मुक्तक मञ्च मकवानपुरद्वारा आयोजित १५औं नियमित रचना वाचन कार्यक्रममा राजबाबु पहाडी र शोभा शाह थापाका दुई दर्जन मुक्तकहरू सुनिए । तिनै मुक्तक वाचनपश्चात् समीक्षक देवराज तिवारीले गर्नुभएको समीक्षात्मक टिप्पणी आजको विशेष प्रस्तुति रहनेछ ।
०००
मुक्तककार राजवाबु पहाडीका १२ मुक्तकहरू :
१. पाँच बजे पछि रित्तो हात फर्कायो
कर्मचारीले जनतालाई पर्खायो,
पाँच बजे पछि रित्तो हात फर्कायो,
कथित राष्ट्रसेवकले आज,
कामै नगरि सिंगो दिन घर्कायो ।
२. ओथारो दिएको फूल तारेर खायो
ओथारो दिएको फूल तारेर खायो,
सबैलाई आतंकित पारेर खायो,
बचेरा एक चिरबिर गरिरहेथ्यो,
त्यसलाई पनि छाडेन, मारेर खायो ।
३. हाल बेहाल भो, यो कस्तो ‘नेपाल’ भो ?
हाल बेहाल भो, जाल भो, अनौठो ताल भो, यो कस्तो ‘नेपाल’ भो ?
धनीलाई बाक्लो दाल भो, निमुखालाई चुहिने त्रिपाल भो,
पापी मालामाल भो, धर्मात्मालाई गाल भो, सधैं बबाल भो,
गरीबको काल भो, धनीको ज्युनार गर्ने सुनको थाल भो ।
४. त्यो सिल्ली किन जान्छ दिल्ली?
सल्काउन जाबो एक खिल्ली,
त्यो सिल्ली किन जान्छ दिल्ली?
बाघ झैं संधै गर्जिन्छ यता,
उता चाहिँ म्याउ गर्ने बिल्ली ।
५. सपना भो ठ्यास
एकातिरा ड्यास,
अर्कोतिरा क्यास,
बिचैमा च्यापिएँ म
सपना भो ठ्यास ।
६. भुस्साहा कुकुर हिँडेका छ्न् टुरमा
चपला अवलाहरु अब कोही छैनन्, अत्याधुनिक यो कान्तीपुरमा,
दाउ अनेक बोकीकन नरनारीहरु हिंडेका छन आ-आफ्नै सुरमा,
धुलो, धुँवा, मरेका जन्तु, तुवाँलो अनि फोहरका डुंगुर वरीपरी,
जोगीहरु घुरमा, स्याल र भुस्साहा कुकुर चाहिँ हिँडेका छ्न् टुरमा ।
७. उर्बर मष्तिष्कहरु किन यस्तो वंजर भो
उर्बर मष्तिष्कहरु किन यस्तो वंजर भो?
संवेदना गुमाएको मुर्दा अस्थिपंजर भो,
शृजना नगर्ने, काट्ने, बिगार्ने र भत्काउने
निच नराधमले बोक्ने धारिलो खन्जर भो।
८. बुझे शृजनाको खानी, नबुझे नालीको पानी
चुत्था कुरामा नभुल सुन ए ! शृजनशील नानी हो,
अजेय शक्ति तिमी हौ बुझ् ए ! अनुपम जवानी हो,
जोश, जाँगर, उर्जा, आशा, भरोसा सब तिमी नै त हौ
बुझे शृजनाको खानी हो नबुझे नालीको पानी हो ।
९. यस्तो बारंबार लागिरहेछ
यो जिन्दगी नै बोझिल भार लागिरहेछ,
किन मलाई यस्तो बारंबार लागिरहेछ?
अमुल्य क्षणहरु व्यर्थमा गुज्रीरहेछ,
आफ्नै औचित्य किन/पनि निस्सार लागिरहेछ ?
