साहित्यसेवी मुक्तीगोविन्द वैद्यले पुस्तकालयका लागि सहयोग गर्नु भएको छ । १८औं पुस्तकालय दिवसको अवसरमा हेटौँडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालयका लागि एक सेट कम्प्युटर सहयोग गरिएको हो ।

आइतबार पुस्तकालय परिसरमैँ आयोजित एक कार्यक्रमबिच वैद्यले पुस्तकालयका अध्यक्ष डीबी बर्तौलालाई कम्प्युटर हस्तान्तरण गर्नुभएको छ । पुस्तकालयमा रहेका पुस्तकहरूको अभिलेख राख्ने र नियमित कामका लागि सो कम्प्युटर उपयोग गरिने अध्यक्ष बर्तौलाले बताउनुभयो । शनिबार समेत खुल्ने पुस्तकालयमा अन्य पाठकहरूका साथै आयोग परीक्षाका तयारी गर्ने विद्यार्थीहरूको उपस्थिति बाक्लो हुने गरेको र सोका लागि आवश्यक लोक सेवा, शिक्षक सेवा लगायतका आयोग तयारीका पुस्तकहरू आवश्यक रहेको जानकारी गराउनुभयो ।

२०४९ सालमा स्थापित पुस्तकालयलाई साहित्य सङ्गम मकवानपुरले हेटौँडा उपमहानगरपालिकाको सहयोगमा व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ ।