जुनी भण्डारी हेटौँडा निवासी हुनुहुन्छ । उहाँ समसामयिक घटनामा चासो राख्नुहुन्छ । विभिन्न मिडियाहरूमा उहाँका फुटकर व्यङ्ग्य लेखहरू प्रकाशित छन् । सेतोपाटी, फित्कौली, नवपथ, नारी आदि पत्रपत्रिकामा उहाँले दर्जनौँ आलेखहरू लेख्नु भएको छ । ७ वर्ष रेडियो कार्यक्रम उत्पादनको अनुभव रहेको उहाँले ग्रामीण विकासमा स्नातकोत्तर गर्नु भएको छ ।
“ए सुनिता त्यो रश्मिते त नजाने भन्छे हेर् न ।”
“क्यामरा काँ खोज्ने अब?” पारु हस्याङफस्याङ गर्दै निराश अनुहार लिएर सुनिता कहाँ आइपुग्छे।
एकाएक रीस र चिन्ता मिश्रित अनुहार कच्याककुचुक्क पारेर सुनिता कड्किन्छे-“के भन्छे? त्यो बाँदरनीले पहिलै भन्न सक्थिनस् नजाने भए ? त्यसको बाउको क्यामरा छ भनेर झन् त्यसलाई हाम्रो ग्रुपमा मिसाएर जाम भनेको, अब के गर्ने त, बर्बादै पारी नि”।
“अँ त नि, क्यामरा नभइ त के लुम्बिनी जानु अब, क्यान्सिल गर्ने त प्लान?” पारुले अन्योल हुँदै सोध्छे। “पख् पख्, क्यान्सिल त मरिगए नि गरिन्न । त्यो रश्मितेको बेन्चका केटीहरूले खुच्चिङ् भन्दैनन्? त्यसको भन्दा राम्रो क्यामरा लिएर गइन्छ झन् । त्यो जगल्टे नगए नजाओस् ।” सुनिताले रीस पोख्छे।
“काँबाट लाने हो? फुर्ति लाएर भएन केरे। न तेरो घरमा क्यामरा छ न हाम्रो ग्रुपको कसैसँग छ।” पारु निराश भावमा बोल्छे।
गुडलुक स्टुडियोमा जाम् न एकपटक। दिनेश अँकलसँग सोधम् न क्यामरा एक दिनलाई भाडामा दिन्छन् कि। घरमा बल्ल तल्ल मनाइएको छ घुम्न जानलाई, यसपाली क्यान्सिल गरिम् भने त पछि जाने चान्सै हुन्न बाइ।”
सुनिता र पारु १ कक्षादेखि सँगै पढेका साथी । ९ कक्षासम्म आइपुग्दा पनि एउटै बेन्चमा बस्थे । पहिलो बेन्चमा बस्ने उनीहरु घुम्ने, फोटो खिच्ने, पिकनिक जाने र सिनेमा हेर्न जाने योजनाका प्रमुख हुन्थे । उनीहरुको योजनामा होमा हो थप्दै पछि लाग्ने अरु ५ जना केटीहरु थिए-‘सीता, निलम, बिनिता, सरु अनि मोनिका। स्कुलका सबैले यिनिहरुको ग्रुपलाइ ‘सप्तकोशी’ नाम राखिदिएका थिए। यसपटक सप्तकोशीको लुम्बिनी घुम्न जाने योजना अन्तिम चरणमा पुगेको थियो । अघिल्लो दिनसम्म हुन्छ भनेकी रश्मिताले एकाएक आफूलाई घरबाट जाने अनुमति नदिएको बताएपछि तनाव आइलागेको थियो।
क्यामराको जुगाड गर्न भन्दै अर्को दिन केटीहरु गुडलुक फोटो स्टुडियो सम्म पुग्छन् । स्टुडियोका साहुले क्यामरा भाडामा दिन त मान्छन् । तर केटीहरुले क्यामरा बिगार्देलान् भन्ने डरले एकजना स्टाफलाई पनि उनीहरु सँगै लैजानुपर्ने शर्त राख्छन् । त्यससँगै सप्तकोशीको लुम्बिनी यात्रा सफल बन्ने पक्का हुन्छ ।
