पहिले पहिले
१८ किलो भनेर पक्रिएको
सुन हराउँथ्यो एयरपोर्टमा ।
आज,
नदीमा हराएको बस खोज्न ल्याइएको
चुम्बक हरायो ।
रातारात सरकार हराउँदा
हामीलाई पत्तो छैन ।
द्वन्द्वका नाममा घरमूली हराए
बोल्नसक्नेहरू बोल्दाबोल्दै हराए
‘करियर’ का नाममा युवा हरायो
सुविधाका नाउँमा गाउँबाट शिक्षक हराए
गाउँको कविता लेख्ने कवि (म) सहरमा हरायो
किसान योजना खेतसम्म नआइकनै योजना हरायो
पशु योजना गोठ नदेखी हरायो
प्रमाणपत्रले ऋण पाउने योजना मन्त्रीसँगै हरायो
नाथे सरकार जहिल्यै हराएका हरायै हो,
सरकार त हरायो हरायो
आजकल मुद्दाको प्रकृतिअनुसार
दिनदहाडै प्रतिपक्षी पनि हराउन थालेको छ ।