हामी क्रान्तिको बाँकी अभिभारा पूरा गर्न बिल्कुलै फरक प्रक्रियाबाट अघि बढिरहेका छौँ । यो प्रक्रियामा हाम्रा बारे वास्तविक जनतामा विभिन्नखाले भ्रम र आशङ्काहरू छन् जुन हामी तत्काल निवारण गर्न सक्दैनौँ । हाम्रो जीवनको वास्तविकता यही नै हो, जुन कुरा हामी दमका साथ भन्न सकिरहेका छैनौँ या कन्जुस्याइँ गरिरहेका छौैं । त्यो शोधकर्तालाई नै जिम्मा दिएर पन्छौँ जुन अहिलेको लागि उत्तम होला । यो पनि जिम्मा दिऊँ कि भोलि हामी यो कुरालाई यो प्रक्रियाद्वारा पार लगाउन सक्छौँ या सक्दैनौँ ?
पार्टी केन्द्रले स्थान किटान नभए पनि माघ २० गतेबाट महाधिवेशन गर्ने निश्चित भएको र क्षेत्रीय भेलासम्मका लागि कार्यविधि तय गरिसकेको अवस्थामा हामी तत्काल गाउँ कमिटी गठन प्रक्रियामा दौडिरहेका थियौँ । त्यो सिलसिलाले हामीलाई आग्रा पुर्याएको थियो गर्मी याममा पनि चिसो हुने त्यो ठाउँमा ।
हामी निकै असहजतापूर्वक पुगेका थियौँ त्यहाँ । जति हामीलाई जान बाटोहरू खुला थिए । हामी पीडा र बाध्यतामा पुगेका थियौँ । यी सबै आफ्नै भित्रको नकारात्मक खेल र झेलले हुँदा हुन पुगे । जति त्यहाँ आनन्द र आकर्षक प्राकृतिक सौन्दर्यको छटाले हामीलाई स्वागत गरिरहेको थियो सायद हामी त्यति खुसी साट्न सकिरहेका थिएनौँ हामी ।
भोलिको कार्यक्रम आज ३ बजे थाहा भयो जब हामीलाई पुग्न गाडीको यात्रामा पनि ८ / १० घन्टा लाग्छ । तैपनि हामी कस्सियौँ जानका लागि । त्यो कति वैज्ञानिक र वस्तुवादी योजना थियो हामीलाई थाहा थियो । त्यो पौषको कठ्याङ्ग्रिदो जाडोको बेला तीन हजारमाथिको उचाइमा मोटरसाइकलमा हुइँकिने यात्रा । केवल साहसले त्यसलाई अनुकूलतामा बदल्न सकिन्थ्यो । कमरेड मधु र क. जीवनको सहयोगमा म, रामहरि दाइ, जीवन र सौगात हानियौँ बल्लतल्ल ६ बजेतिर पौषको त्यो चिसो सिरेटोलाई बेवास्ता गर्दै हेटौँडाबाट । हेटौँडाको सडकमा समेत चिसिएको हावा दामन र सिमभन्ज्याङमा कति उत्ताउलिएको थियो होला सहजै अनुमान गर्न सकिन्छ तर बाध्यताका अगाडि समस्याहरू स्वाभाविकतामा बदलिँदा रहेछन् । नियमहरू पनि आफैँ बदलिँदा रहेछन् बेनियममा या अपवाद बनेर कहिलेकहीँ । किनकि नियमहरू आआफ्नै आवश्यकता र अनुकूलताहरूले अभिप्रेरित हुन्छन् । सायद त्यो क्षण त्यो प्रतिकूलता केवल प्रकृतिको नियम थियो तर त्यसलाई हामी सहर्ष स्विकारेर अगाडि बढ्न तयार भएका थियौँ न कि आत्मसमर्पण गर्न ।
हेटौँडा हुदै अँधेरीका धब्बाहरूले छेकेका हाम्रा बाटाहरू मोटर साइकलका प्रकाशले चिर्दै हामी आधुनिक स्पार्टाकस बनेर निस्केका थियौँ संसार उज्यालो बनाउन अर्थात् आफ्नो कार्यक्षेत्रभित्र गलत रबैया अपनाएर हामीलाई पङ्गु पार्न खोज्ने अनि हमेसा आफूलाई नै सर्वेसर्वा देखाउने र गुटगत मानसिकतामा लबिङ गर्ने उद्देश्यले गरेको झेलको विरुद्ध थियौँ हामी । यो कुनै अशङ्काको भुँमरीभित्र उकुसमुसिएर भनिरहेको कपोकल्पित कुरा होइन ।