१०. उता चल्यो आँधी यता ढल्यो समाधि
भरेथेँ आफैलाइ अनेक बिचारले खाँदी,
गिर्ला कतै भनेर राखेथेँ लंगौटीले बाँधी,
तर आज कसरी भो यो बिचलन बिचित्र,
उता चल्यो आँधी यता ढल्यो समाधि ।
११. प्रेम ब्रम्हाण्डमा व्याप्त छ
प्रेम ब्रम्हाण्डमा व्याप्त छ,
सवको लागी पर्याप्त छ,
आँखा खोल मौजुद छ,
बन्द गर समाप्त छ ।
१२. चस्किएर गयौ
लसक्क लस्किएर गयौ,
किन हो झस्किएर गयौ,
सुइरो रोपी यो मुटु भित्र
चसक्क चस्किएर गयौ ।
मुक्तक वाचन कार्यक्रममा वाचित राजबाबु पहाडीका मुक्तकहरूमाथि समीक्षकीय दृष्टिकोण
कुनै पनि व्यक्तिको रचना गर्भमा उही बाँचेको समाज र उसले देखेको परिवेश अनि उसले गरेका साथीसङ्गतिहरूको प्रभाव पर्ने गर्छ । त्यसकारण उनका रचनामा पनि यसको प्रभाव देखिएको छ नै । उनका मुक्तकका विषय पनि यही सन्दर्भमा आएका छन् । उनका मुक्तकहरूलाई विभिन्न शीर्षकहरूमा हेर्ने प्रयास यहाँ गरिएको छ ।
सरंचना पक्ष:
उनका वाचित मुक्तकहरू मुक्तकको चतुष्पदीय संरचनालाई अङ्गीकार गर्दै शीर्षक राखेर प्रस्तुत गरिएको छ । कुनै मुक्तकमा दुई शब्दका हरफ र कुनै मुक्तकमा बाह्र शब्दका हरफसम्ममा संरचित मुक्तकहरूले वाचन प्रवाहमा गति निर्धारण गरेको देखिन्छ । कतिपय मुक्तकमा भने वाचनमै गतिमा अवरोध सिर्जना भएको अवस्था पनि छ । सरंचनाकै पक्षबाट हेर्दा शीर्षक चयनमा कुनै त्यस्तो मापदण्ड अपनाएको देखिँदैन ।
विषयवस्तु :
१. राजनीतिक क्षेत्रमा देखिएका विसङ्गत पक्षहरू
२. प्रशासनिक क्षेत्रमा देखिएका कामचोर प्रवृत्ति
३. जिम्मेबारीप्रति लापर्बाही रहने प्रवृत्ति
४. सहरी जीवनशैलीमा देखिएको व्यक्तिवादी प्रवृत्ति
५. सिर्जनशील मस्तिष्क बाँझो बन्दै गएको प्रसङ्ग
६. राष्ट्रिय चासोमा विदेशी गुहार्ने चाप्लुसी प्रवृत्ति
७. जीवनको निराशाको चित्रण
८. निराशाका बिचमा आशाको खाजी
९. प्रेमको सर्वव्यापकता तथा प्रेमको शृङ्गारिकता
मूल कथ्य :
कुनै पनि रचनामा व्यङ्ग्य अर्थात् ध्वनि महत्त्वपूर्ण पक्ष हो । त्यो व्यङ्ग्यको कसीमा राखेर आफ्नो वैचारिकी प्रस्तुत गर्ने जमर्को रचनाकारले गर्छ । यी मुक्तकहरूले पनि सामाजिक बेथितिबाट थितिको चाहना प्रकट गर्छन् । घरको समस्या घरबाटै समाधान होस् भन्ने चाहन्छन् । मानिसको सिर्जनक्षमतामा ह्रास आउन दिनु हुँदैन भन्छन् । हाम्रा दृष्टिकोणहरू बदलिएको परिवेशमा हाम्रा मस्तिष्क पनि बाँझो बन्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ । सरकारी निकायमा देखिएको कामचोर प्रवृत्तिको अन्त्य भए जनताले सुशासनको महसुस गर्थे भन्ने भनाइ राख्छन् । त्यस्तै प्रेममा कसैले सङ्कुचन हुनुपर्ने कारण नभएको भन्दै प्रेमको सर्वव्यापकतालाई खुला आँखाले हेर्न अनुरोध गर्छन् । त्यहीँ प्रेमको शृङ्गारिकतालाई पनि समेट्दै नारी मनको अभावमा मुटुमा दुखेको अनुभूत गर्न पुग्छन् । विषयगत विविधता मार्फत् समाजलाई पस्कन खोज्नु सबल पक्ष हो ।
