपाल, माधव वियोगी, शारदा शर्मा, रमा शर्मा, बमबहादुर थापा जिताली, गीता त्रिपाठी, विन्दु शर्मा, रजनी ढकाल, निलम कार्की निहारिका, रामप्रसाद ज्ञवाली, देवी नेपाल, हरिप्रसाद सिलवाल, महेश पौडेल, बलराम दाहाल, गीता सापकोटा, शेखर श्रेष्ठ, अशोक थापा, छन्दमणि त्रिपाठी, ठाकुर बेलबासे आदि साहित्यकै उच्च शिक्षा लिएर यसकै विकासमा निरन्तर लागिरहेकै हुनुहुन्छ । तर हाम्रो साहित्य पढाइ प्रयोगात्मक हुन सकेको छैन । कथालाई अभिनय पनि गर्न सिकाउने, अनुवाद पनि गर्न सिकाउने गरी पढाउनु पर्ने हो । नाटकसँगै अभिनय कला पनि सिकाइनु पर्ने हो । उपन्यास, महाकाव्य आदिलाई जीवनका व्यापकतासँग जोडिनु र ज्ञान विज्ञानका क्षेत्रमा जोडिनु पर्ने हो तर त्यो हुन सकेको छैन ।
- नेपालको शिक्षा प्रणालीमा राष्ट्रभाषा पढाउने पद्धति पनि कमजोर छ । कानुन पढ्ने विद्यार्थीलाई पढाइने नेपाली जस्तै अन्य विषय पढ्ने विद्यार्थीलाई विषयअनुसारको भाषासाहित्य पठन गराउन नसक्नु यसको मूल कमजोरी हो । जस्तो शिक्षाशास्त्रमा शिक्षकका जीवनी, शिक्षक र शिष्यका सम्बन्ध, शिक्षक र अभिभावकका सम्बन्ध, चिकित्साशास्त्रमा डक्टरका जीवनी, डक्टर र नर्स, डक्टर, नर्स र बिरामीका सम्बन्ध आदि साहित्यलाई सहसम्बन्धित गर्न सके हुने थियो । सोही पेसा र विषयक्षेत्रलाई प्रेरित गर्ने विषय पढाउनु पर्थ्यो । त्यता हाम्रा नीतिनिर्माताको ध्यान पुगेको छैन । जोन हप्किन विश्वविद्यालयको वार्षिक बजेट र नेपालको विकास बजेट तुलनात्मक रूपमा हेरियो भने बराबरी देखिन्छ । अनि यहाँ के हुन सकोस् । त्यसमाथि उच्च शिक्षामा बढ्दो निजीकरण र उत्तीर्णमुखी शिक्षा फस्टाउँदो छ । यो नेपाली भाषा साहित्यको मात्र समस्या होइन अरु विषयको पनि साझा समस्या छ । राजनीतिशास्त्र पढेकै मानिस कहाँ राजनीतिमा आए र ? अहिले धेरै विज्ञान पढेका विद्यार्थी प्रशासनमा छन् । राजनीतिमा छन् । व्यवसायमा छन् । यो विषयले नै त्यतै लागिरहने भन्ने पनि हुँदैन । साधना त रुचिको क्षेत्र पनि हो ।
१७. नेपाली साहित्यमा भएका प्रयोगहरूलाई कसरी हेरिरहनुभएको छ ?