सिमभन्ज्याङगमा पुग्दा हाम्रा खुट्टाहरू करिब नचल्ने अवस्थामा पुगिसकेको थियो । तर मलाई थाहा भएन कि मेरो बाइक ड्राङभिङ गर्दै गरेका कमरेड सौगातले कसरी गरे । हामी बतीतिको उज्यालोमा चिया खान बस्दै गर्दा आँखाहरू राता भएका थिए । रामहरि दाइको त झन् हरिबिजोग । हातहरू सुन्निएको देखाउँदै थिए जीवन र सौगात । हामी युवा भनिएकाको जति हालत खराब भएको थियो त्यो भन्दा बढी ५० नाघेका बुढा दाइको हुने कुरा स्वभाविक थियो । तैपनि भलाकुसारी गर्दै खायौँ चिया र नास्ता ।
समयले नेटो काटिसकेको थियो । रातको नौ बजिसकेको थियो त्यहाँ बस्दा बस्दै । यताउता गरेर बस्ने बासको व्यवस्था मिलायौँ क. आदर्शसँग विशेष सल्लाह गरेर । आकस्मिक यात्रामा तयार गरेको व्यवस्थापन सहजै हुने कुरा नभए पनि गयौँ घर्तीखोला आदर्शजीको घरमा । मिठो खाना खायौँ र आराम गर्यौँ ।
हामीलाई इमानले हो वा बेइमानले यकिन गर्न समय पर्खनै पर्ला तर हाम्रो यात्रा खराब नियत र प्रवृत्तिको विरुद्धमा हो भन्ने कुरामा भ्रम राखेका थिएनौँ ।
अहो कति चिसो पानी पालुङको, न मुख धुन सकिन्छ न त ट्वाइलेट पखाल्न सकिन्छ । हुन त मरिहाल्ने पनि थिएन । त्यसो त नित्य कर्म गर्न हारेनौँ पनि ।
नजिकैको पसलमा चिया खाएर हामी डाँडाबासतिर लाग्यौँ । त्यहाँ भीमराजजीको व्यवहारले त के खोज्छस् फलानो आँखा भने जस्तै गरायो झन् । त्यो कुनै स्वभावको कुरामा सीमित राख्न मिल्नेगरी थिएन । लु खा त भने जस्तै गरिरहनुभयो । अन्जानवश हो भन्ने त हुँदै होइन । यसरी ठोकुवा गरिहँदा सङ्कीर्णता देखाए भन्ने जस्तो पर्नु अस्वाभाविक नहोला तर वास्तविकता त्योभन्दा विल्कुल फरक थिएन ।
हामी कार्यक्रमस्थल तिर झर्यौँ मौसमी बाटोको सहारामा । कचीचि बाटो भएकाले मिटर मिटरमा जोखिमहरू थिए । हामीलाई यात्रामा गफ गरेर हिँड्न सम्भव थिएन बरु पछाडि बस्नेले चढ्ने र ओर्लिने गर्नु पर्थ्यो ।
माथिबाट लामीचौर रमाइलो देखिँदै थियो । हामी त यता कति बसेको नि दाइ भन्दै थिए जीवन ।
राम्रै जानकारी रहेको भावमा उनले मलाई बाइक रोकेर औँलाले ठाउँहरू देखाउँदै भौगोलिक परिचय गराए ।
ऊ त्यो काभ्रे खोला, त्यो उतपट्टि महादेवबेसी पर्छ । त्यो नौ डाँडा । त्यहाँ हाम्रो पोस्ट थियो । ऊ जानकारी गराउँदै गयो मानौँ उसको दिमागमा त्यो अतीतको रिल फिलिमको पर्दा झैँ चल्न थालेको छ एकपछि अर्को गर्दै । एक दिन हामी त्यो डाँडामा बसेका थियौँ काकाकोमा, सेनाको घेरामा पर्यौँ । धेरैले घेरा तोडे पनि दुई जनाको सहादत भयो । प्रकाश र दीक्षा बहिनीलगायत चार जनाको । बालबालले बाँचेका थिए धेरै जना । हामी पनि कसरी बाँच्यौँ थाहा छैन हामीलाई । अहिले सम्झिँदा पनि आङ सिरिङ्ग भएर आउँछ ।