लैङ्गिकता- मुक्तकले उठाएका विविध विषयवस्तु मध्ये लैङ्गिकता पनि एक महत्त्वपूर्ण पक्ष हो । सबै मुक्तकहरूले महिला सशक्तीकरणभन्दा पनि महिलाका सामान्य स्वभावमाथि प्रवेश गर्न खोजेको आभास हुन्छ ।
‘चपला अवलाहरू अब कोही छैनन्, अत्याधुनिक यो कान्तीपुरमा
दाउ अनेक बोकीकन नरनारीहरु हिंडेका छन आ-आफ्नै सुरमा,’
चपला (चपल स्वाभवकी, बाठी स्त्री) अबला (बल नभएकी, दुर्बल नारी, अशक्त) कोही छैनन् भन्दै अनेक दाउमा नरनारी हिँडेका छन् । आफ्नै सुरमा हिँडेका नारीहरूमाथि कटाक्ष गरिएको मुक्तकले लैङ्गिक सशक्तीकरणको पक्षभन्दा पनि अनेक दाउ बोकेर हिँडेका मानिसहरूको स्वभावप्रति असन्तोषको राग पस्किएको देखिन्छ । चपला र अबला भनेर एउटै ठाउँमा फरक दृष्टान्त बनाएर कतै अन्योल सिर्जना गरेको जस्तो देखिन्छ ।
भाषाशैली तथा शीर्षकका सीमा
मुक्तकको भाषा सरल भइकन कटाक्ष मिश्रित हुनुपर्ने हुन्छ । शब्दको कुनै सीमा त हुँदैन नै तर एक या दुई शब्दका हरफले मुक्तकको शक्ति क्षिण गर्छ जस्तो लाग्छ । स्वतन्त्रतापूर्वकको घुमाइलाई भुस्याहा कुकुरसँग तुलना गर्ने खालको भाषिक शब्द चयनले साहित्यिक रस सौन्दर्यलाई कमजोर बनाएको अनुभूति पनि नहुने होइन । वर्णविन्यासगत त्रुटि देखिन्छन् ।
कुनै पहिलो हरफ नै शीर्षक छ । कुनैमा दोस्रो हरफ । कुनैमा चौथो हरफै वा त्यसको आधा वा कुनैमा दोस्रोको आधा हरफ पनि शीर्षक छ । यसले शीर्षकीकरणमा अन्योलता थपेको देखिन्छ । त्यसमा पनि मुक्तकमा वाचन गरिने अन्तिम हरफ नै शीर्षकमा राखियो भने मुक्तकको रहस्यको पर्दाफास गर्दा मुक्तकको मर्ममा प्रहार हुन गयो कि भन्ने लाग्छ । समग्रमा उनका मुक्तकहरूले आम मानिसका पीडाजन्य कुराहरू उठाउन सकेको देखिन्छ । यो सबल पक्ष हो ।
शोभा शाह थापाका १२ मुक्तकहरू :
१. जल्दा बल्दा सारा समस्याहरु निदान हुनुपर्छ देशमा
बाली लगाउने मालिक खुद किसान हुनुपर्छ देशमा
बनाई धारा कानुन तोड्ने शासक मान्य छैन जनलाई
ती भ्रष्टाचारी फाँसी चढाउने विधान हुनुपर्छ देशमा ।
२. विदेशीको ईशारामा संसदमा नाटक मञ्चन हुन्छ भने
देशलाई न्याय दिंदा यदि सर्वोच्च नै बाधक हुन्छ भने
चारैतिर क्रान्तिको आगो बल्नुपर्छ देशद्रोही जल्नुपर्छ
जन्मभूमि विरुद्ध तिनका हस्ताक्षर घातक हुन्छ भने ।
३. छेपारोले झैं फेरि रहने छ तिनको रंग अजबको
जनलाई भेडों बनाउने छ तिनको ढंग अजबको
पलमै मिल्छ त्यो विपक्षसित पल मै लड्छ पक्षसंग
कुर्सीको लागि लडिरहने छ तिनको जंग अजबको ।
४. देश जोगाउने अभिभारा जनले बोक्नुपर्छ अब
देशद्रोहीको छातीमा तातो गोली ठोक्नुपर्छ अब
जाग जाग सपूत हो बोक बन्दुक खुँडा खुकुरी
जन्मभूमि पराई हात जानबाट रोक्नुपर्छ अब ।
५. ईमान बेची झोली बोकी भ्रष्ट पार्टी नधाउ अब दाजै
झोले बनि भ्रष्टाचारीहरुको भजन नगाउ अब दाजै
