[दृश्यः शानदार खाटमा सुरुवाल माथि स्याहारेर पल्टिरहेको मालिक, तल भुइँमा बसेर मालिकको गोडा मालिस गरिरहेको दास । खाटमुनि अलि पर तेलको कचौरा । ख्वामित र ख्वामितका दासबिचको वार्तालाप]
०००
भरौटेः मालिक, मारिनेका दोष मर्नेलाई नै लगाइदिऔँ ।
मालिकः यो कुन नयाँ भयो र भरौटे ?
भरौटेः मालिक, हामीले नयाँ त के पो दियौँ र ? हजुरको जो निगाह भो उही न मान्यौँ ।
मालिकः AI भनेको थाहा छ ? त्यसका कारण हो भनिदिनुपर्छ बुझिस् ?
भरौटेः सबैले त्यही भन्छन् । पल्ला मालिकले पनि त्यही पो भने । बेलाबेला हामीले पनि भन्ने गरेकै छौँ । खासमा यो के हो ख्वामित ?
मालिकः यो त पखेटै नभाको चराको नाम हो पाजी ।
भरौटेः त्यो त थाहा भएन तर हे माधव हजुरले ‘पाजी’ भनेर पुकार्दा म गदगद् पो भएँ ।
मालिकः मेरो प्रिय दास, ल भन् त खास कुरा के हो ?
भरौटेः त्रिकालदर्शी प्रभु, हजुरले हजुरले फलानालाई ‘पाजी पाजी’ भन्दाभन्दै ३ वटा देशको राजदूतका लागि तथास्थु दिइबक्स्यो । पछि बोलाएर अर्कै पाजीको आयोग निरीक्षण गर्ने जिम्मा लगाइबक्स्यो । भान्छा हजुरको भए पनि भान्छे हजुरले उसैलाई बनाइबक्स्यो ।
मालिकः (कानमा गायत्री मन्त्रझैँ फुस्फुसाउँदै) अहिलेलाई जसले जे सोधे पनि यति बोल्नू । सञ्जालमा यही लेख्नू । घरका न बाहिरका सबैलाई यही भन्नु पाजी ।
भरौटेः मालिक पहिले गोडा मालिस गरेकै थिएँ तर अर्को पाजीले तेल पनि लगाएकोले हजुरको वरदान साबित भयो । खै तेलको कचौरा कता छ प्रभु ? (भुइँमा बसेको दास, खाटमुनि पस्छ ।)
यो लेख AI बाट तयार गरिएको होइन । जदौ ।
(लेखक पौडेल सिस्नुपानी नेपाल मकवानपुरमा आबद्ध छन् ।)
