सुदामा पाण्डे ‘धूमिल’ (सन् १९३६, खेवली, उत्तर प्रदेश) भारतीय कविताका क्षेत्रमा एङ्ग्री योङ्गम्यानका रूपमा चिनिन्छन् । सानै उमेरमा पिताको निधन भएपछि गृहस्थीमा फसेका उनले उच्चशिक्षा हासिल गर्न पाएनन् । फलाम बोक्ने लगायत उनले समिलको सुपरभाइजर भएर कलकत्ता, मोतीहारी आदि ठाउँहरूमा काम गरे । बिरामी भएका बेला साहुले मोतीहारीबाट गोहाटी पठाउन खोज्दा उनले स्वास्थ्यको कारण देखाई अस्वीकार गरे । घमन्डी मालिकले ‘आई एम पेइङ फर माई वर्क, नट फर योर हेल्थ !’ भन्दा उनको स्वाभिमानमा चोट लाग्यो र उनले पनि मालिकलाई ‘बट आई ऐम वर्किंग फर माई हेल्थ, नट फर योर वर्क ।’ भन्ने जवाफ दिएर जागिर छोडेका थिए । पछि उनले वाराणसीबाट विद्युत्मा डिप्लोमा हसिल गरी सरकारी जागिर गरे । सन् १९७५ मा ब्रेन ट्युमरका कारण अल्पायुमै उनको दुखद निधन भयो । उनी कति ठुला कवि थिए भन्ने कुरा रेडियोमा उनको मृत्युको खबर आएपछि उनका परिवारजनले थाहा पाएका थिए । उनी यस्तो सामान्य परिवारका व्यक्ति थिए । धूमिल विद्रोही चेतनाका कवि हुन् ।
उनका निम्न चार कविता सङ्ग्रहहरू प्रकाशित छन्-
• संसद से सड़क तक (प्रकाशक स्वयं)
• कल सुनना मुझे (सम्पादन – राजशेखर)
• धूमिल की कविताएं (सम्पादन – डा. शुकदेव)
• सुदामा पाण्डे का प्रजातंत्र (संपादन– रत्नशङ्कर । रत्नशङ्कर ‘धूमिल’का छोरा हुन्।)
जनतन्त्रको सूर्योदयमा
रक्तपात-
कहाँ हुँदैन र
मात्र, एउटा पात झर्ने छ !
मात्र, एउटा काँध निहुरिने छ !
काँपिरहेका हात र
रोइरहेका आँखालाई
बेरेर राता फित्ताहरूमा एकसाथ
राखिदिने छन्
काला दराजका निश्चल एकान्तमा
जहाँ राति
संविधानका धाराहरू
रिसाएका मान्छेका छायालाई
फेरिदिन्छन्
देशको मानचित्रमा
पूरै आकाशलाई
काट्दै दुई भागमा
एउटा लाटो छाया हिँड्ने छ
पर्खालहरूमा हल्लिरहने छन्
हवाइ हमलाबाट सुरक्षित रहने विज्ञापन
यातायात लाई बाटो दिँदै
बल्दै हुने छन्
चौबाटाका बत्तीहरू
लोकमार्गको पछिल्लो भागमा
व्याप्त रहने छ
पहेँलो अन्धकार
सहरका सबैसबै
पशुत्वका विरुद्ध
बाटाहरूमा नाङ्गै घुमिरहेकी
बौलाही महिलाको ‘गर्भिणी पेट’ जसरी
लोकमार्गको पछिल्लो भागमा
व्याप्त रहने छ पहेँलो अन्धकार
र, तिमी
अनुभव गर्ने छौ अवश्यकताका
हरेक मोर्चामा कि-
तिम्रो शङ्का
एउटाको निद्रा र
अर्काको घृणासँग
युद्ध गरिरहेछ
मिसिएर अपराधीहरूको समूहमा
आफ्नै आवाजको अनुहार छाम्नका लागि
कवितामा
अब कुनै शब्द सानो भइरहेको छैनः
तर तिमी मौन रहने छौ,
मौन रहने छौ तिमी र लज्जाको
त्यो निरर्थ लाटोपनले सहने छौ-
यो जानेर कि तिम्रो मातृभाषा
त्यो भाँडा माझ्ने महिलाको जस्तो छ, जो
एउटा साडीका लागि
साहुसँग रातभरि
सुत्नका लागि सहमत छे
टाउको काटिएको कुखुराजस्तै तड्पिँदै
जनतन्त्रमा
बिहान-
मात्र, चम्किरहेका रङहरूको षड्यन्त्र हो
र, यो जानेर पनि, मौन रहन्छौ तिमी
वा कदाचित्, पुनरागमनका लागि पहल गर्ने मान्छेको खोजीमा
एकपल्ट फेरि
तिमी फर्किन चाहने छौ मृत इतिहासमा
तर त्यसै बेला-
सम्झनाहरूमा पर्दा हाल्दै बिहानीको
विदेशी हावा बहन थाल्ने छ
समाचारपत्रहरूको प्रखर ताप र
वनस्पतिहरूका हरिया उखानटुक्काहरू
तिमीलाई सान्त्वना दिने छन्
र, रापिँदै गरेको जनतन्त्रको सूर्योदयमा
सहभागी हुनका लागि
तिमी चुपचाप आफ्ना दिनचर्याको
पछिल्लो ढोका खोलेर
बाहिर आउने छौ
जहाँ घाँसको टुप्पामा
थर्थराइरहेको शीतको एक थोपा
झरेर जानका लागि
तिम्रो सहमतिको प्रतीक्षा
गरिरहेको छ ।
अनुवादः निमेष निखिल
‘संसद से सडक तक’ बाट