- नवसाहित्य

नवसाहित्य डटकम
वासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरद्वारा गायक सोमबहादुर घलान लामा सम्मानित हुनु भएको छ । ५० हजार रुपैयाँ राशिको सम्मानद्वारा सम्मानित लामा अशक्त अवस्थामैँ कार्यक्रममा उपस्थिति हुनुहुन्थ्यो ।
सक्रिय जीवनकालमा शिक्षणपश्चात् संस्थानमा रोजगारी गरी रातोमाटे गाउँ पञ्चायतका अध्यक्ष समेत रहनु भएका घलानको आफ्नै शब्द र स्वरमा रहेको सो गीत रेडियो नेपालद्वारा रेकर्ड भएको हो ।
कार्यक्रममा समाजसेवी कृष्णप्रसाद नेपाल १५ हजार रूपैयाँ राशिबाट सम्मानित हुनु भएको थियो ।
०००
वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन
हेटौँडा उपमहानगरपालिका मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम वासुदेव रिजाल स्मृति प्रतिष्ठानका अध्यक्ष आरसी रिजालको सभाध्यक्षतामा आयोजना भएको हो । भैरवीदेवी रिजाल संरक्षक रहनु भएको प्रतिष्ठानद्वारा वासुदेव रिजाल स्मृति ग्रन्थ प्रकाशन गरी विमोचन समेत गरिएको थियो । पुस्तकलाई साहित्यकार तथ सम्पादक निमेष निखिलले सम्पादन गर्नु भएको हो । स्मृति ग्रन्थमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूद्वारा लिखित तथा सञ्चालित ३१ लेखरचनाहरू समावेश छन् ।
प्रतिष्ठानले मकवानपुरगढी गाउँपालिकाको भानु माध्यमिक विद्यालय प्राङ्गणमा भानुभक्त आचार्यको शालिक निर्माण गरेको छ भने वर्षेनी भानु जयन्तिमा साहित्यिक जमघट समेत गर्ने गरेको छ ।
हेटौँडा गाउँपञ्चायतको पछिल्लो तथा नगरपञ्चायतका प्रथम प्रधानपञ्च रिजालको निधन २०३७ सालमा भएको हो । कार्यक्रममा स्व. वासुदेव रिजालको व्यक्तित्व तथा योगदान बारे इतिहासकार केदार न्यौपानेले मन्तव्य राख्नु भयो भने गायक लामाबारे रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले मन्तव्य राख्नु भयो ।
कार्यक्रममा सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेल र निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले हास्यव्यङ्ग्य रचना वाचन गर्नुभयो ।
रामचन्द्र आचार्य फुर्सतीले स्वागत गर्नु भएको कार्यक्रमलाई साहित्यकार तथा प्रतिष्ठानकी सचिव अनिता न्यौपानेले सहजीकरण गर्नु भएको हो ।