- प्रयोगले साहित्यलाई विकास नै गर्छ । प्रयोग साहित्यमा मात्र होइन अरु आविष्कारमा पनि हुन्छ । साहित्य पनि सिर्जनात्मक आविष्कार नै हो । यो अरु सिर्जनामा पनि हुन्छ । चित्रकला, मूर्तिकला, वस्तुकला सबैमा हुन्छ । कार उत्पादन कम्पनी पनि नयाँ नयाँ प्रयोग गरिरहेको छ । त्यही प्रयोगले आज ड्राइभरबिना चल्ने स्वचालित कारहरू बजारमा आइसके । प्रयोगकै कारण मोबाइलले रेडियो, क्यासेट, क्यामेरा, रेकर्ड, स्क्यानर र अरु धेरै कुरा विस्थापित गरिसके । प्रयोगकै कारण क्यामेरा सिसी क्यामेरा बनिसक्यो । प्रयोग नभए त यस्तो उन्नति सम्भव हुँदैन नि ।
- साहित्यमा प्रयोग शास्त्रीयताबाट मुक्ति हो, यो पूर्ण मुक्ति होइन कुनै पक्षमाथिको विद्रोह हो । कुनै वाद सिद्धान्तमाथिको विमति तत्काललाई प्रयोग हो, कुनै सिर्जनात्मक फ्रेमलाई अलिकति भत्काएर, अलि नयाँ आकार र स्वरूपमा प्रस्तुत गर्ने शैली नै प्रयोग हो । यस्तो प्रयोग सम्बन्धित विधाको उत्तरोत्तर विकासका लागि पनि आवश्यक हुन्छ । देवकोटा र रिमालहरूले गद्यशैलीका कविताको प्रयोग नगरेका भए हामी प्राथमिक र माध्यमिक कालमा लेखिएका कविताका आधारमा कविता भनेको शास्त्रीय छन्दको कविता मात्र ठान्न सक्थ्यौँ । मोहनराज शर्मा, अशेष मल्ल, सरुभक्त, आदिले नाटकमा नयाँ नयाँ पात्र र परिवेशगत एवम् विषयगत र स्वैरकल्पनात्मक, सडक नाटक र अन्य प्रयोग नल्याएका भए हामी नाटकमा पर्दा खस्नुपर्ने तान्नुपर्ने परम्परामा अल्झिरहेका हुन्थ्यौँ । देवकोटाले, भैरव अर्यालले निबन्धमा नयाँ प्रयोग नगरेका भए हामी निबन्ध चिन्ने थिएनौँ वा सामान्य आलेखमा सीमित गरिदिन्थ्यौँ । चपली हाइटपछि विकसित फिल्महरूको नायकको केन्द्र भत्काउने परम्परा विकास नभएको भए हामी परम्परित हिरो र हिरोइनहरू नै हेरिरहन्थ्यौँ । दयाहाङ राईहरू उदाउने नै थिएनन् । यी सबै प्रयोगका प्रतिफलन हुन् ।
- हाम्रामा भएका साहित्यिक र अन्य कलाका पनि प्रयोग अनूदित छन् । योचाहिँ दुःखद पक्ष बनिरहेको छ । परम्परालाई हेर्यौँ भने तेस्रो आयाम क्युबिजमकै नेपाली संस्करण हो । लीलालेखन डिकन्ट्रक्सनको नेपाली संस्करण हो । परिष्कारवाद, स्वच्छन्दतावाद, प्रयोगवाद, सामाजिक यथार्थवाद, समाजवादी यथार्थवाद सबै अनूदित प्रयोग हुन् तर पनि तिनले हामीलाई नयाँ नयाँ वाद र प्रयोगसँग परिचय गराए । कविता विधाकै कुरा गर्दा गजल, हाइकु, तान्का, चोका, रुवाइ, तिक्का, सेदोका सबै आगन्तुक प्रयोगका अनुकरण हुन् । यस्ता लघुतम उपविधा दर्जनअधिक भइसकेका छन् । कथामा