संप्रस पौडेल

समाचार प्रमुखः नवसाहित्य

माघ १, मङ्गलबार । नइ प्रकाशनले भारतका ४ स्रष्टाहरूलाई २०८० सालका विभिन्न पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको विशेष बैठकले सो निर्णय गरेको हो ।

कुन पुरस्कार कसलाई ?
* २ लाख रुपियाँ राशिको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ केबी नेपालीलाई
* १ लाख रुपियाँ राशिको ‘नइ कोइलीदेवी पुरस्कार’ रञ्जित गजमेरलाई
* १ लाख रुपियाँ राशिको ‘नइ ईश्वर बराल पुरस्कार’ डा.जीवन नामदुङलाई
* १ लाख रुपियाँ राशिको ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ डा.शान्ति क्षेत्रीलाई
०००

स्रष्टाहरूलाई सम्मान गरिनुको कारणः
केबी नेपालीलाई साहित्य सिर्जना र बिन्दु त्रैमासिकको सम्पादनका माध्यमबाट नेपाली वाङ्‍‍मयको श्रीवृद्धिका लागि विगत साढे छ दशकदेखि निरन्तर समर्पित रहँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली–गोर्खाली मूलका विदेशी नागरिकलाई मात्र प्रदान गरिन्छ ।

विशेष गरेर नेपाली गीतको गायनका लागि उच्चस्तरीय सङ्गीत निर्माण गरी देशदेशान्तरमा नेपाली भाषालाई जनप्रिय बनाउन अहोरात्र क्रियाशील रहेको भन्दै मुम्बई निवासी सङ्गीतकार रञ्जित गजमेरलाई सम्मान गर्न लागेको हो ।
नेपाली भाषासाहित्यको समालोचना तथा अन्वेषणमा समर्पित रही उत्कृष्टता हासिल गरेबापत प्रकाशनले दार्जिलिङका डा.जीवन नामदुङलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नेपाली साहित्यमा कविता, निबन्ध, कथा र समालोचना लेखनबाट आफ्नै आकाश निर्माण गरी प्रसिद्धि कमाएकी सिक्किम निवासी साहित्यकार डा.शान्ति क्षेत्रीलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइले जनाएको छ ।
नइ प्रकाशनको विधानअनुसार अन्तर्राष्ट्रियस्तरका सर्जकलाई दिइने पुरस्कार केबी नेपाली र डा.शान्ति क्षेत्रीलाई दिइएको हो ।
नेपाली साहित्य, गीतसङ्गीतलाई अन्तर्राष्ट्रियस्तरमा चर्चामा पुर्‍याउनु भएकोमा रञ्जित गजमेर तथा समालोचकलाई मात्र प्रदान गरिने पुरस्कार भारतीय समालोचकहरूमध्ये उत्कृष्ट समालोचकका रूपमा डा.जीवन नामदुङ गरी पहिलो पटक मुलुकबाहिरका २ स्रष्टालाई सम्मान प्रदान गरिएको नइ प्रकाशनका सचिव नरेन्द्र प्रसाइँले नवसाहित्य अनलाइनलाई जानकारी गराउनुभयो ।
०००

नइका नाममा हुलाक टिकट र सिक्का
२०८० सालमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा विभागले नइ प्रकाशनको लोगो अङ्कित १० रूपियाँको दस लाख प्रति हुलाक टिकट प्रकाशनमा ल्याएको छ । यस्तै २०७९ सालमा नइको रजतजयन्तिको अवसरमा नइको लोगोअङ्कित १ सय रुपियाँको १० हजार थान स्मारिका सिक्का नेपाल राष्ट्र बैंकले प्रकाशनमा ल्याएको छ ।

नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

तपाईँको विचार राख्नुहोस्

शेयर गर्नुहोस्

नवसाहित्य टेलिभिजन