क्यामराको एक दिनको भाडा र कोडाक रीलको एक सय २० रुपैयाँ अनि स्टाफको गाडी भाडा, सात जनाले बराबर हिसाब गरेर उठाउँछन् । फोटो भने एउटा रीलमा ३६ वटा अट्ने भएकोले ४/४ वटाको दरले सिङ्गल खिच्ने बाँकी सबै ग्रुपको खिच्ने भनेर सहमति हुन्छ।
योजना अनुरुप लुम्बिनी घुमाइ एकदमै रमाइलो हुन्छ। फरक-फरक पोजमा अनि राम्रो सिनको लागि रील बचाउँदै फोटोहरु पनि खिच्छन् । घुमेर आएदेखि दुई दिनसम्म त कक्षामा लुम्बिनीकै कुरा हुन्छन् ।
अब भने प्रतीक्षा हुन्छ फोटोको। रील धुलाउन ४,५ दिन लाग्थ्यो।
गत बर्ष पोखरा घुम्न जाँदा फोटो खिचेको रील जलेपछि क्लास बङ्क गरेर दिल जले फिलिम हेर्न पुगेका थिए उनीहरू । अर्को दिन हेडमास्टरले अफिसमा लगेर मुर्गा बनाएपछि जलेको दिल र गलेको खुट्टा लिएर घर पुगेका थिए ।
यसपाली भने फोटो सकुशल प्रिन्ट भएर निस्कन्छ । फोटो पाएको दिन कक्षाका सबैजना उनीहरुको फोटो हेर्न झुम्मिन्छन् । सिङ्गल फोटोहरु एक से एक आएका थिए। ग्रुपको फोटोमा कोही निदाएका थिए, कोही कता फर्किएका थिए । कसैको कपालले अनुहार नै छोपिएको थियो । तीमध्ये एउटा ग्रुपको फोटो हेर्न लायकको थियो । सुनिताले हात उचालेर चाउचाउको प्याकेट देखाएकी थिई, सीताले चाउचाउ मुखमा राखेर इँ.. गरेर दाँत देखाएकी थिई, पारुले मोनिकालाइ चाउचाउ खुवाइदिए झै गरेकी थिइ, बिनिता र सरु भने आफ्नै धुनमा क्यामरातर्फ ट्वाल्ल हेरेका थिए।
सिंगल फोटोको १० रुपैयाँ र ग्रुपको ५ रुपैयाँ हिसाब गरेर स्टुडियोमा बुझाइसकेका थिए । ४/४ सिङ्गल खिच्ने भन्ने सहमति भएको भएपनि फोटो हेर्दै जाँदा पारुको भने ५ वटा सिङ्गल फोटो देखिन्छ । यो देखेर सुनितालाई जलन हुन्छ । त्यतिबेला केही भन्न सक्दैन कसैले । स्कुल छुट्टी भएपछि घर जाने बेलामा सुनिता र सीताबीचमा त्यो कुरा हुन्छ। “पैसा त बराबर उठाएको हो नि, तर त्यो पारुले ५ वटा सिंगल खिचेकी रहिछे है, हाम्लाई थाङ्नामा सुताइ त्यसले” सुनिताले भन्छे। सीताले पनि “पारुले यो ठिक गरिने” भनेर आगोमा घिउ थप्ने काम गर्छे। सीता अलि कुरौटे स्वभावकी थिई।
अर्को दिन स्कुलमा पारुले सुनितालाई हेर्दै नहेरी हिड्छे । सधैं सुनितासँग बस्ने पारु अर्को बेन्चमा सर्छे । त्यो दिन पारु एक शब्द पनि बोल्दिने सुनितासँग । सीता पनि अलि डराए जस्तो, तर्किए जस्तो गर्दै थिई सुनितासँग । कुरा प्रष्ट थियो सीताले हिजोको कुरा पारु समक्ष पुर्याइसकेकी थिई।
यो कुरा काट्ने भन्ने चिज पनि कस्तो हुदोरहेछ। भनिएको कुरा कुवाको पानी जति हुन्छ, कुरा लगाउनेले अर्को व्यक्तिसम्म पुर्याउँदा ताल जस्तो देखिन्छ अनि कुरा सुन्नेले बुझ्दासम्म त्यो कुरा सागर जत्रै बनिदिन्छ।
