पोखरा, १० चैत । नेपाली लेखक संघ, गण्डकी प्रदेशको आयोजनामा दौँतरी कार्यक्रमको तेस्रो शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीले आफ्ना दौँतरी अनुभव र कविता सुनाए ।

दुई दौँतरीलाई मञ्चमा सहजीकरण गरिरहेका थिए अर्का कवि अमृत क्षेत्रीले । दौँतरीहरूको दौँतरी यात्राको सुरुआत, विकास, उतारचढाव र त्यसका विविध आयामलाई समेटेर अमृतले जिज्ञासा राखेका थिए भने कविद्वयले थोरै औपचारिक, थोरै अनौपचारिक ढङ्गले जीवनका अनुभव र अनुभूति पस्केका थिए । पचासको दशकदेखि पोखरेली परिवेशमा साहित्य सिर्जनामा निरन्तर क्रियाशील यी दुई कविले कविता सुन्न र सुनाउनकै लागि विभिन्न मञ्च चाहारेका प्रसङ्ग सुनाए । भोकभोकै कविताका कार्यक्रममा हिँड्दाका दुःख पनि सम्झे ।

प्राध्यापन पेसामा आबद्ध यी दुवै कविले घर सम्झे, आमाबा सम्झे, आफन्त सम्झे, विद्यार्थी सम्झे, समाज हुँदै राजनीतिसम्म सम्झे । कलेज पढ्दाका दिन सम्झे, प्रेम सम्झे र सम्झे आफूजस्तै अरू दौँतरीहरू पनि । कर्मका सिलसिलामा अहिले काठमाडौँ पुगेका अल्पज्ञानीले पोखराबाट अलग हुँदाखेरिका चस्काइ र दुखाइ पनि सम्झन छुटाएनन् भने साथी छोडेपछि दुःख हुन्छ भन्दै सञ्जीवले छेड हाने । दुई साथीका अन्तरकुन्तर खोतल्दै अमृतले दौँतरी गफमा मसला थपिरहेका थिए । ठट्यौली गफ र गम्भीर कविताको आस्वादनमा श्रोताहरू निमग्न देखिन्थे । दौँतरी कविले गफगाफका बिचबिचमा एक दर्जनभन्दा बढी कविता श्रोतामाझ पस्के ।

सोही कार्यक्रमको अवसर पारेर कवि सञ्जीव पौडेलको नवीनतम कवितासङ्ग्रह जून ओर्लेको रात को विमोचन पनि गरियो । नेपाली साहित्यका विशिष्ट साधक सरूभक्त, नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष कवि तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, सञ्जीवका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गरेका थिए ।
कवि अल्पज्ञानीको प्रकाशोन्मुख कवितासङ्ग्रह उज्यालो पर्खिरहेको मानिस पनि सोही कार्यक्रममा विमोचन गर्ने तयारी रहेकामा प्रविधिक कारणले असमर्थ भएको संस्थाका अध्यक्ष ईश्वरमणि अधिकारीले बताए । कार्यक्रममा साहित्यकार सरूभक्त र माया पब्लिकेसन प्रा.लि.का निर्देशक विनयभूषण दत्तले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा उपस्थित एवम् कार्यक्रम सम्पन्न गर्नमा योगदान दिने सबैमा धन्यवाद ज्ञापन गर्दै संस्थाका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको समापन गरे ।