चुनाव आउँदा दिन्छ नोट माग्छ भोट उही मुकुण्डोधारीले
चुहाई र्याल दुईछाक मासुभात नखाउ अब दाजै ।
६. भित्र मुटु घाइते पार्ने नजरको तीर कस्तो कस्तो
मन हलचल पार्ने त्यो अधरको नीर कस्तो कस्तो
न छोड्छौ साथ न थाम्छौ हात परें म रन भुलैयामा
लाग्दैछ तिमीसंगको यो सफरको पीर कस्तो कस्तो ।
७.विश्वासमाथि कहिले पनि कुनै घात नभए
मनमुटु दुख्ने प्रियेको वचन बात नभए
मुनामदनको झैं अमर हुन्थ्यो सबको माया
प्रियेसीको बैँस लुटि भाग्ने भँमरा जात नभए ।
८. चुसी चुसी यौवन रस भँवरा अन्त बाग सरेर जान्छ
सम्झी सम्झी दुईदिने झुटो प्रीत दुखी फूल झरेर जान्छ
कयौं चुँडिन्छ कोपिलामै कोही फ्याँकिन्छ पत्र पत्र भई
मरेपनि अभागी गुलाफ मिठो सुवास छरेर जान्छ ।
९.नचुँड्नु कोपिला फक्रेर फूल बनि फुल्न पाओस
आउँदा पवन रमाउँदै डालीसंगै झुल्न पाओस
हुन्छ दुईदिने छोटो जिन्दगानी बाँच्न दिनु विन्ती
प्रीत गाँसी भँवरासित सबै पीडा भुल्न पाओस ।
१०. यो देशमा नारी हिंसा सधैं चेली बलात्कारमा किन पर्छन् आमा
कोही गर्छन् एसिड प्रहार कोही छुरा प्रहार गर्छन् आमा
भो नदेऊ जन्म कुनै सन्तान अब राख कोख बाँझै वरु
रुँदै तड्पी तड्पी बाँच्नुपर्छ कि त अकाल मै मर्छन आमा ।
११. एक नारीले अर्को नारीको दुख बुझ्दैन भने
चेलीको पीडामा माईतीको मन दुख्दैन भने
टाँका लाईदेउ कोखमा अब हे नारी जाति हो
आफ्नै सन्तानले जन्मदिने आमा पुज्दैन भने ।
१२. गरेछौ देश विकास गगन चुम्बी भ्यु टावरको
होर्डिङ बोर्ड राख्नु अब हनी पतञ्जली डाबरको
आउँछ टन्नै आईसी डलर भाट पर्यटक भित्रेर
नाच्नु अनि लगाई घाँघर ईण्डियन बाँदरको ।
धन्यवाद !
मुक्तक वाचन कार्यक्रममा वाचित शोभा शाह थापाका मुक्तकहरूमाथि समीक्षकीय दृष्टिकोण
हरेकका साहित्यिक रचनामा ऊ बाँचेको समाज परिवेश अनि उसका साथीहरूको प्रभाव पर्छ । तसर्थ मुक्तककार शोभा शाहका मुक्तकहरूमा ती पक्षहरूको प्रभाव नपर्ने कुरा भएन । उनका मुक्तकका विषय पनि यही सामाजिक सन्दर्भको कठघराबाट उठेर आएका छन् । उनका यहाँ वाचित मुक्तकहरूलाई विभिन्न शीर्षकहरूमा हेर्ने प्रयास गरिएको छ ।
सरंचना पक्ष :
उनका मुक्तकहरू पनि मुक्तकको चतुष्पदीय संरचनालाई अङ्गीकार गर्दै रचिएको देखिन्छ । उनका यहाँ वाचनमा परेका १२ मुक्तकका हरफहरू कम्तीमा छ शब्दका छन् र कुनै हरफ बढीमा दश शब्दमा संरचित छन् । सरंचनात्मक दृष्टिले हेर्दा मुक्तकीय संरचनाका सन्दर्भमा भएका पछिल्ला विभिन्न वहसहरूले पछ्याएको बाटोलाई आत्मसात गरेको देखिन्छ ।
विषयवस्तु :
१. राजनीतिक विषय क्षेत्रका विसङ्गति,
२. विदेशी रिझाउन गरिएका नाटकहरू,
३. कुर्सीको पछि मरिहत्ते गर्ने,
४. चुनावका बेला मात्रै जनता गुहार्ने नेतृत्व,
५. यौवन लुटेर जाने युन कुण्ठित पुरष चरित्र,
६. विकासका नाममा खडा गरिएका अनावश्यक भ्युटावर निर्माणको विरोध लागयतका विविध पक्षहरू ।