अकथा, मिकथा, निकथा, लघुकथा, लामो कथा, नाटकमा अनाटक, लघुनाटक, कविता नाटक, गीति नाटक, सडकनाटक, कचहरी नाटक सबै आगन्तुक हुन् र हाम्रा लागि प्रयोग पनि हुन् । काव्यका शोककाव्य, गीतिकाव्य, नाट्यकाव्य कोशकाव्य, आदि पनि आगन्तुक प्रयोग नै हुन् । बरु खण्डकाव्य हाम्रो मौलिक प्रयोग हो । हामीले संस्कृतबाट आएका प्रयोगलाई मौलिक मान्न सक्छौँ । हामीले संस्कृत नाट्यशास्त्रका सबै नाट्यप्रकारको अभ्यास गर्न सकेका छैनौँ । सबै अभिनयका प्रकारको अभ्यास गर्न सकेका छैनौँ । हामीले रस, अलङ्कार, वक्रोक्ति, ध्वनि, रीति, गुण, शब्द शक्ति आदिका सामर्थ्यअनुरूपका सिर्जना गर्न सकेका छैनौँ । अरुका आगन्तुक प्रयोगले त्यसै टाक्सिएर हिँडिरहेका छौँ । वास्तवमा प्रयोग शास्त्र बुझेर मात्र गर्न सकिन्छ । प्रयोग शास्त्रसँगको थोरै विद्रोह तर शास्त्रीय चेतनकै विकासका लागि विकसित चिन्तन र प्रयोग हो । हामीले मौलिक प्रयोग निर्माण गर्न सनक्ता हाम्रा प्रयोग अरुले अनुकरण गर्न सक्ने भएनन् । हाम्रो साहित्य अरुका थोत्रा प्रयोगको प्रयोगभूमि मात्र भयो ।
१८. यहाँहरूले पनि छन्द जागरण अभियान (२०५९) सञ्चालन गरिरहनुभएको छ । यसको प्रयोजन के हो ?
- छन्दजागरण अभियान प्रयोग होइन । पुनः जागरण हो । यो जागरणको आन्दोलन हो । गद्य कविताका नाममा र शास्त्रीय छन्दका नाममा आएको विकृतिलाई सुधार गर्ने कविता विधाकेन्द्रित अभियान हो । त्यसको सकारात्मक प्रभाव छ । हामी त्यसै अभियानअनुरूप लेखिरहेका छौँ । समीक्षा गरिरहेका छौँ । प्रशिक्षण दिइरहेका छौँ । यस्तो जागरण अभियान समय समयमा चल्नु र विकसित हुनुपर्छ ।
- छन्द जागरण अभियान कविता विधाको संरचनासँग सम्बन्धित अभियान हो । यस्ता अभियान अरु विधामा पनि चल्दा राम्रो हुन्छ । हामी स्नातक तहका विद्यार्थी छँदा साहित्यकै विद्यार्थी हुँदा यो अभियान त्यस बेलाको बुझाइअनुसार चलाइएको हो । यसको घोषणापत्र २०५९ मा मेचीपद्यमाला कृतिमा छापिए पनि यसको आरम्भ २०५५ मै भएको हो । त्यस बेला हामीसँग छन्द सिकेर लेख्ने कविहरूको सङ्ख्या ठुलो भइसकेको छ । हामी छन्दमा लेखिएको कविता मात्र कविता हो भन्ने पक्षमा होइन तर छन्दमा लेखिएको कविता छन्द जान्नेका लागि मात्र होइन सबै पाठकका लागि सम्प्रेषण र कलामूल्यले पनि उच्च हुनुपर्छ भन्ने हाम्रो आग्रह हो । म पनि गद्य कविता लेख्छु । गीतिकविता लेख्छु । त्यो अभियान छन्दमा लेख्नेलाई सचेत गराउने अभियान हो ।
१९. कविता लेखनमा छन्दको आवश्यकता किन ? पुरातन सोच भो भन्छन् नि पछिल्लो पुस्ता त ?
