फागुन २, बुधबार
मकवानपुर ।
युवाहरूको समूह रिड टु लिड द्वारा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ ।
पठन संस्कृतिको विकासका लागि युवाहरूले पढ्नुपर्छ, आ-आफ्ना रुचीका पुस्तकहरू पढ्ने संस्कारका साथै सोमाथि समय समयमा बहस गर्ने बानीले पठन संस्कृतिलाई बढावा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ संगठित समूहले दुई पुस्तकको चर्चाका साथ कार्यक्रम गरेको हो ।
राजनीतिकर्मी तथा पाठक सन्तोष पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा घनश्याम घिमिरे, छवि अनित्य, सुवास सजल, मनोज लामिछाने, स्वस्तिका बानियाँ, संप्रस पौडेल, अमृत बर्तौला, विशाल दोङ, दीपक गौतम, कुबेर पराजुली आदिको उपस्थिति रहेको थियो । कार्यक्रममा जेन श्रेष्ठले जापानी लेखक Francesc Miralles र Hector Garcia द्वारा लिखित इकिगाइ (IKIGAI: The Japanese Secret to a Long and Happy Life) पुस्तकबारे बोल्नुभयो ।
उपस्थित सबैले आफ्नो परिचयका साथै आफूले पढिरहेको २ पुस्तकको नाम लिनुपर्ने गरी तय भएको कार्यक्रममा समीक्षक घनश्याम घिमिरेले पढ्नु भनेको केवल किताब मात्र नभई समाज, अर्थक्षेत्र, दर्शन, समय, विश्वबजारको अध्ययन पनि हो भन्नुभयो । उहाँले आफूले पढेका पुस्तक राम्रै हुन्छ भन्ने हुँदैन, खराब पुस्तक बारे पनि पाठकहरूले बोल्नुपर्छ भन्दै पत्रकार सुरेश श्रेष्ठले पठन संस्कृतिको विकासमा यस्ता कार्यक्रम निकै आवश्यक रहेको र यस्ता कार्यक्रमहरू पुस्तकालयका छेउछाउमा आयोजना गर्नका लागि सुझाव दिनुभयो । प्राध्यापक सङ्गम चौलागाईँले पुस्तक पढ्ने संस्कारलाई यस्ता कार्यक्रमले सहयोग पुग्ने र निरन्तरताका लाग अनुरोध गर्नुभयो ।
विद्यार्थी विशाल दोङले आफूले धेरैजसो ‘फाइनान्सियल’ पुस्तकहरू पढ्ने गरेको र हाल ‘हाउ टु इन्भेस्ट इन स्टक’ पुस्तक पढिरहेको बताउँदा सिद्धान्त आचार्यले साथीहरूबाट पुस्तक पढ्नमा प्रेरणा पाएको र आफूले इकिगाइ पुस्तक पढिरहेको बताउनुभयो । प्राध्यापक तथा साहित्य सर्जक मनोज पोखरेलले ‘सबै कुराका बारेमा केही केही कुरा थाहा पाउनुपर्ने र केही केही कुराका बारेमा सबै कुरा थाहा पाउनुपर्दोरहेछ र त्यसका लागि पढ्नुपर्दोरहेछ’ भन्दै नेताहरूले पढ्दैनन् भन्ने भनाइ व्यापक भएको अवस्थामा विद्यार्थी नेता र सङ्घसङ्गठनका युवाहरूले पढाइमा लगाव दिनु निकै सकारात्मक रहेको बताउँदै गर्दा उपस्थित हुनेहरूले टेन सिक्रेट सक्सेस, सन्दुक रुइत र महावीर पुनको जीवनी, हाउ टु इट, को हो त्यो मान्छे, जिउनुको मज्जा, पात्रहरू, प्रत्येक श्वासमा आनन्द, अल केमिस्ट आदि पुस्तकहरू अध्ययन गर्नुपर्ने सूचीमा राखेका थिए ।
