चितवन स्थायी निवासी अम्बिका पोखरेल कार्की कविता, गीत, गजल, मुक्तक, कथा, लघुकथा लगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ आधुनिक नेपाली गजल अभियानको प्रदेश संयोजक, मुडुला कार्की सेवा समाजको केन्द्रीय अध्यक्ष, ओम कार्की स्मृति साहित्य प्रतिष्ठानको अध्यक्ष, राष्ट्रिय जनसाहित्यिक सङ्घ चितवनको अध्यक्ष, गजलमञ्च चितवनको सदस्य हुनुहुन्छ । उहाँका सङ्कल्प १०१ (गजल सङ्ग्रह– २०७५), चौतारी (सयुंक्त मुक्तक सङ्ग्रह– २०७५), राष्ट्रिय बहरमाला (संयुक्त गजल सङ्ग्रह– २०७६), उडान (संयुक्त गजल सङ्ग्रह– २०७६) प्रकाशित छन् । उहाँ ऊर्जाशील एकल नारी सम्मान– २०७४ अनेम सङ्घ सर्लाही, दस बर्से युद्धमा शान्ति कायम राख्न नेपाल सरकारलाई मद्दत गरे बापत सम्मान २०७४ जिल्ला प्रशासन कार्यालय सर्लाही, सिर्जनशील नारी सम्मान– २०७५, पालुङ साहित्य परिषद्, मकवानपुर, सिर्जनशील युवा सम्मान– २०७६, हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवन, सिर्जनशील सम्मान– २०७७ सल्यान साहित्य परिषद्, सल्यानद्वारा सम्मानित पुरस्कृत भइसक्नुभएको छ ।

गजल

यो धर्ती यो आकाश रहेसम्म
को टुट्छ यहाँ विश्वास रहेसम्म

मालिकहरू सधैँ मालिक हुन्छन्
हैकम मान्ने ती दास रहेसम्म

निभ्ने थिएन बस्तीको चुल्हो ‘नि
भित्र कसौँडीमा गाँस रहेसम्म

अस्तित्व यत्ति मात्रै न हो चिताको
आगो सल्किनु अघि लास रहेसम्म

यो गाउँ सुनसान हुने निश्चित भो
सपना  फुल्ने  प्रवास रहेसम्म ।

अम्बिका पोख्रेल कार्की, चितवन