मुक्तकमा राजनीतिक व्यङ्ग्य :
किसानले किसानी गर्छ तर किसानले मालिकको अनुभूति गर्न पाएको छैन भन्ने चिन्ता छ । कानुन बनाएर कानुनको धारा तोड्ने अनि भ्रष्टाचार गरेर देशलाई सिद्याउन खोज्नेलाई फाँसीमा चढाउन चाहने शोभा विदेशीको ईशारामा संसदमा नाटक मञ्चन भएको विषय पनि जोडदार रूपमा उठाउँछिन् । रङ बदलिरहने छेपारे प्रवृत्तिलाई उछितो काढ्ने उनका रचनाले कुर्सीमोहलाई व्यङ्ग्य गर्दै देशद्रोहीलाई गोली ठोक्नुपर्ने उग्र धारणा राख्न पुग्छिन् । नेताले इमान बेचेर खाए । कार्यकर्ता पदलोलुप भएर झन् झोले नै बने भन्ने चिन्तामा उनका मुक्तकहरू लेखिएका छन् । देश विकासको नाममा भ्युटावर बनाउने अनि भारतीय पतञ्जलीलगायतका उत्पादनहरूको होर्डिङबोर्ड टाँग्न मात्रै काम लागेको भन्दै नेपाली नेतृत्वलाई भारतीय चटकेले बाँदर नचाएजस्तै गरी नचाइरहेको भन्दै आक्रोश पोखेको देखिन्छ ।
मुक्तकमा लैङ्गिकता
उनी महिला भएर पनि होला महिलामाथि प्रेम गरेर धोका दिने प्रवृत्ति पनि मुक्तकका विषय बनेका छन् । लामो सफरको जोडी बिचमै छोडेर हिँडेपछिको जीवनको कष्टकर अवस्थाले निम्त्याएको पिर मुक्तकको विषय बन्यो । हरेक प्रेमीप्रेमिकामा मुनामदनको जस्तो भाव हुनुपर्छ भन्ने चाहना मुक्तकका विषय बने । यौवन रस चुसेर भँवरा हिँडेकोमा आपत्ति छ । कयौँ बलात्कार जन्य घटनामा पनि महिलाहरू कोपिलामै चुँडिनुपरेको तथ्यलाई उनले यसमा प्रस्तुत गरेकी छन् । नारी हिंसामा पुरुष मात्रै नभई नारीकै पनि हात रहेको तर्फ मुक्तक बोलेको देखिन्छ ।
बलात्कार, एसिड आक्रमण, छुरा प्रहार जस्ता घटनामा छोरीबुहारी आमा दिदीबहिनी जो कोही पनि सिकारमा परेको तथ्य थाहा पाएपछि यदि महिला धर्तीलाई बोझ भएको हो भने कोख बाँझै राख्नुपर्ने आक्रोश पोख्दै नारीको पक्षमा उभिएका मुक्तकहरू यसमा अटाएका छन् ।
सीमा
भाषिक वर्णविन्यासगत त्रुटि, बिम्बहरूमा नवीनताको अभाव जस्तो भँवरासित प्रीत गाँसेर पीडा भुल्न पाएहुन्थ्यो भन्ने प्रसङ्गमा सायद पुरुषलाई भँवरा भनिएको होला । अब हरेक पुरुषलाई भँवराको ठाउँमा राखिने दृष्टिकोण पनि विचारणीय पक्ष हो भन्ने लाग्छ । भँवराले फूलको रस चुस्छ र हिँड्छ । यसो भन्दैमा के सबै पुरुष त्यही भँवरा भए त ? राम्रोको पारख गर्नु र हिँड्नु प्राकृतिक कुरा हुन् । मुनामदनको प्रेममा पनि प्रश्न गर्ने ठाउँ छ । एकअर्कालाई अति प्रेम गर्ने अनि वास्तविकता नबुझी मृत्युको बाटो रोज्ने प्रेमले अति भावुकताको वकालत गर्छ र जीवन अति भावुकताले हैन व्यवहारले चल्छ । अबको जीवनमा संवेदना भन्दा पनि तर्क र व्यवहार हाबी भइरहेको सन्दर्भमा बिम्ब पनि नयाँ नयाँ निर्माण गर्न सक्दा मुक्तकले बल प्राप्त गर्छन् ।
यति हुँदाहुँदै पनि मुक्तकमार्फत् सामाजिक क्षेत्रमा देखिएका विकृति र विसङ्गतिप्रति कटाक्ष गर्नु यी रचनाका सबल पक्ष हुँदै हुन् ।
