रंगहरुको पर्व होली पहाडी जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते मनाइदै छ । हिन्दु धर्मालम्बीहरुको ठूलो पर्वहरु मध्ये होली एक हो । हिन्दू पन्चाङ्ग अनुसार फागुन शुक्ल पक्षको अष्टमी तिथिदेखि होलाष्टक शुरु भएर फागु पूर्णिमाको दिन समाप्त हुन्छ ।
पौराणिक कथा
पौराणिक कथा तथा धर्मग्रन्थ अनुसार हिरन्यकश्यपु नामक राजा कुनै देवता मान्दैन थिए । उनी आफैँ शक्तिशाली भएकाले आफूलाई मात्र मान्न सबैलाई अह्राउथे । तर उनका बालक छोरा प्रल्हाद भने विष्णुभक्त थिए । यस कुराबाट हिरण्यकश्यपु कोध्रित भए र आफ्नो बालक छोरो मार्ने षडयन्त्र गरे ।
राक्षसराज हिरण्यकश्यपुले प्रल्हादलाई मार्ने अनेक उपाय गरे । उनी कहिले हात्तीद्वारा प्रल्हादलाई कुल्चाउथे त कहिले इनारमा फाल्थे । तर विष्णुभक्त प्रल्हादलाई केही हुँदैन थियो । तर हिरण्यकश्यपुले उनलाई मार्ने उपाय लाउन छाडेनन् । प्रल्हाद मार्न हिरण्यकश्यपुले सैनिकलाई तरवारले काट्ने हुकुम दिनेदेखि ठूला नदीमा फाल्ने, भीरबाट झार्ने, विष मिसाएर खाना ख्वाउनेसम्मको काम गरे । तर पनि आफ्नो पुत्रको वध गर्न सकेनन् ।
सोही समयमा हिरण्यकश्यपुकी बहिनी होलीको तपस्यापछि व्रहमाबाट, अग्नीले उनलाई कहिल्यै नडढाउने वर पाएर फर्केकी थिइन् । यसको प्रतीकमा उनले एउटा पछ्यौरी पाइन् ।
जसलाई ओढेपछि होलीका आगोभित्र जति समय बसेपनि उनलाई शितलता प्राप्त हुने वर पाएकी थिइन् । त्यसैले हिरण्यकश्यपुले उनलाई विष्णुभक्त छोराको वध गर्न बहिनीको सहायता मागे ।
उनले पनि दाजूको प्रस्ताव स्विकार गरी फागु पूर्णीमाको दिन दाउराको अग्लो चाङमा प्रल्हादलाई काखमा राखेर वसिन् । उनी बसेको दाउराको चाङमा आगो लगाइयो ।
आगो बढ्दै जादाँ प्रल्हादले भगवान विष्णुको नाम जपे । यो दृश्य समस्त देवताहरू पनि हेरिरहेका थिए । ब्रम्हाले समेत आफूले दिएको वरदानको आडमा होलीकाले प्रल्हादलाई मार्ने षडयन्त्र गरेको देखेपछि अर्नथ हुने ठानी देवताको आज्ञा अनुसार ठूलो वायु चल्यो र होलीकाको शरीरवाट पछ्यौरी उड्यो र होलीकाको दहन भयो । तर प्रल्हादलाई केही भएन ।
त्यही समयबाट होलीका दहन गर्दै फागु पुर्णिमाको दिन होली पर्व मनाउन थालिएको धार्मीक कथा छ । होलीका अर्थात अन्यायको हार र प्रल्हाद अर्थात सत्य विजय भएको प्रतीकका रुपमा होली मनाइएको धार्मीक कथाहरु छन् । यस अलावा होलीका बारेमा अरु कथा समेत छन् ।
कुन देशमा कसरी मनाइन्छ ?
फागु पर्व नेपाल, भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो पर्वमा मानिस विभिन्न प्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिताको आयोजना गरि विजयीलाई पुरस्कार दिइन्छ । श्रीलङ्का र इन्डोनेसियामा आगोको पूजा गरेर, म्यान्मा र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियामा नयाँ अन्नलाई नाचगानका साथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी यो पर्व मनाइन्छ ।
फरक फरक नाममा मनाइए पनि फागु खेल्ने परम्परा धेरै देशमा भएको पाइन्छ । सबैतिर आपसी सद्भाव एवं सामाजिक एकतालाई प्रवर्द्धन गर्ने मूल उद्देश्यले यो पर्व मनाउने गरिन्छ । नाम फरक भए पनि पर्वको उद्देश्य एकै छ । नेपालमा आज र भोलि होली पर्व मनाइने भए पनि विश्वका विभिन्न देशहरुमा विभिन्न तरिकाले होली खेल्ने चलन छ । होली खेल्ने समय र प्रयोग गर्ने सामग्री फरक भए पनि खेल्ने तरिका भने उस्तै रहेको छ ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भइ होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।
सुरिनाम
सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन् । त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ । साथीभाइ एवं परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।
अमेरिका
अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ। विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलनअनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगितिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवं खानपिन पनि अमेरिकी होलीको महत्त्वपूर्ण पक्ष हो ।
बंगलादेश
बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दू, बौद्ध एवं मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।
गुयाना
दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्त्व छ । यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।
बेलायत
बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ–आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेषगरि आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृतिअनुसार मनाइन्छ । होलीमा सांगितिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धूमधामका साथ होली मनाउने चलन छ ।
मरिसस
अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलीका दहन गर्ने चलन छ । एकआपसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।
फिजी
फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ ।
पाकिस्तान
पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवं इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।
कुन रंग केको प्रतिक ?
होलीमा थुप्रै प्रकारका रङहरु प्रयोग हुन्छ। त्यसैले पनि होली एउटा रंगीन पर्व हो । होलीमा थरीथरीका रङको समिश्रणले वातावरण नै रंगिन बन्छ । रङ कसलाई मन पर्दैन र ? तर, यसको परिस्थितिअनुकूल सही प्रयोग हुनुपर्छ । रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ । कुनै पनि रङको प्रयोग गर्नूपूर्व त्यसको फाइदा, बेफाइदा, महत्व र रंगको प्रतीक बुझ्नु आवश्यक छ ।
रातो
अधिकांशलाई मन पर्ने रंग हो– रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।
हरियो
हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झैझगडा पटक्कै मन पराउँदैनन् । यो रंग मन पराउने मानिसहरूको आत्मविश्वास कम हुने विश्वास गरिन्छ ।
पहेंलो
यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ। यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । होली हिन्दू धर्मावलम्बीहरूको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ । कतिपय समुदायमा त रातो र पंहेलो अबिर दलेर होली खेल्ने परम्परा पनि छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न उत्साहित हुन्छन् ।
नीलो
यो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् । उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविदहरू बताउँछन् ।
कालो
होलीमा कालो रंगको पनि व्यापक प्रयोग हुन्छ । यो रंग ईष्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।
सेतो
धेरैलाई मन पर्ने रंग हो–सेतो । यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।
