- नवसाहित्य

संप्रस पौडेल
समाचार प्रमुखः नवसाहित्य
माघ २, बुधबार । सिस्नुपानी नेपालका अध्यक्ष एवं हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेको हास्यव्यङ्ग्य कृति ‘दलालशाला (निबन्ध सङ्ग्रह)’ प्रकाशनमा आएको छ । मञ्जरी पब्लिकेसनले बजारमा ल्याएको उक्त पुस्तक हास्यव्यङ्ग्यमा गाम्नागेको आठौँ कृति हो ।
झापाको गौरादहस्थित लेखकको निवास र दुबईको बुर्ज खलिफा टावरमा विमोचन समारोह सम्पन्न भएको लेखकले जानकारी गराउनु भएको छ । उहाँकी आमाको अस्वस्थताका कारण दुबईको भ्रमण रद्द गरी गृहनगर गौरादहमा लेखकसहित परिवारमार्फत् विमोचन गरिएको हो । यस्तै सप्ताहव्यापी ‘दुई थोपा हाँसो’ शीर्षकको चेतनामूलक हास्यव्यङ्ग्य कार्यक्रम लिएर संयुक्त अरब इमिरेट्सको भ्रमणमा रहेको सिस्नुपानी नेपालको समूहले विश्वकै अग्लो टावर बुर्ज खलिफाको १२५ औँ तलामा विमोचन गरेको हो ।
सिस्नुपानी नेपालका उपाध्यक्ष प्राज्ञ धीरेन्द्र प्रेमर्षि, उपाध्यक्ष तथा हास्य कलाकार मनोज गजुरेल, महासचिव टङ्कराज आचार्य, सचिव सरोज घिमिरे सदस्यहरू चक्र दवाडी एनआरएनए दुबईका अध्यक्ष विकास शाही, मध्यपूर्व प्रमुख रमेश श्रेष्ठ, समाजसेवी ठाकुर ढुङ्गाना, भीम मल्ल, मञ्जु पोखरेललगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हास्यकलाकार गजुरेललले जानकारी गराउनु भएको हो ।
मञ्जरी प्रकाशनद्वारा प्रकाशित पुस्तकमा १३८ छोटा निबन्धहरु सङ्ग्रहित छन् भने २८४ पृष्ठको पुस्तकको मूल्य रु ५६५।– रहेको छ ।
‘नेपाल’ पत्रिकामा लामो समय ‘झटारो’ स्तम्भ लेखेका गाम्नागेका छानिएका झटारोहरू यस पुस्तकमा सङ्ग्रहित छन् । जसलाई पुस २९ गते लेखक गाम्नागेको ६०औँ जन्मदिनको अवसरमा विमोचन गरिएको हो । भुटानको मेनाटारमा जन्मिनु भएका गाम्नागे दूरसञ्चार संस्थानबाट निवृत्त जीवन बिताइरहनु भएको छ भने यसअघि उहाँका घिटिकघिटिक बाँचेर शहरमा (व्यङ्ग्य कविता), लाठीचार्ज (व्यंग्य निवन्ध), कत्ति धुनु गधाहरूलाई (व्यंग्य निवन्ध), तीन न तेह्र (व्यङ्ग्य कविता), स्वाहा (व्यंग्य निवन्ध), पत्याउँदा पत्याउँदै (व्यङ्ग्य कविता), छोपछाप (व्यङ्ग्य निबन्ध सङ्ग्रह) हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशन भएका छन् ।
उहाँले पसिनाका पाइला (उपन्यास), बाँदरको पुच्छर (बालकथा), बाँदरको कोशेली (बालकथा), प्रिय चिठीहरू (चिठी संग्रह) समेत लेख्नुभएको छ भने थुप्रै पुस्तकहरू सम्पादन गर्नु भएको छ ।