म उनले भनेको सुन्दै बाइकको यात्रामा रहँदा भोलि त्यहाँ जाने निधो गरेँ र भनेँ जीवनलाई पनि । म त्यो घटनालाई मेरो डायरीमा सजाउन चाहन्थेँ । त्यो बेलाको चालु पोस्ट रहेछ त्यो । धादिङ-मकवानपुर, मकवानपुर-काठमाडौँ गर्दाको सम्पर्क कार्यालय । सुनाउँदै थिए कति विष्फोटक पदार्थ लुकाइराखेको रे त्यतिखेर । कति बसेका रे त्यहाँ ।
कार्यक्रममा उपस्थिति जनाइयो । कार्यक्रममा सोनमसिं मुक्तान अध्यक्ष, सचिवमा दीपक थिङ चयन भए सर्वसम्मतिले नौ सदस्यीय कार्यसमिति बन्यो ।
हामी कार्यक्रम सकेर त्यतै हानियौँ बाइकमा । दुईवटा बाइक थिए हामीसँग । मान्छे त उही चार जना म, रामहरि दाइ, जीवन र सौगात । त्यो आग्रा वडा नम्बर नौ नौडाँडामा पुग्यौँ, काकी प्रेमकुमारी सिलवाल, काका रामशरण सिलवालको घरमा । छोरीहरू त्यस्तै बोलक्कड । हामी सँगै गएका सबै भाइहरूलाई चिन्दा रहेछन् । कति रमाए उनीहरू । एउटै घरको सन्तान जस्तो कस्तो मजाले गफिए । मानौँ उनीहरु सानैमा बालुवा खेल्दा, भाँडाकुटी खेल्दादेखिकै साथी हुन् लामो समयपछि भेट भएका । कति एउटै थालमा खाएको, मुखमा लाँदै गरेको गाँस पनि खोसी खाँदा ठुस्केकी रे अझ । त्यो अन्तरङ्ग कुराकानी चलिरहेको थियो ।
घटना, २०६९ चैत्र ०६ गतेको । जुन सम्झिँदै आङ जिरिङ्ग हुन्छ सबैको । हामी तिनै ठाउँहरू हेर्न थाल्यौँ । तल डिलमुनि आग्रा खोला, उत्तर डाँडागाउँ, दक्षिण चल्ती, पूर्व बसेरी, पश्चिम बाहुन डाँडा । सेनाले तीनतिरबाट घेरा हालेको भिरपट्टिको भाग छोडेर । शाही सेनाद्वारा रमेश कार्की (थाक्रे— १, रानीबारी, धादिङ), बाटुमाया पाख्रिन कमरेड अन्जु (राईगाउँ— ८, मकवानपुर) लाई त्यही मारिएको रहेछ । भाग्न त सफल भए तर आग्रा खोलाको पारि आमने सामने पर्दा निसाना गरी गरी मारेका रहेछन् प्रकाश रानामगर कमरेड किरण (आग्रा— ३, बसेरी, मकवानपुर) लाई र कमरेड दीक्षा (भैँसेखानी, नामटार, मकवानपुर) लाई । घाइते अवस्थामा पनि भाग्ने कोसिस गरेका रहेछन् दिउँसोको त्यो घेराबन्दी शाही सेनाका अत्याधुनिक हतियारको अगाडि ती निहत्था योद्धाहरूले । घेरा तोडेर भाग्नुको विकल्प थिएन तर उनीहरू गोलीको सिकार भए । उनीहरूकै स्मृतिमा त्यहाँ चौतारी बनाइएको रहेछ । हँसिया हथौडा अङ्कित रातो झन्डा फहराइरहेको थियो, बसेरीको बारी पुच्छारमा ।
