१. चाहे शिरमा राख, चाहे पैतालामा राख ,
म कहिले भन्दिनँ, तिम्रो आँखामा राख ।

हरेक पल्ट तिम्रो अघि म निरीह बनेको छु,
चाहे अचानोमा राख ,चाहे सिलौटामा राख ।

सुनेकै भरमा फूल बनाइदिएँ यो जिन्दगी,
चाहे मन्दिरमा चढाउ, चाहे बगैचामा राख ।

यो मन नियम तोडेर आइदिन्छ त म के गरुँ,
चाहे अदालतमा लैजाउ,चाहे कठघरामा राख।

दिलको भित्ता तोडेर आएको छ तस्वीर पनि,
चाहे तिम्रो भित्तामा राख चाहे ऐनामा राख।

२. म दुर बाट हजुर ,मलाई बजार थाहा छैन,
गाउँको गाग्री हुँ शहरको इनार थाहा छैन।

उ सुटुक्क आयो र खुसुक्क निस्केर गयो ,
खै भयो त्यहाँ कस्तो कारोबार थाहा छैन।

के थियो पर्दा भित्र भ्रमित बन्यो दुनियाँ ,
कसरी पुछियो अधरको शृङ्गार थाहा छैन।

लम्बाइ मिल्दैन घरी ,चौडाइ मिल्दैन घरी,
मलाई मेरै मनको यो आकार थाहा छैन।

घाउ देखिदैन कुनै, दुख्नै छोड्दैन फेरि ,
धेरै दिन भयो छातीको बिमार थाहा छैन।

३. बस्तीमा एउटा खबर आएको छ,
कलम बोक्नेले खुकुरी समाएको छ ।

धर्तीलाई फूल सँग दाँज्ने मान्छे हूँ,
त्यसैले मलाई माटो बसाएको छ ।

तस्बिर अमुर्त छ, म कसरी मानौं ?
मलाई त्यहीँ तस्बिरले रुवाएको छ।

मुस्किलले आकाश देख्न पाएकी छु,
मेरो छानाबाट थोरै घाम उदाएको छ ।

तिम्रा सवाल को जवाफ दिनु पैले,
समयले ऐना उपहार पठाएको छ।

४. कोहि खबर लिएर जरुर आएको छ,
ढोका बन्द गर मजदुर आएको छ ।

फेरि एउटा शरीरको बलि बन्ने भो,
बँदेल बनेर जंगली सुगुर आएको छ ।

मन जस्तै सुनसान छ न्यायालय पनि
आत्महत्या गरेको उजुर आएको छ।

मालिक मोज गर्दै छन् यहीँ गाउँमा
आज पनि बिहानै कुकुर आएको छ ।।

हे शहर ! एक पटक बिउझेर हेर्दे फेरि
सपना बोकेर कोहि भरतपुर आएको छ

५. तिमी मेरो सम्झनामा आउनु हुन्न,
दुख्छ फेरि घाउ कोट्याउनु हुन्न ।

लेखिओस् अनि च्यातिओस् बरु,
प्रेमको कहानी कतै छपाउनु हुन्न ।

यो मन,मनमा बस्नेहरुको लागि हो,
मनमा बस्ने ले नै मन बिझाउनु हुन्न ।

प्रेमिल जिन्दगीको सपनामा छ ऊ,
अधुरै हुन सक्छ फेरि उठाउनु हुन्न ।

जिन्दगीको मजा लिदै छ पुतलीले
एकै छिन बलेको बत्ती निभाउनु हुन्न ।