फागुन २, बुधबार मकवानपुर । हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार हाजिरजवाफ प्रतियोगिता भएको थियो । रुपचन्द्र विष्ट ‘थाहा’ स्मृति अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा जीएस निकतेन, आधुनिक राष्ट्रिय मावि र जनप्रिय मावि क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार रुपैयाँ नगद राशि प्रदान गरिएको कार्यक्रम संयोजक सुदर्शन ढकालले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चारकर्मी तथा निर्देशक भूषण दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
सञ्चारकर्मी पवनराज पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । पठन संस्कृतिको उन्नयनका लागि विद्यालय फागुन २ देखि ६ गतेसम्म विद्यालयको प्राङ्गणमा पुस्तकहरु प्रदर्शनी राखेको छ भने सप्ताहव्यापि कार्यक्रमका रूपमा खेलकूद, सिङ्गिङ स्टारलगायत साङ्गीतिक कार्यक्रमका साथै साहित्यिक रचना वाचनसहितको गोष्ठी गर्ने आयोजकले जानकारी दिएको छ ।
