फागुन १९, शनिबार
मकवानपुर ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैङ्कका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरेका हुन् ।
नेपाल राष्ट्र बैङ्कबाट १ सय रुपियाँको सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपियाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैङ्कबाट नेपाली साहित्यिक संस्थाका नाउँमा क्युप्रोनिकेल धातुमा सिक्का टकमरी भएको यो पहिलो अवसर भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनु भएको छ ।
२०५२ माघ १५ गते स्थापना भएको नई प्रकाशन नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायत अन्य विविध क्षेत्रका प्रतिभाको खोजी र तिनीहरूको सम्मानमा सक्रिय रहँदै आइरहेको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँको सभाध्यक्षतामा सञ्चालित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठान पूर्वकुलपति वैरागी काइँला, समालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडिपुटी गभर्नर चिन्तामणि शिवाकोटी, हुलाक सेवा विभागका महानिर्देशक प्रदीपराज अधिकारी र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले मन्तव्य राख्नु भएको थियो ।