- अघि प्रयोगको कुरा आएको थियो नि । शास्त्रीयता नबुझी प्रयोग हुँदैन । प्रयोगका लागि पनि शास्त्रीयता चाहिन्छ । वैरागी काइँला पनि छन्दमा कविता लेख्नुहुन्थ्यो । उहाँले पछि गद्यमा र यायामिक प्रयोगमा आफ्नो कलम मोड्नुभयो । वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, दैवज्ञराज न्यौपानेदेखि विप्लव ढकाल, रामप्रसाद ज्ञवाली, प्रोल्लास सिन्धुलीयसम्मका कविहरू राम्रा शास्त्रीय र मुक्त लयढाँचामा कविता लेख्ने कविको नाम हो । उहाँहरू शास्त्रीयता पनि बुझ्नुहुन्छ र प्रयोग वा मुक्त छन्द पनि लेख्नुहुन्छ । दिनेश अधिकारी, कालीप्रसाद रिजाल, कृष्णहरि बराल गीतकार र शास्त्रीय लयका कविका साथै मुक्त लयढाँचाका सफल कवि हुनुहुन्छ । शास्त्रीयता र मुक्त दुवै पक्ष बुझ्ने कवि बढी सफल हुन्छ । जगदीश शमशेर राणा दुवै लयढाँचामा कलम चलाउने प्रतिभा हुनुहुन्छ । यो परम्परा धेरै लामो छ । शास्त्रीय लयढाँचामा कविता रचना गर्नु पुरातन हुनु होइन । शास्त्रीय कलाको ज्ञाता हुनु पो हो त । लय त कविताको अनिवार्य अनुशासन हो नि ।
२०. पछिल्लो समय लेखिएका अधिकांश लेखकका रचनाहरू किन कालजयी भइरहेका छैनन् ? हाम्रो लेखनमा कहाँ कमजोरी भयो ?
- मूल कारण त गहिरो सधनाको अभाव नै हो । यस विषयमा अगाडि पनि भनेँ । साधनासँगै सम्पादनको पनि अभाव छ । हाम्रामा कृति सम्पादनमा खर्च गर्ने परम्परा छँदै छैन । लेखक आफैँ जान्ने छु भन्छन् । एकता, विद्यार्थी, फाइन प्रिन्ट, साङ्ग्रिला, कथालय, भुँडीपुराण प्रकाशन आदि केही प्रकाशकबाहेक अरु प्रकाशक पनि त्यति सम्पादनमा सचेत देखिँदैनन् । यसले गर्दा रचनाको कालजयी सामथ्र्य क्षीण हुँदै गएको छ ।
- कृति छाप्न, विमोचन गर्न, विज्ञापन गर्न खर्च गर्ने तर सम्पादन गर्न खर्च नगर्ने प्रवृत्तिले यसो भएको हो । भूमिका लेखन र सम्पादनमा एवम् परिमार्जनम पनि छाप्न जतिकै खर्चको आवश्यक हुन्छ । हाम्रामा ती पाटा छुटिरहेका छन् ।
२१. लेखक स्वतन्त्र हुनुपर्छ भन्ने मत पनि बाक्लै सुनिन्छ । तपाईँ आफूलाई वामपन्थी लेखक भन्नुहुन्छ । लेखन विचारसापेक्ष हुनुपर्छ कि विचारनिरपेक्ष हुनुपर्छ ?
