२४ चैत्र, मकवानपुर ।
नवसाहित्य अनलाइन । झरना साहित्यिक परिवार मकवानपुरले ‘टिकटमा मुक्तक साँझ’ गर्ने भएको छ ।
शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा आयोजना हुने कार्यक्रममा मकवानपुरबाट दीपक गौतम र सानु खनालका साथै डडेल्धुराकी पार्वती भट्ट, धादिङकी निर्मला स्नेही र स्याङ्जाकी अमृता पोख्रेलका मुक्तकहरू सुनिनेछन् ।
मुक्तककार बाबुराम पोखरेललाई सम्मान समेत गरिने सो कार्य्रक्रम दिउँसो २ बजे हुने जानकारी दिएको छ ।
साथै माध्यमिक तह (कक्षा ९-१२) स्तरीय मुक्तक प्रतियोगितामा छनौट भएका उत्कृष्ट १० मुक्तककारहरूको नाम सार्वजनिक गरिएको छ । छनौट भएका सर्जकहरूले कार्यक्रममा उपस्थित भएर रचना वाचन गर्ने र सर्वोत्कृष्ट १ सर्जकलाई ‘शिव-सावित्री अधिकारी स्मृति मुक्तक पुरस्कार’ प्रदान गरिने आयोजकले जानकारी दिएको छ । छनौट भएका स्रष्टाहरू अजय बर्तौला (जिएस निकेतन मा.वि.), सुदिप गोङ्वा (जनक मा.वि.), निश्चल दुलाल (हेटौँडा स्कुल अफ म्यानेजमेन्ट), रजनीस कुमार शाह (हेटौँडा स्कुल अफ म्यानेजमेन्ट), कृतिका लामिछाने (नयाँबजार, गोरखा), विविसा रुम्बा, (शारदा मा.वि.), आकांक्षा निरौला (जिएस निकेतन मा. वि.), मनिका नेगी (बुद्ध मा.वि.), भोजराज संजेल (सिदार्थ मा.वि.) र सन्ध्या लम्साल (चन्द्रोदय मा.वि.) रहेको आयोजकले जानकारी दिएको छ ।
३०२औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित यस कार्यक्रमको मिडिया सहयोगी नव साहित्य अनलाइन रहेको छ । वि.सं. २०५० मा स्थापित झसाप (झरना साहित्यिक परिवार) मकवानपुरको साहित्यिक क्षेत्रमा सक्रिय संस्थाका रूपमा रही आएको छ ।
