चैत्र १० गते काठमाडौँ ।
शनिबार बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’ को ८८ औँ शृङ्खलामा प्रगतिवादी कवि भवानी पौडेलका एक दर्जन कविता सुनिएको छ ।
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी तथा विशेष अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य तथा कानुन विभाग उपप्रमुख धर्मराज रेग्मी रहनुभएको थियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपाल, अविरल जनसाहित्य यात्रा परिचालन समितिका सदस्य ज्ञानु विद्रोहीले तथा अविरल जनसाहित्य यात्रा परिचालन समिति संयोजक डा.हरिप्रसाद सिलवालले कविको बारेमा बोल्नुभएको थियो ।
अध्यक्ष राम विनयले देशैभरिका नेपाली प्रगतिवादी साहित्यमा आफ्नो क्षेत्रबाट योगदान गरिरहेका स्रष्टालाई हरेक महिनाको दोस्रो शनिबार प्रत्यक्ष उपस्थित गराई एक दर्जन कविता सुन्ने र कवितामाथि समीक्षासमेत गरी कविता परिमार्जनमा सघाउ पुर्याउने यो अभियानमा रहेको बताउनुभयो ।
कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊँ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’, ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ शीर्षकका कविता वाचन गर्नुभएको थियो । त्यसैगरी कविहरू शारदा के.सी.क्षेत्रीले ‘त्यो युद्ध’, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’, सुभानी उपाध्यायले ‘साझा मान्छे’, डम्बर पहाडीले ‘मोटे सार्की’ र हरिश्चन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकको कविता कविता वाचन गर्नुभएको थियो ।
वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्नुहुँदै समीक्षक डा.गोविन्दप्रसाद आचार्यले कवि पौडेलका सबै कविता आशावादी र सामाजिक रूपान्तरण अभियानलाई सघाउने खालका भएका बताउँदै कवितामा समाजका कुप्रवृत्तिका विरुद्धको शङ्खघोष र विभेद तथा शोषणको अन्त्यको आग्रह गरिएको मात्र नभई समानताका पक्षमा वकालत गरिएको बताउनुभयो । यी कविता भोलिको समाजले पनि स्विकार्ने खालका रहेका र जनताका पक्षमा लेखिएका कविता सार्थक रहेका बताउनुभयो ।
प्रमुख अतिथि राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले कवितामा सरल तरिकाले गम्भीर भाव सम्प्रेषण गर्न र कवितामै शालीन व्रिद्रोहका माध्यमबाट रूपान्तरणको सन्देश पनि सम्प्रेषण गर्न सकिने अनुभूति कविता सुनिसकेपछि भएको बताउनुभयो । राजनीतिले मूर्त रूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक रहेकाले समाजलाई जोड्न संस्कृतिकर्मीको अहम् भूमिका हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष आर.सी.न्यौपाने, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीन्द्रराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, डम्बर पहाडी, खेमराज निरौला, त्रिलोचन आचार्यलगायत अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
आगामी वैशाख महिनामा ८९ औँ ‘अविरल जनसाहित्य यात्रा’मा मोरङका स्रष्टा तिला लेकालीलाई प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