- लेखक स्वतन्त्र नै हुन्छ । मेले वामपन्थी लेखक हुँ भनेर हल्ला गर्दै नहिँडे पनि हुन्छ । मेरो लेखले त्यो देखायो भने ठिकै हो नभए हल्ला मात्र गरेर वामपन्थी भइँदैन । हाम्रामा वामपन्थी वा प्रगतिशील लेखक हुँ प्रगतिवादी लेखक हुँ भन्नेको सङ्ख्या बढ्यो तर कवितातर्फ युद्धप्रसाद मिश्र, केवलपुरे किसान, मोदनाथ प्रश्रित, रमेश विकल, हरिहर खनाल, खगेन्द्र संग्रौला, प्रदीप नेपाल, ऋषिराज बराल जस्ता सिर्जनाबाट आफूलाई स्थापित गर्ने प्रतिभा ज्यादै कम भए । पारिजात जस्ता निरन्तर साधना र विचारलाई घोल्ने प्रतिभा कम भए । यसले पक्षधरता पनि कमजोर बनाउँदै गयो ।
- यहाँको प्रश्नअनुसार भन्नुपर्दा राम्रो स्रष्टाले कुनै कित्तामा नरहेर पनि लेखिरहे हुन्छ । भोलि उसका रचनाका प्रवृत्तिअनुसार समीक्षकले आफैँ कित्ता जनाइदिन्छन् । यस अर्थमा लेखक स्वतन्त्र हुन्छ । केही सबै साहित्य प्रगतिशील हुन्छ भन्छन् तर प्रगतिशील र प्रगतिवादी साहित्यका आफ्नै मूल्य छन् । यो एकाइसौँ शताब्दीको सबैभन्दा बलियो साहित्यिक प्रवृत्ति हो । यसलाई मार्क्सवादीले पनि पढिरहेका छन् र गैरमार्क्सवादीले पनि पढिरहेका छन् । सबैभन्दा बढी यसै कित्ताका रचना पढिइरहेका छन् ।
२२. पछिल्लो समयका कविताहरू पाठकले बुझ्न सक्दैनन् भन्ने आरोप छ । यो सत्य हो कि मिथ्या मात्रै हो भन्ने लाग्छ ?
- ठ्याक्कै यहाँले भने जस्तै अवस्था पक्कै पनि होइन । अहिले भन्दा नबुझिने कविता त प्रयोगवादी कालमा लेखिए । अहिले त कविता सोझो र त्यसमा पनि नारा पो देखिरहेको छु म त । कवि सोझै बोलिरहेका, लागेका कुरा भनिरहेका, देखेका विषय शब्दमा खिचिरहेका मात्र पाउँछु ।
- अहिलेको लेखनबारे मैले पहिला पनि कतै बोलेको थिएँ । सिङ्गो राष्ट्रियता क्षीण हुँदै गएको छ । सिङ्गो मानवता क्षीण हुँदै गएको छ । सिङ्गो सामाजिक चेतना र समाजमनोविज्ञान टुक्रा बनाइएको छ । पहिचानका मुद्दाहरू कविता बनिरहेका छन् । राष्ट्रियतालाई समावेशी नजरले हेरिँदै छ । बिम्ब र प्रतीक चयन नयाँ र आगन्तुक हुँदै र आञ्चलिक पनि हुँदै गएका छन् । कविता जटिल भयो भन्ने आरोपचाहिँ आरोप मात्र हो । बरु सत्य कुरा के हो भने अहिले राम्रा र उच्च स्तरका सिर्जना हुन सकिरहेका छैनन् । कालजयी सिर्जनाको खाँचो हुँदै गएको छ । भएका राम्रा सिर्जनालाई बुझ्ने पाठकको अभाव हुँदै गएको छ ।
२३. तपाईंको लेखन आम पाठकले किन पढ्ने ? पाठकको स्तर हेरेर लेख्नुहुन्छ कि विषयवस्तुअनुसारको पाठकको स्तर निर्धारण गर्नुहुन्छ ?
