स्याङ्जा । जगत्रदेवी साहित्य सङ्गम, गल्याङ, स्याङ्जाले स्रष्टा सम्मान तथा काव्यकृति विमोचन गरेको छ । फागुन ४ गते शुक्रबार गल्याङ नगरपालिका–३ स्थित गल्याङ बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम गरिएको हो ।
जगत्रदेवी साहित्य सङ्गमका कार्यवाहक अध्यक्ष कवि चण्डिकाप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराई रहनु भएको थियो । विशिष्ट आमन्त्रित व्यक्तित्वको रूपमा वरिष्ठ साहित्यकार डा. विप्लव ढकाल, वरिष्ठ गजलकार जीवनपानी, गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने, डा. पद्मा अर्यालको उपस्थिति रहेको थियो ।
समारोहमा अग्रज कवि चण्डिकाप्रसाद भट्टराईको पहिलो एकल कृतिको रूपमा प्रकाशित भएको कविता कृति “आँखीझ्याल”को विमोचन गरिएको थियो । विमोचन गरिएको कृतिको बारेमा समीक्षक जीवनपानी र डा. विप्लव ढकालले समीक्षात्मक टिप्पणी प्रस्तुत राख्नुभएको थियो ।
जगत्रदेवी साहित्य सङ्गम परिवारको तर्फबाट स्थापना गरिएको जगत्रदेवी साहित्य सम्मान–२०८० जगत्रदेवी साहित्य सङ्गमका संस्थापक अध्यक्ष अग्रज साहित्यकार सुर्यप्रसाद डुम्रेलाई समर्पण गरिएको थियो । सम्मानित व्यक्तित्वको बारेमा मिलन समीरले प्रकाश पारेका थिए ।
समारोहमा कविहरु हरिप्रसाद भट्टराई, लेखनाथ काफ्ले, वसन्त खनाल, भीम न्यौपाने, खगेन्द्रजङ्ग थापा, वसन्ती अधिकारी, कला पाठक, सिर्जना खनाल, प्रवेश अर्याल, ध्रुवप्रसाद शर्मा पङ्गेनी, सुर्यप्रसाद डुम्रेद्वारा आफ्ना कविता, गजल र मुक्तक रचनाहरू वाचन गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य लीलाबल्लौ अर्यालले प्रस्तुत गरेका थिए भने सहजीकरण मिलन समीरले गरेका थिए ।