म कल्पनामा डुब्न थालेँ आफ्नो गाउँको पारि बसेको मान्छे दुस्मनको घेरा तोडेर अघि बढदै गर्दा आँगनछेउको करेसाबारीमुनि क्षतविक्षत भएर ढलेको लास देख्दा परिवारका बुबाआमा, दाजुभाइ र दिदीबहिनी अनि साना लालाबालाहरूलाई कस्तो भयो होला । कयौँ पटक बन्दुक र बम पड्केको सुन्दा मेरो बाबुलाई केही नहोस् भनेर कामना गर्ने मन कस्तो छिया छिया भयो होला ? आफ्नो घरछेउमा दुस्मनले आफूतिरै फर्काएर पड्काएको बन्दुकले आफ्नै सन्तानको प्राण लिनुपर्ने ,जहाँ आफू प्रत्यक्षदर्शी छन् । कति कामना गरेका थिए सबैले तर ? नाबालक सन्तानको आँखाअगाडि क्षतविक्षत भएर ढलेको । खाउँला र लाउँलाको भर्भराउँदो त्यो उमेरमा सिउँदोको सिन्दुर पुछिएको छ सँगिनीको । नाबालकमै टुहुरो सन्तान पनि । देशको नाममा, जनयुद्धको नाममा मृत ढलिरहेको छ कहिल्यै नउठ्ने गरी । पाइला चाल्दै नचाल्ने गरी । त्यो बेलाका दर्दानक पीडाहरू र कारुणिक चित्कारहरू … … … … उफ् ! सम्झदै मनभित्र असन्तुलित ज्वारभाटा चल्छ वर्ग दुस्मनका विरुद्धमा । तर अहिले हामी घाँटी जोडर बस्नु परिरहेको छ । कल्पनाभित्रको अकल्पनीय यथार्थ हाम्रो जिन्दगी भएर दौडिरहेको छ ।
हामीलाई राम्रै सम्मान गरे । सत्कार गरे । पठ्याङ्ग्री काटेर मासुभात ख्वाए । हामीलाई उनीहरूको छोरा जस्तै माया दिइरहेका थिए । विगतका ती तितामिठा कुराहरू सम्झी सम्झी कुरा गर्थे । कहिले हाँस्थे । कहिले भावुक हुन्थे । अनि गुनासाहरू थिए उहाँहरूका पनि । आफूहरूलाई भएपछि हामीलाई त कहाँ वास्ता गर्दारहेछन् र ? हामी त उही तिमीहरूलाई सम्झिने मात्र । तिमीहरू आआफ्नो बाटो लागि हाल्यौ । एउटी आमाले छोरासँग गुनासो गरिरहे जस्तो । सिङ्गो पार्टीसँग गुनासो पोखिरहेका थिए उनीहरू । अब पार्टीले गरिब जनताका निम्ति केही गर्न नसक्ने भो । अब गाउँ छोडेर सहर पसिहाले । दुख गर्ने बेलामा हामीले गर्यौँ । अहिले सहरका धनीमानीहरू नभएसम्म नचल्ने भो पार्टी पनि । उनीहरूकै जिउहजुरी र चिल्लामिठा कुरामा भुलेर हामीलाई नै अन्याय गर्ने हुन् । ठिकै छ अब जे हुनु भइसक्यो । तर आज यहाँ आएकोमा हामी खुसी छौँ हामी ।
आम जनताको गुनासो जस्तै उहाँहरूको गुनासो जायज थियो । हामी साँच्चै बिग्रेका थियौँ नै, हामी प्रस्ट थियौँ सायद हामीसँग बाइक नभएको भए हाम्रो यात्राले त्यो आदरणीय काकाकाकीसँग भेट हुँदैनथ्यो । हामी हिँडेर पक्कै जाँदैनथ्यौँ होला । हामी लोभीपापी र सुविधाभोगी भएकै थियौँ ।
हिजो आफ्नै सन्तानलाई झैँ गरेर गाँस र कपास काटेर दिने आमाबाहरूको यत्ति धेरै गुनासो हामीसँग । म आफैँमा अधीर मान्छे, त्यसमाथि अब पार्टीले त हाम्रो कुरा पनि त कहाँ सुन्ने गर्थ्यो र ? हामीले बोलेको कुकुरले पादेको जति पनि हुन छाडिसकेको थियो अनि त जनताको के कुरा ? ती आदरणीय काकाकाकीको के कुरा ? तर पनि हामी नेता कार्याकर्ताको हिसाबले पार्टीले भनेबमोजिम ढाँट्न जाने मात्रै इमान्दार र बफादार कमरेडको रूपमा मूल्याङ्कन पाउने बानी परिसकेकोले हामीले पनि सक्दो ढाडस दियौँ ।
