३२ साउन २०८०
नवसर्जक साहित्य चौतारी नेपालको १४ ओैँ मासिक शृङ्खला भर्चुअल माध्यम (गुगल मिट) मार्फत सम्पन्न भएको छ ।
चौतारीकी केन्द्रीय अध्यक्ष प्रसन्ना चौलागाईँको अध्यक्षता एवम् चौतारीका सुदूरपश्चिम प्रदेशका संरक्षक तथा अग्रज साहित्यकार रामचन्द्र नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतमको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै चौतारीका केन्द्रीय सल्लाहकार डिबी बर्तौला, वाग्मती प्रदेश सल्लाहकार शान्ता दाहाल, साहित्यकार देवराज तिवारी, चौतारीकी संस्थापक उपाध्यक्ष कृतिका लौडारीको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विशेष रचना वाचकको रूपमा सहभागी केन्द्रीय उपाध्यक्ष एवम् वाग्मती प्रदेश संयोजक उषाकिरण अधिकारीले आफ्ना प्रतिनिधि पाँच गद्यकविता वाचन गरेकी थिइन् ।
कार्यक्रममा चौतारीकी अध्यक्ष प्रसन्ना चौलागाईँ, वरिष्ठ उपाध्यक्ष विभूति अधिकारी, महासचिव समर्पण न्यौपाने, सुदूरपश्चिम प्रदेशका सचिव प्रकाश बडुलगायतले कविता वाचन गरेका थिए भने पठन संस्कृति प्रबर्द्धनका क्रममा नवसर्जक प्रेरक गौतमले शान्ता सिम्खडाकृत कथा सङ्ग्रह ‘प्रेरक कथाहरू’ को कृति समीक्षा प्रस्तुत गरेका थिए ।
डेढ दर्जन नवसर्जकको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण चौतारीका महासचिव समर्पण न्यौपानेले गरेका थिए । चौतारीले हरेक महिनाको अन्तिम शनिबार नियमित मासिक शृङ्खला आयोजना गर्दै आएको छ भने समयसमयमा विधाविशेष प्रशिक्षण अभियानका साथै प्रादेशिक एवम् राष्ट्रिय बालसाहित्य उत्सव आयोजना गर्दै आएको छ ।