हाम्रा भित्तामा झुन्डिएको क्यालेन्डर
प्रोटेट क्यानभासमा उतारिएको
समयको बिभाजित चित्र हो
ऊ सुचक हो
निर्देशक हो
लगाम हो
ऊ योजना हो
संगठन हो
निर्माण हो
ऊ हरेक बिहान उठेको विचार शून्य मस्तिष्कमा
आँगन छोड्ने पैतालामा
सञ्चार फैलाउने एन्टिना हो
ऊ स्कुले नानीहरुको बिदा लिइ आउने खुसी हो
देश बनाउने या भत्काउने योजना हो
नेताहरुले कुरि बस्ने निर्वाचन हो
ऊ रातो माटाले सर्लक्क लिपेका भित्ताहरुमा टाँगिएको छ
र बताइ रहेछ धानको बीउ राख्ने समय
बैंकका चिसा भित्ताहरुमा उभिएको छ
र खोजिरहेछ ब्याज तिर्ने मान्छेहरू
सिंहदरबारका सुकिला भित्ताहरुमा मुस्कुराएको छ
र पढि रहेछ देशको भाग्य
फूलको मौसम यहि पढिरहेछ
जूनको शीत यहि गनिरहेछ
तापको अचाक्ली समय यसैको वरपर घुमिरहेछ
बर्षाको बाढी यसकै ह्रदयमा उर्लिरहेछ
ऊ प्रणयको प्रेमिल रात हो
पथिकको साइत हो
ह्रदय सफा गर्ने इरेजर हो
के हामी सोच्न सक्छौ रु
क्यालेन्डरका अङ्कहरुलाई मेटाएर बाँच्न
उ निर्जीव बाँचेको सजिब चित्र हो
के छैन क्यालेन्डरसग १
बाहेक
जन्म र मृत्यु ।
-अमृत क्षेत्री, पोखरा