पार्टी निरन्तर क्रान्तिमै छ । पार्टीले एजेन्डाहरू छाडेको छैन । पेरिसडाँडा कम्पनीबाट उत्पादित ती रेडिमेड कुरा मिलाई मिलाई बोल्यौँ । भलै त्यसमा कतिको सत्यतथ्य थियो मलाई पूर्ण ज्ञान थिएन । आधारभूत रूपमा र मनोवैज्ञानिक रूपमा हामी भत्किसकेका त थिएनौँ तर हामी बिग्रेकै थियौँ । जोखिमपूर्ण यात्रामा अघि बढ्दै गर्दा जता निकास त्यही विकास जस्तो घुमिघुमाउ बाटाहरूमा रुमल्लिरहेका थियौँ ।
हामी फर्क्यौँ । नयाँ बाटो भएर आउनु पर्दा केही सास्ती पनि बेहोर्यौँ । कहिले बाइकले बोक्यो । कहिले बाइकलाई बोक्यौँ । वरिपरिका दृष्यहरू जति रमणीय थिए, त्यो महसुस गर्न सकिरहको थिइन म । पार्टी फुटको राप, लाइन सङ्घर्षको राप, त्यसमाथि ती काकाकाकीका रापिला यक्ष प्रश्नहरूले निरन्तर झस्काइरहेका थिए ।
व्यवहारमा खारिएको मान्छेको अनुभव पढेलेखेको मान्छेको ज्ञानभन्दा सयौँ गुना शक्तिशाली हुन्छ । ती क्रान्तिलाई हतियारविहीन भएर पनि आफ्नो थलो नछोडेर आमनेसामने वचनयुद्ध गरेकाहरू भीषण मोर्चाको अग्रभागमा लड्ने हतियारधारी लडाकुभन्दा कति सहासिक लाग्छ मलाई । अन्तिम क्षणसम्म उनीहरू दुस्मन आए भनेर भाग्दैनन् आफ्नो घर छाडेर । तीन दिनकी सुत्केरी, सत्तरी बर्से आमाहरू, सात बर्सेषे नानीहरू सामूहिक बलात्कारको सिकार बन्दा र जिउँदै गुप्ताङ्गमा लट्ठी कोचेर दुई चिरा पारेर मारिँदा पनि निर्भीकतापूर्वक सामना गरिहन्छन् दुस्मनका कुकृत्यको । हो, तिनै सहासिक मान्छेहरू जो हामीभन्दा पाका छन् । उनीहरूले भित्री हृदयदेखि सबै कुरा गरे । ता कि ती कुराहरू पेरिसडाँडाले सुनोस् । बुद्धनगरले सुनोस् । लाजिम्पाटले सुनोस् भनेर । पार्टीको लागि यस्तो कुरा लिएर गए घामट मान्छे र अराजक कार्यकर्ताको उपमा दिन थाल्छन् । त्यसैले मनमनै भनेँ काकी तिमीले भनेको कुरा नै सही हो । मैले फत्तुर कुरा गरेर तिम्रो समय बर्बाद गरेँ सरी ल । नरिसाउनू है । तर तिम्रोको कुरा हामी हजारपटकसम्म भनिरहने छौँ जबसम्म उनीहरूले सुन्दैनन् ।
हामी पनि क्यान्टोनमेन्टबाट भर्खरै सरकारी भाडा लिएर सबै खरखजना बुझाएर आएका हौँ । बुझायौँ माथिकै आदेशमा । हिजो खोसेको थियौँ माथिकै आदेशमा । यो माथिको चिजमा रहस्य र भ्रम नै धेरै हुँदोरहेछ । हाम्रो त केही गल्ती छैन । हामी नि तिमी जस्तै हो काकाकाकी । जाऊँ सँगै बरु हाम्रा प्रश्नहरू, जिज्ञासाहरू , चिन्ताहरू, पीडाहरू, वेदनाहरू र सल्लाहसुझावहरू माथिकालाई दिऊँ र खबरदारी गरौँ । नत्र हामी कहिले बाइकले बोक्ने कहिले बाइकलाई बोक्ने जस्तै यात्राले हामी लक्ष्यमा सुरक्षित पुग्न धेरै चुनौतीहरू देखिएका छन् । हाम्रो चुनौती हामीले नै सामाना गर्ने हो । हाम्रो लागि हामीले नै गर्ने हो । हाम्रो लागि र हाम्रो उपलब्धि बचाउन हामी नै जाग्नुपर्छ । तब मात्र पुस्तान्तर गर्न सकिन्छ केवल उत्तर नपाएका प्रश्नहरू नै किन नहुन् !
