बैशाख २४ मा बागमती प्रदेशभर सार्वजनिक बिदा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा लागू गर्ने २१ बैशाख, शुक्रबार नवसाहित्य अनलाइन । बागमती प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयले १ दिन बागमती प्रदेशभरका सरकारी कार्यालय विदा दिने निर्णय गरेको छ । प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार बैशाख १२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा लागू गर्ने निर्णय गरेको छ । बैशाख २४ गते सोमबार भाषा लागू गर्ने दिन बागमती प्रदेशको सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राजपत्रमा प्रकाशित भएको १ सय ८० दिनपछि सो ऐन लागू हुने प्रावधान रहेको छ । बागमती प्रदेशसभाले सर्वसम्मत रूपमा पारित गरेको ऐन गत कार्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो । संविधानबमोजिम नेपाली भाषासँगै प्रदेशभित्र बहुसंख्यकले बोलिने दुईवटा भाषालाई सरकारी कामकाजी भाषा निर्धारण गर्ने बागमती पहिलो प्रदेश हो । नेपालको संविधान २०७२ को धारा ७ को उपधारा (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।
