२२ चैत्र, मकवानपुर । नवसाहित्य अनलाइन । कविता लेखन तथा वाचनमा चर्चाको नाम कवि विप्लव प्रतीक । त्यसो त लेखनका विविध विधामा कलम चलाउँदै आउनु भएका प्रतीकका कविताले नेपाली साहित्यलाई अझ उँचो बनाएका छन् । त्यसो यो नाम उहाँ निबन्ध, गीत, नाटक, पत्रकारिता, सिनेमा मात्रै नभई अनुवादमा समेत सशक्त हस्ताक्षर हो । यो पाला भने उहाँ हाइकु सङ्ग्रह लिएर उपस्थित हुनु भएको छ ।
विप्लवको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ काठमाडौँमा विमोचन गरिएको छ । संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरूमाझ यसलाई पस्केको जानकारी गर्नु भएको थियो । उहाँले समारोहको सुरुवातमा उपस्थित रहनेहरूको स्वागतार्थ यसै सङ्ग्रहका हाइकु सुनाउनु भएको थियो ।
सातौँ-आठौँ शताब्दीदेखि नै विश्व साहित्यमा महत्वपूर्ण योगदान दिने हाइकु तथा सिन्जो जापानबाट सुरू भई संसारभर चर्चित विधा हो भने नेपालमा शङ्कर लामिछानेले सुरू गर्नु भएको हो । नेपालमा हाइकुको विकासका लागि नेपाल हाइकु सङ्घ, हाइकु केन्द्र नेपालजस्ता संस्था र सर्जकहरू सक्रिय रहेका छन् ।
केही दिनअघि प्रतीकको यस पुस्तकको कभर पेज सार्वजनिक भएसँगै ‘शाडेनफ्रोएडा (Schadenfreude)’ शब्दबारे चर्चा चुलिएको हो । यस शब्दले ‘न चिताएको वा न सोचेको’ भन्ने अर्थ राख्दछ । जर्मन शब्द Schadenfreude अङ्ग्रेजीमा ‘Harm-joy’ भन्ने बुझिन्छ । नेपालीमा यस शब्दको अर्थ ‘अर्को व्यक्तिमा परेको असरबाट खुसी वा आनन्द लिनु’ भन्ने अर्थ हुन्छ । हाइकुले कवि विप्लवका जर्मनीको ‘शाडेनफ्रोएडा’ लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।
सन् २००६ तिर हाइकुसँग नजिकिएको बताउनु हुने उहाँले ‘तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने’ विचार राख्नुहुन्छ ।
पुस्तकका कम्प्युटरका लिपिहरू नभई स्वयं लेखककै हस्ताक्षरबाट मुद्रित गरिएको यस पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरू समेटिएका छन् । ४ सय ९५ रुपैयाँ मूल्य तोकिएको पुस्तक ‘शाडेनफ्रोएडा’ लाई पब्लिकेशन नेपालयले अडियो बुकका रूपमा प्रतीककै आवाजमा समेत प्रस्तुत गर्दैछ ।
पुस्तकमा सङ्ग्रहित ५ हाइकुहरूः
१.
सहर सुत्यो
मानिसका सपना
ब्युँझिन थाले ।
२.
कसरी ब्युँझुँ
सर्पको सिरानीमा
निदाएको छु ।
३.
पलाँस थिएँ
तिमीले छोएपछि
गुराँस भएँ ।
४.
सूर्य निल्दैछु
सबैको हृदयबाट
पीर पग्लोस् ।
५.
तिम्रो त्यो आँखा
साँच्चिकै सागर हो
डुब्यो कि, डुब्यो ।
नवीन पुस्तकमार्फत् पाठकहरूमाझ सशक्त हाइकुहरू प्रस्तुत गर्नु भएकोमा कवि विप्लवलाई नवसाहित्य अनलाइन परिवार हार्दिक बधाई तथा शुभकामना प्रकट गर्दछौँ ।