सुनिता र पारुकोबीचमा पनि कुवा जत्रो कुराले सागरको रुप लिन पुग्छ अनि हुन्छ दुवैको बोलचाल बन्द। ग्रुपका नायिकेहरु बोल्न छोडेपछि ग्रुप पनि दुई भागमा टुक्रिन पुग्छ। दोस्रो विश्वयुद्धमा राष्ट्रहरु एक्सिस पावर र एलिस पावरमा विभाजन भए जस्तै विभाजन हुन्छन् उनीहरु। सुनिताको पक्षमा निलम, सरु र मोनिका आउँछन् भने पारुको पक्षमा सीता र बिनिता ।
ग्रुप बिभाजन भएपछि पहिले जस्तो रमाइलो हुन छोड्छ। सबैजना पढाइमा व्यस्त हुन्छन्। एसएलसी पनि नजिकै हुन्छ। घुम्ने, फिलिम हेर्न जाने क्रम बन्द हुन्छ। एसएलसी पछि बजारमा कहिले काँही पारु र सुनिताको जम्काभेट हुन्छ तर बोल्ने चेष्टा दुवैले गर्दैनन् । एसएलसीको नतिजा पनि आउँछ। पारु र सुनिता प्रथम श्रेणीमा पास हुन्छन् भने अरु सबै द्वितीय श्रेणीमा पास हुन्छन् । एसएलसीपछि सबै तितरबितर हुन पुग्छन् भेटघाट पनि पातलिँदै जान्छ। स्नातक पहिलो बर्षमा हुँदा सुनिताको बिहे तय हुन्छ । सुनिताले स्कुलका साथीहरुलाई पनि बोलाएकी हुन्छे तर पारुलाई बोलाउन मन लाग्दालाग्दै पनि आँट आउँदैन । बोल्ने मन दुबैलाई हुन्थ्यो तर दुवैको इगोबीचमा आउँथ्यो।
आज सुनिताले पुरानो फोटो एल्बम हेर्दै गर्दा ३० बर्ष अगाडीको स्कुले जीवनमा हराउन पुग्छे । आफ्नो बिहेको फोटोमा पारुको अभाव खड्किएको थियो । लुम्बिनीका ती हरेक फोटोहरु हेर्दा त्यही बेलाका मिठा स्मृतिहरु बोलो तारारारा गर्दै आँखा अगाडी नाचिरहेका थिए ।
सुनिताले मनमनै सोच्छे “कस्तो जमाना थियो है, एक-एक फोटोको कति महत्व हुन्थ्यो । कति छिटो परिवर्तन भयो जमाना पनि । आज मोबाइलको स्टोरेज फूल हुने हुने गरि फोटोहरु खिचिन्छन्, कुनै रहन्छन् कुनै हराउँछन् । त्यो बेला सीमित फोटो खिचिन्थ्यो तर कति जतनले राखिन्थ्यो । प्रत्येक फोटो हेर्दा ती फोटोले हामीलाई त्यही दिनको सम्झनामा दौडाएर लैजान्छन् । आजकल फोटो खिच्न र तुरुन्तै हेर्न पाइन्छ । मन नपरे तुरुन्तै अर्को खिच्ने सुविधा छ । पहिले घुम्न गएको सम्झनालाइ सदियौसम्म ताजा बनाइराख्ने उद्देश्यले फोटो खिचिन्थ्यो । अहिले फोटो खिच्नको लागि घुम्न गइन्छ । कहिले त फोटो र भिडियो खिच्ने चक्करमा हामीले घुम्न गएको ठाउँको मजा लिन नै बिर्सिन्छौ । घुम्ने, अवलोकन गर्नेभन्दा पनि फोटोहरु कसरी धेरै र राम्रो निकाल्ने भन्नेतर्फ हाम्रो ध्यान हुन्छ । झन् आजकलका बिहेहरुको त के कुरा गर्नु । बिहेमा फोटो खिच्या हो कि फोटो खिच्नका लागि बिहे गर्या हो भनुँ जस्तै लाग्छ। सुनिताले ६ महिनाअघि आफ्नै छोरीको बिहेको घटना सम्झिन्छे । ८० हजारको प्याकेजमा बुक गरेको फोटोग्राफी स्टुडियोले किस्ता किस्तामा फोटो उपलब्ध गराइरहेको थियो । “होइन एनिभर्सरीको दिनमा राख्ने हो क्याहो तेरो बिहेको फोटो हाम्ले ?” भन्दै छोरीलाई व्यङ्ग्य हान्थे साथीहरुले । क्यामराको भर परेको भए त एउटा फोटो फेसबुकमा राख्न नपाइने । धन्न आफ्नो मोबाइलबाट खिचेको भएर दुइचारवटा फोटो समयमैँ फेसबुकमा पोस्टिन पाइयो भन्दै थिइन् एकजना भाउजुले ।
