खुसीले मेरो धोकोको बाटो त पाउन देऊ
जसले जे दिएको छ, त्यसलाई त्यहीँ फिर्ता दिने छु
बस् ! सही समय त आउन देऊ ।
सबै खुसी तिम्रf पाउमा हुने छन् आमा
धैर्य गरी मलाई पैसा कमाउन त देऊ
अहिले हाम्रो समय राम्रो छैन आमा
अरुलाई केही समयको लागि रमाउन त देऊ ।
खोजी ल्याउने छु हराएका ती सारा सुखहरू
याद छ, मलाई अफ्ठेरोमा साथ छोड्ने ती सारा मुखहरू
अब म आफन्त छन् भन्ने झुटो आशको साथ लिन्न
अफ्ठेरोमै हो आफ्नो अर्का चिन्ने
त्यसैले म यो समयलाई केही दोष दिन्न ।
कमाइ गर्नेबित्तिकै म मान्छे नै नरहने त होइन नि
तिम्रो अपमान गर्ने आफन्तलाई आमा
म फिटिक्कै मान्छे गन्ने छैन
छोरी पो जन्मिछे भनेर बिगार्ने ती मुखहरूलाई
भगाउने छु तिमीलाई सताउने ती सारा भूतहरूलाई ।
सुखका दिनहरू पक्कै आउने छन् आमा
समयलाई समयकै तरिकाले घुमाउन सिकेपछि
म पनि हेर्दै जाने छु अफ्ठेरोले तिमीलाई कसरी छुन्छ ?
मैले मेरो प्रगतिको लक्ष्मण रेखा तिम्रो वरपर छेकेपछि ।
म निरन्तर प्रयास गर्दै छु आमा
एकचोटि समयको खेललाई सिक्न त देऊ
सुख कसो नआउला र आमा त्यसपछि
आफ्नो भाग्य आफ्नै कर्मको कलमले लेख्न त देऊ ।
ममाथि अनेकन प्रश्न गर्नेहरूलाई छाडिदेऊ
ती प्रश्नहरूसँग मलाई लगाव हुने छ
आखिरमा उनीहरूको निम्ति आमा,
मेरो प्रगति नै सारा प्रश्नहरूको जवाफ हुनेछ ।
श्री महेन्द्र मा. वि., कक्षा १०, बकैया– ४, मकवानपुर
