भोजपुर जिल्ला दोभाने जन्मस्थान भई हाल मोरङ जिल्ला सुन्दर हरैँचा न. पा. ४ निवासी गजलकार सृष्टि सावित्रा कविता, गजल, मुक्तकलगायतका विधामा सक्रिय हुनुहुन्छ । उहाँ संयुक्त आवाज परिवर्तन समाज, धनकुटा बहुमुखी क्याम्पसलगायतका सङ्घसंस्थाहरूबाट पुरस्कृत सम्मानित भइसक्नुभएको छ । उहाँका ‘अन्तर्बोध’ संयुक्त गजल सङ्ग्रह– २०८०, ‘सहयात्री’ संयुक्त गजल सङ्ग्रह– २०७५ लगायत सङ्ग्रह प्रकाशित भएका छन् ।

कति होलान् कति यहाँ आरोप लगाउने मान्छे
एउटा बा, अर्की आमा छिन् सधैँ सम्झाउने मान्छे ।

म जस्तै पीडामा छ त्यो बगैँचाको फूल पनि
आफैँ  चुडाउन आउँछन् आफैँ हुर्काउने मान्छे ।

कम से कम म त खुसी छु भगवान्को मूर्तिसँग
जीवनभर पीडामा देखिन्छ मूर्ति बनाउने मान्छे ।

उसलाई बचाउने एक ज्वलन्त उदाहरण म छु
उही दिन मरेछ मलाई रगत दिएर बचाउने मान्छे ।

बटुवालाई बाटो देखाउँछन् अझै मेरो गाउँमा
यो सहरमा आफैँ हरायो भेट्न बोलाउने मान्छे ।

सृष्टि सावित्रा