फेरि फोटो खिच्दाको कहानी त बेग्लै थियो । पण्डितलाई छिटो काम सिध्याउने हतार होला, दुलहाका बाबुलाई छिटो बुहारी लगेर घरमा भित्र्याउन हतार होला तर क्यामराम्यानलाई हतार थिएन । मण्डपको काम सकेपछि जन्ति बिदाइको टिकाटालो हुँदै थियो, उता बेहुला बेहुली गायब । एकछिन हल्ला खल्ला मच्चिएयो । पछि पो थाहा भयो बेहुला बेहुलीलाई त क्यामराम्यानले गायब पारेका रहेछन् पार्कतिर फोटोसुट गर्नलाई । पार्कबाट फर्केपछि फेरि फेमिली फोटो खिच्नै पर्यो बेहुला बेहुलीसँग । पहिले बेहुलीका बुवाआमासँग, अनि मामा माइजु, फुपु फुपाजु साथी भन्यो, सबैले पालैपालो बेहुला बेहुलीसँग खिचेपछि बल्ल अटसमटस गरेर ग्रुपको फोटोसुट हुन्छ । त्यतिले मात्र कहाँ सकिन्थ्यो । ल ल मेरो मोबाइबाट पनि भन्दै फेरी सबैले आफ्नो मोबाइल तेर्स्याउन थाल्छन् । फोटोसुटकै कारण दुई घण्टा ढिलो भएको थियो जन्ति विदा हुन् । सम्धिज्युको अनुहार हेर्न लायकको थियो । के गर्नु पाका मान्छेले बुझ्दैनन् अहिलेको फेशन।” ऊ बेलामा त यसरी एकएकजना गर्दै खिच्न कहाँ पाउनु । अटि नअटी सबैजना लाइनमा उभियो, नअटे बस्यो, अनि क्यामराम्यानले कतिखेर एउटा आँखा चिम्म गरेर ‘रेडी’ ? भन्छन् भनेर आँखै नझिम्काइ हेर्यो । तर बिडम्बना क्यामराको फ्ल्यास क्लिक्कसँगै त्यत्रो बेर धैर्य गरेको आँखा पनि झिमिक्क गरिदिन्थ्यो।
यी सबै कुरा सम्झिदै सुनिताले पूरानो एल्बमबाट लुम्बिनीको एउटा ग्रुप फोटो मोबाइलमा क्लिक गर्छे अनि फेसबुकमा पोस्ट गर्छे। “मिसिङ् अल अफ यु माइ फ्रेण्डस्, स्पेसियल्ली पारु” भन्दै सबै साथीहरूलाई ट्याग गर्छे। पारु उसको फ्रेण्डलिस्टमा नभएपनि अरु साथीलाइ ट्याग गर्दा आफुले मिस गरेको कुरा पारुले थाहा पाओस् भन्ने सुनिताको चाहना थियो। नभन्दै फोटो पोस्ट गरेको केही बेरमा पारुको फ्रेण्ड रिक्वेस्ट आउँछ सुनितालाई । तुरुन्तै रिक्वेस्ट स्वीकार गर्छे सुनिताले।
“तँलाई मेरो याद आज बल्ल आयो हैन बाँदरनी ?” पारुले इनबक्समा म्यासेज गरिहाल्छे । सुनिताको आँखाबाट तर्रर आँशु झर्छ, मोबाइलको कि-प्याड धमिलो देखिन्छ । उसले आँसु पुछेर हत्तपत्त म्यासेजको रिप्लाई गर्छे- “ओइ नक्कली! तँसँग भेटेर धेरै कुरा गर्नुछ अनि तँसँग टाउको जोडेर टन्नै सेल्फी खिच्नुछ बुझिस् ।”
पारुले लभ रियाक्ट गर्दै हाँसोको इमोजी पठाउँछे।
“आइफोन छ तेरो? सुनिताले जिस्काएको इमोजीसँगै म्यासेज गर्छे ।”
उताबाट रिप्लाइ आउँछ-“छैन आइफोन- साइफोन, ‘कोडाक’ को रील किनेर सेल्फी हान्नुपर्छ -रेडी क्लिक ।”
जुनी भण्डारी हेटौँडा