१० बैशाख, मकवानपुर
नवसाहित्य अनलाइन । आँचल साहित्य कला पुञ्ज मकवानपुर मकवानपुरमा रहेको महिलाहरूको कृयाशील संस्था हो । वि. सं. २०६९ सालमा स्थापना भएको यस संस्थाले मकवानपुरमा रहेर विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । हरेक महिनाको तेस्रो शनिबार नियमित भेटघाटको कार्यक्रम अन्तर्गत महिलाहरू मात्र जम्मा भएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको यस संस्थाले वर्षमा चारओटा वृहत कार्यक्रम गर्दै आइरहेको छ । यस संस्थाले हरेक वर्ष नौ जना श्रष्टालाई फरक फरक सम्मान तथा पुरस्कार प्रदान गर्ने गरेको छ ।
आँचल साहित्य कला पुञ्जले घोषणा गरेको सम्मान तथा पुरस्कारहरू
१) बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मानः –२०८०
समाजसेवी हरिवंश भेटवाल र उहाँकी धर्मपत्नी बिजुला भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गर्नुभएको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान– रेणुका जि.सी.का लागि लाई प्रदान गर्ने निर्णय भएको छ । उहाँलाई रु १०००१/– राशि र सम्मानपत्रसहित सम्मानित गरिने छ । १ लाख २५ हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७४ सालमा स्थापना भएको हो । साहित्यमा कलम चलाउने नारी साहित्यकारलाई मात्र दिइने यो सम्मानबाट २०७४ मा कवि प्रतिमा पाठक, २०७५ मा साहित्यकार रुकु कार्की, २०७६ मा साहित्यकार डा. विन्दु शर्मा २०७७ मा समालोचक / कवि ज्ञानु अधिकारी, २०७८ मा मकवानपुरे साहित्यिक साहित्यकार तथा साहित्यिक संगठक तीर्थदेवी सिलवाल, २०७९ मकवानपुर, हेटौँडा–८ निवासी कवि तथा गजलकार बवी थापालाई प्रदान गरिएको थियो । यो सम्मान आँचलमा संस्थामा स्थापना भएको अक्षयकोष सहितको पहिलो सम्मान हो ।
२) प्रतिभा धिताल छन्द पुरस्कार–२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नी दिदी प्रतिभा धितालको नाममा स्थापना गर्नु भएको प्रतिभा धिताल छन्द पुरस्कार– २०८० नुवाकोट निवासी सुमित्रा सुमीलाई प्रदान गर्ने निर्णय भएको छ । रु १ लाख अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष छन्दमा कलम चलाउने नारी साहित्यकारलाई यो पुरस्कार प्रदान गरिने छ । रु. १० हजार १ (दशहजार एक) राशिको यो पुरस्कार २०७५ सालमा स्थापना भएको हो । यो पुरस्कारबाट साहित्यकार २०७५ मा बुनु लामिछाने २०७६ मा प्रभा भट्टराई, २०७७ मा नवलपरासी निवासी कृष्णदेवि शर्मा, २०७८ मा भुषिता वशिष्ठ, २०७९ इटहरीकी टीका आत्रेयलाई सम्मानित भइसक्नु भएको छ ।
३) ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान –२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिना लम्साल तथा छोरा प्रकाश लम्सालले आफ्नो ससुराबा/बुबाको नाममा स्थापना गर्नु भएको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान–२०८० मकवानपुरे पत्रकारितामा लामो समयदेखि निरन्तर क्रियाशील पत्रकार सरिता दाहाललाई प्रदान गर्ने निर्णय भएको छ । १ लाख रुपैयाँको अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिलाई यो सम्मान दिइँदै आएको छ । २०७५ सालमा स्थापना भएको यो सम्मानमा रु. ७५००/– सहित सम्मानपत्रले सम्मानित गरिने छ । २०७५ सालमा स्थापनाभएको यो सम्मानबाट २०७५ मा अग्रज पत्रकार कौशल पाण्डे, २०७६ मा नवराज शर्मा, २०७७ मा प्रताप विष्ट, २०७८ मा कृष्णराम परियार, २०७९ मा राममणि दाहाल सम्मानित भइसक्नु भएको छ ।
४) टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०८०
साहित्यकार रुकु कार्कीलगायत उहाँको बहिनीहरू प्रमिला शर्मा, अम्बिका उप्रेती, अन्जु उप्रतीले आफ्ना स्वर्गीय पिता तथा माताद्धयको नाममा स्थापना गर्नु भएको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०८० काठमाडौँ निवासी साहित्यकार प्रभा बराललाई प्रदान गरिने भएको छ । रु. ११,१११ राशी र सम्मानपत्र सहित सम्मानित गरिने छ । १ लाख ५० हजारको अक्षयकोष स्थापना गरेर सुरुवात गरिएको यो सम्मान २०७६ सालमा स्थापना भएको हो । यो सम्मानबाट २०७६ मा कवि ललिता दोषी, २०७७ मा कवि निमेष निखिल, २०७८ र देवराज खरेल, २०७९ मा साहित्यकार माधव पोखरेल सम्मानित भइसक्नु भएको छ ।
५) अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०८०
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष तथा २०७३ देखि २०७५ सम्म अध्यक्षको कार्यभार सम्हाल्नु भएकी स्वर्गीय अप्सरा तिम्सिनाको नाममा उहाँका मातापिता गजाधर तिम्सिना तथा यशोधरा तिम्सनाले स्थापना गर्नुभएको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान २०८० साहित्यकार नेत्र एटमलाई प्रदान गरिने भएको छ । रु. १ लाख ९० हजार रुपैयाँको अक्षयकोषको प्राप्त व्याजबाट प्रत्येक वर्ष साहित्यको क्षेत्रमा विशेष योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई रु. १५,००१ /–राशीसहित सम्मान प्रदान गरिने छ । । यो सम्मानबाट २०७६ मा मकवानपुरे साहित्यकार आरसी रिजाल, २०७७ काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी माली, २०७८ मा चितवन निवासी साहित्यकार सरिता तिवारी, २०७९ मा आख्यानकार माया ठकुरी सम्मानित भइसक्नु भएको छ ।
६) मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार सम्मान–२०८०
शिक्षासेवी देवप्रसाद श्रेष्ठले स्थापना गर्नु भएको मंगलादेवि श्रेष्ठ बाल प्रतिभा पुरस्कार–२०८० बालजागृति इङलिस स्कुलकी प्रसिद्धी लामिछानेलाई प्रदान गर्ने निर्णय गरिएको छ । नगद ३ हजार ५ सयसहित सम्मानपत्रबाट सम्मानित गरिने यो सम्मान २०७६ सालबाट प्रदान गरिएको हो । यो पुरस्कारबाट २०७६ मा त्रिभुवन मावि हटियाका २०७७ मा अमर माविका प्रज्वल ढुंगाना, २०७८ मा बालजागृत सेकेन्डरीका ऋत्विक केबी, २०७९ मा जि.एस. निकेतनमा अध्ययनरत समर्पण न्यौपाने सम्मानित भइसक्नु भएको छ । यो पुरस्कार विद्यालय तहमा अध्ययनरत विशेष प्रतिभा भएका विद्यार्थीहरूलाई प्रदान गरिने गरिएको छ ।
७) मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८०
साहित्यसेवी मुक्तिगोविन्द वैद्य तथा उहाँकी धर्मपत्नी तारादेवी वैद्यले २०७७ मा स्थापना गर्नु भएको मुक्ति–तारा नवप्रतिभा सम्मान–२०८० मकवानपुरे नवप्रतिभा स्वस्तिका बानियाँलाई प्रदान गर्ने निर्णय भएको छ । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मानमा ५ हजार १ रुपैयाँ राशीसहित सम्मानपत्र रहेको छ । यो पुरस्कारबाट २०७७ मा मकवानपुरे नवप्रतिभा प्रसिद्धिका लम्साल, २०७८ मा प्रसन्ना चौलागाइ, २०७९ मा कृतिका लौडारी सम्मानित भइसक्नु भएको छ ।
८) सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८०
समाजसेवी चन्द्र किरण श्रेष्ठ र उहाँकी धर्म पत्नी मेनुका शर्माले आफ्ना २०७७ मा स्थापना गर्नुभएको सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान– २०८० साहित्यकार दीपक गौतमलाई प्रदान गरिने भएको छ । २०७७ सालबाट प्रदान गर्न लागिएको यो सम्मानमा १० हजार १ रुपैयाँ राशीसहित सम्मानपत्र रहेको छ । यस सम्मानबाट २०७७ मा कवि सुवास खनाल, २०७८ मा कवि छवि अनित्य, २०७९ मा मकवानपुरका बाँसुरीवादक विष्णु बहादुर विश्वकर्मा सम्मानित भइसक्नु भएको छ ।
९) आँचल सम्मान – २०८०
आँचल साहित्य कला पुञ्जले प्रदान गर्ने गरेको आँचल सम्मान २०८० मकवानपुरमा रहेर निरन्तर रुपमा साहित्य श्रीवृद्धिका लागि योगदान गर्नु हुने सामाजिक व्यक्तित्व/साहित्यसेवी हरिवंश भेटवाललाई प्रदान गरिने भएको छ । संस्थाको अक्षयकोक्ष स्थापना गरेर सहयोग गर्नुका साथै आफूलेसमेत अक्षयकोष स्थापना गरेर आँचललाई संस्थागत गर्न सघाउ पुर्याउनु भएकाले उहाँप्रति कदर भावका साथ यो सम्मान गर्न लागिएको हो आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले जानकारी दिनु भएको छ ।