- मेरा रचना आम पाठकले किन पढ्ने भन्ने जवाफ मसँग छैन । म पूर्व र पश्चिमको साहित्यको विद्यार्थी हुँदा कतिपय सिकारु सर्जकलाई मेरा रचना नमुना हुन सक्छन् । बालबालिकाका लागि लेखिएको साहित्य मैले बुझेर लेखेको छु । उनीहरूका लागि मानसिक पोषण हुन सक्छन् । किशोर पुस्ताका लागि लेखेको पनि बुझेर लेखेको छु । ती उनीहरूलाई काम लाग्न सक्छन् । मैले नेपाली रैथाने चेतना, रैथाने ज्ञान र कलालाई आफ्ना सिर्जनामा समेट्ने प्रयत्न गरेको छु । मौलिक विषयवस्तु कसरी कवितामा अटाउन सक्छ र त्यसले कसरी समयसापेक्ष चेतना छर्न सक्छ भन्ने कुरा मैले लेख्ने प्रयत्न गरेको छु । पूर्वीय मिथकलाई विषय बनाए पनि त्यसको प्रतिछाया वर्तमानसँग पार्ने प्रयत्न मेरा रचनामा भएको छ । सीमान्तकृत समुदायका बहुमुखी आवाज उतार्ने प्रयत्न पनि त्यत्तिकै छ । कविता कलाका दृष्टिले पनि उल्लेख्य छन् । यस अर्थमा मेरा रचना पढ्दा बेकार पढियो हुने छैन ।
- बालसाहित्यतर्फ उमेरअनुसारका बालमनोविज्ञानमा आधारित रचना भएकाले तिनको पठनले पनि बालबालिकालाई अभिप्रेरणा प्रदान गर्छ भन्ने लागेको छ । समीक्षाको आफ्ना ठाउँमा महत्त्व हुन सक्छ । निबन्धहरू केही व्यङ्ग्यप्रधान छन् र केही अभिप्रेरणाप्रधान छन् । ती दुवै बौद्धिकताका दृष्टिले उपयोगी नै छन् भन्ने लाग्छ । तर यस्तो सबै लेखकलाई लाग्ने कुरा हो । यो आत्मरति पनि हो । अब यहाँ जस्ता जिज्ञासु पाठकले यसको निर्क्योल गरिदिनुभए मलाई पनि आत्मविश्वास हुने थियो ।
२४. साहित्य लेखेर जीविका चल्दैन भन्छन्, पछिल्लो बजारको अवस्था कस्तो पाउनुभएको छ ? तपाईंलाई के लाग्छ ?
- यो भनाइ सत्य नै हो । म पनि बढी त शिक्षासेवाबाट बाँचिरहेको छु । सम्पादन र रोयल्टी पनि मेरो जीविकाको अर्को स्रोत हो । निरन्तर लागिरहे जुनसुकै विषयक्षेत्रबाट पनि जीविका चल्छ । आज देशमा अनेक सम्भावना बनिरहेका छन् । साहित्यमा लागिरहने मान्छे स्थानीय प्रज्ञाप्रतिष्ठानदेखि प्रदेश हुँदै केन्द्रसम्म कहीँ न कहीँ समेटिन सक्छन् । कृति सम्पादन गरेर पनि खान सक्छन् । रोयल्टीले पनि बाँच्न सक्छन् । मदन पुरस्कार, पद्यश्री पुरस्कार, पृथ्वी प्रज्ञापुरस्कार जस्ता पुरस्कारका कारण पनि उनीहरूको जीवन सहज हुन सक्छ । सम्भावना प्रशस्त छ । मेरो एउटा कमाइको पाटो पुस्तकहरू सम्पादन पनि हो । म अहिले पनि एउटा कृति सम्पादन गरिरहेको छु ।
२५. अन्त्यमा तपाईंलाई भन्न मन लागेको मैले सोध्न छुटाएको केही छ कि ?
