४ बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । कवि गजलकार प्रकट पङ्गेनी शिवले संसारबाट विदा लिनु भएको छ । मङ्गलबार ७० वर्षको उमेरमा उहाँको निधन भएको हो ।
केही समयदेखि जण्डिस र निमोनियाका बिरामी पङ्गेनी स्वास्थ्यमा एक्कासी समस्या आएपछि अस्पताल भर्ना हुनु भएको थियो । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन हुनु भएका उहाँका ‘अक्षरभरि अक्षता’, गीत संग्रह ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनालाई’ र गजल संग्रह ‘प्रणयवेदका ऋचाहरू’ प्रकाशित छन् ।
०००
श्रृङ्गारिक गजल सिर्जनामा उहाँ चर्चित हुनुहुन्थ्यो । उहाँका केही सिर्जनाहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
१
तिम्रो हातले भर्दै गिलास पिलाएको छुट्टै मजा
कोखाइ कोखाइ भन्दै सितन खिलाएको छुट्टै मजा ।
को हुन्छ र ओठ टोक्दै गिलास भर्दै पिउने मान्छे
त्यसमाथि झन् बाहुपास नै दिलाएको छुट्टै मजा ।
मध्यरात छ हामी दुइ छौँ चकमन्न अँध्यारो छ
छामछामछुमछुम गर्दै ओछ्यान मिलाएको छुट्टै मजा ।
यता मैले तान्दा उता तिम्ले तान्दा फाट्यो च्यादर
अँध्यारोमैँ त्यस्तो च्यादर सिलाएको छुट्टै मजा ।
कहिलेकाहीँ मजा पनि कति मजा हुन्छ गाँठे
मजा मान्दा मान्दै मजा बिलाएको छुट्टै मजा ।
साँझमा दियो बाली राख्यौ, को आउँदैछ आज
हातका औँला चाली राख्यौ, को आउँदैछ आज ।
२
हिजो अस्ति उप्किएका घरका छेउकुना
बिहानदेखि टाली राख्यौ को आउँदैछ आज ?
एउटा फूल भगवानलाई टिपे भइहाल्थ्यो त
सिङ्गै फूलको डाली राख्यौ को आउँदैछ आज ?
अगलबत्ती जलाएर तुलसीको मठमा
छेउमा पूजा थाली राख्यौ को आउँदैछ आज ?
बिहानदेखि सजिएर श्रृङ्गारपटार गरी
शीरको सिउँदो खाली राख्यौ को आउँदैछ आज ?
३
“जस्तो साइनो लाउने मन छ, त्यस्तै लगाऊ तिम्रो खुसी
पिउने आखिर म छँदैछु, जे जे मगाऊ तिम्रो खुसी ।”
आउँदा आउँदै अबेर भयो साँझ पर्यो म के गरूँ
अँध्यारोमैँ राख या त सन्ध्या जगाऊ तिम्रो खुसी ।
टाढा थिएँ हिजो अस्ती आज छेउमैँ बसेको छु
स्वागतार्थ बिगुल बजाऊ ध्वजा जगाउ तिम्रो खुसी ।
नजिक आइ सताउ प्रकट भन्थ्यौ तिमी टाढा हुँदा
नजिक आएँ अब सत्य बचाउ डगाउ तिम्रो खुसी ।
सराप नदेउ वृन्दाले झैँ पत्थर हुने रहर छैन
आजको रात ओछ्यानमा सुताउ भगाउ तिम्रो खुसी ।
०००
उहाँका सिर्जनाहरूमार्फत् उहाँ जीवन्त रहीराख्नुहुनेछ । नवसाहित्य अनलाइन परिवार सशक्त सर्जक प्रकट पङ्गेनीको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