- उपासकज्यू, यहाँलाई धन्यवाद भन्छु । अन्तर्वार्ता भनेको सोधेको कुरा भनिने विधा हो । प्रश्नबिना यस विधामा बोल्नु बिनातालको नाच हुन्छ । मैले यहाँले सोधेका झन्डै दुई दर्जन प्रश्नमाथि जानेको जवाफ दिइसकेको छु । मेरा विचार त्यहाँ आइसकेका छन् । यहाँहरू अनलाइन साहित्यिक पत्रिका सञ्चालन गर्छु भन्दै हुनुहुन्छ । यसमा श्रव्य, दृश्य र पाठ्य सामग्री प्रकाशन गर्न मिल्छ तर यो निकै जटिल हुन्छ । यसलाई राज्यले सेवा सुविधाको दायरामा ल्याउन सकेको छैन । तर पाठकलाई पढ्न यो सजिलो माध्यम हो । अहिले साहित्यसागर, साहित्य पोष्ट, साहित्यसङ्ग्रह आदि अनलाइन साहित्यिक पत्रिकाहरू अनलाइन पाठकका लागि भरपर्दा सामग्री बनिरहेका छन् ।
- अर्को कुरा आज सङ्घसंस्था अनेक छन् । तिनका पुरस्कार प्रदान गर्ने शैली प्रशंसनीय छन् तर प्रतिभा चयनगत कमजोरीले गर्दा धेरै स्रष्टाहरू सिर्जनाभन्दा बढी सम्मान थुपार्ने मानिस भइसके । अर्कातिर साहित्य केही धनाढ्यहरूका कब्जामा परिसक्यो । सिङ्गो साहित्य नै पैसावाल लेखक, पैसावाल प्रकाशकका चङ्गुलमा परिसक्यो । साझा प्रकाशन र नेपाल प्रज्ञाप्रतिष्ठानले छापेका कृति पनि महँगा भए । सुन्दै छु साझाले पनि लेखकसँग पैसा लिएर पुस्तक छाप्न थाल्यो । नहिचकिचाई किताब किनेर पढ्ने म जस्ता पाठकलाई पनि किताब किनेर पढ्न गाह्रो हुन थाल्यो । पछिल्लो समय आएको भगवान् कोइरालाको हृदय एउटा यस्तो महँगो कृति हो । एकेडेमीले थुप्रै १५०० देखि ३३०० सम्मका किताब छापिसक्यो । साझाले पनि १००० माथिका किताब छापिसक्यो । निजी प्रकाशनका कुरै नगरौँ । प्रकाशकका लागि कुरा अलि तितो भयो कि । पुरस्कार दाताका लागि पनि तितै भयो । कुरा त अरु पनि छन् । तर अहिले यति नै ।
२६. यहाँको व्यस्त समयबाट केही समय हामीलाई दिनुभएकोमा यहाँलाई हार्दिक आभार ब्यक्त गर्दछौँ ।
- यहाँप्रति पनि आभारी छु । तपाईं र म साथी साथी हौँ । आज यसरी साथीले साथीलाई पत्याउने जमाना छैन । सबै अरुका मूल्य बिर्सेर आफ्ना मूल्यका प्रचारमा छन् । यस्तो बेला तपाईँले हार्दिकतासाथ सम्झनुभयो हार्दिक धन्यवाद । यहाँको यो गुणग्राही चिन्तन, प्रश्ननिर्माण गर्ने दुःखलाई म राम्ररी बुझ्न सक्छु । आज पद र बहालवाला मानिसबाहेक अरुका अवाज खोज्ने मिडिया पाउन मुस्किल छ । मेयर कवि, उपमेयर कवि, वडाध्यक्ष कवि, ग्रामप्रज्ञाप्रतिष्ठानका कुलपति कवि, उपकुलपति कवि, प्राज्ञ सदस्य कवि, सम्पादक कवि, हेडसर कवि, क्याम्पस प्रमुख कवि, सचिव कवि, अधिकृत कवि, गा.पा सचिव कवि, फल्नो संस्थाको कवि खोज्ने जमानामा हामी जस्ता स्वतन्त्र मानिसलाई, केवल लेखिरहने मानिसलाई ठाउँ दिने मिडियाकर्मी र त्यसका सञ्चालक पनि पक्कै समाजसेवी सञ्चारकर्मी हुनुपर्छ । बढी बोलेको भए क्षमा पाऊँ । जे होस् धन्यवाद । पूर्ण र सम्पूर्ण धन्यवाद ।
