पादको शाब्दिक र दार्शनिक परिभाषा

काम लगभग सबै देशमा उस्तै भएता पनि पादलाई संस्कृतमा अपान वायु, नेपालीमा पाद र अंग्रेजीमा Fart वा आउटवार्ड ब्रेथ भनिन्छ । मेडिकल भाषामा ‘Flatus’ भने पनि आजकाल ‘ग्यास’ भनेर सजिलो उच्चारण बनाइएको पाइन्छ ।

पूरानो उखान छ अन्न खाई बन्न हुन्न, पाद्‍या कुरा भन्न हुन्न । यसैले यो काम सबैबाट भयो तर कुरा सँधै गोप्य राख्ने कोशिस गरियो । तथ्यले के भन्दोरहेछ भने एउटा मान्छेले दैनिक औषतमा १५ पटक पाद्‍ने रहेछ ।

हाइ गर्नु, हाछ्युँ गर्नु, डकार्नु, आँखा झिम्काउनु, पाद्‍नु आदि सामान्य शारीरिक काम हुन् । कुनै कार्यक्रममा लामोभन्दा लामो भाषण, प्रवचन, गफाडीको गफ सुन्नुपर्दा हाइ आउँछ । बुढापाकाले त हाइ एउटाबाट अर्कोमा सर्छ पनि भनेका छन् । त्यहाँसम्म त ठिकै भयो कार्यक्रममा पाद आउनुचाहिँ चानचुने कुरो होइन ।

पादलाई उच्चस्तरीय भाषामा अपान वायु पनि भन्छन् । जसरी हुलमुलमा आफूले वायु छोडेको स्वीकार्दैनौं उसैगरी हामी यसबारे बहस स्वीकार गर्न तयार भने छैनौं । शाष्त्रअनुसार वायुका ५ प्रकार व्यान, समान, अपान, उदान र प्राण रहेका छन् । जसमध्ये प्राणवायुको महत्वबारे एकै हरफमा भन्नुपर्दा हामी यसोसम्म भन्न सक्छौं- नाकैनिर मिटर जोडेर सरकारले कर लगाए पनि हामी प्राण वायुमा कुनै कन्जुस्याईँ गर्न सक्दैनौं । आज प्रकारबारे सप्रसङ्ग व्याख्या गर्ने होइन, बरु अर्को प्रकार अपान वायु बारे नै चर्चा हुने तपाईँले पत्तो पाइसक्नु भयो ।

कसैले यो लेख लेखेर जीवनभरको लेखन नै ध्वस्त बनाइस् भन्छ भने मलाई ध्वस्त हुनुमा जति मज्जा अरू केहीमा लाग्दैन भन्न चाहन्छु । अर्थात् कसैलाई सुध्रन मन लागे आ-आफैं सुध्रने हो । दुनियाँ सुधार्ने ठेक्का कसैले लिएको छैन ।

कसैले थर्ड क्लास (न्यून तहको) लेख भन्छ भने पनि योभन्दा तल झरेर अर्को लेख्न चुनौति दिन चाहन्छु । केही गरे लेख्न नछोड्ने भयो भने पछि तपाईँले पढ्न पनि त छोड्नुहुन्न होला भन्ने आशा पनि हो ।

पाद बारे दार्शनिक भनाईहरू पनि पाइएलान् । अरूका भनाई पढेर आफ्ना सिद्धान्तलाई पछि पार्नु कत्तिको जायज हो भन्ने प्रश्न छोड्दै यो आलेख पूर्णतया पाद दर्शनमा आधारित रहेको विश्वास दिलाउँन चाहन्छु । कतै हाइड्रोजन सल्फाइडको ‘प्रेसर’ बारे हामीले लेख्नै डरायौं कि !

अब बहस छेडौं पाद पहिला कि हाँसो ?

कसैकसैलाई लाग्दो हो पाद र हाँसोमध्ये पहिलो आविष्कार कुन भएको होला । तपाईँ जे भन्नोस् मेरो जिकिर छ पहिले पादकै आविष्कार भएको हो । एउटा मुख बन्द गरेर बसेको मान्छेले पादेको ठूलो आवाज अर्कोले सुनेपछि मुख बन्द गर्दा पनि कराउँन सक्दोरहेछ भनेर मुर्छा पर्दै हाँसेकोले हाँसो दोश्रो नम्बरमा परेको हो । यसैले तपाईँ जति पनि हास्यव्यङ्ग्य सुन्नोस्, हेर्नोस् त्योभन्दा जेठो पाद नै हो । भलै हाँस्यव्यङ्ग्यको झैं पादको कुनै प्रतिष्पर्धा भने हुँदैन ।

पादको कार्यक्षेत्र

कक्षामा एउटा विद्यार्थीले नाक थुन्न थालेपछि अरू थुप्रैले थुन्न सुरू गरिहाल्छन् । पहिलोचाहिँ उही पदुवा हुन्छ । बाँकीले उसलाई शङ्का गर्ने कुरै भएन । यसैले शिक्षक वा विद्यार्थी भएर पढ्दै हुनुहुन्छ भने कक्षामा बेन्च सार्दा क्वाइयँ गरेको आवाजमा पनि विद्यार्थी हाँसेका भए तपाईँलाई थाहै छँदैछ ।

कहिलेकाहिँ जोडसँग कराउँदा पनि पाद फुस्कन्छ । यसैले विशेषतः बच्चाका आमाहरू, ऋण दिने आसामीहरू, वीर रसका कविहरू, राजनीति गर्ने र प्रवचन दिनेहरूले बिस्तारै बोल्दैमा नै फाइदा हुन आउँछ । अझै भनुँ भने यदि म डाक्टर हुन्थेँ भने पेट दुखेको बिरामीलाई घण्टी जति बजाए पनि हुने तर शङ्ख बजाउन नहुने सल्लाह दिन्थेँ । डाक्टरले के गर्छन् कुन्नि !

पादको ऐतिहासिक यात्रा

नेपालमा एउटा उखान प्रचलित छ- उसै त बुहारी भटमास खाएकी । आजकाल यस उखानलाई महिलालाई हेपेर बनाइएको भनेर बर्जित गरिएको पाइन्छ । अरको उखान छ- मुला खाएर वन पस्नु । मुला खाएपछिको पाद हिटलरको ग्यास च्याम्बरभन्दा घातक हुन्छ नै । अनि पो सुरू हुँदोरहेछ पादको यात्रा । अर्थात् भनौं नजन्मिँदै सुरू हुने पादको कथा…..  ।

भगवानका पालामा मयलबाट मानिस बनाउन सकिने थियो अरे। उतिखेर पादबाट पनि केही न केही त बन्थ्यो होला । सिरियामा रासायानिक हतियार प्रयोग भएझैं सत्ययुगमा पनि यस्ता रसायनको प्रयोग हुन्थ्यो होला कि !

पादका प्रकार

पाद्‍ने मानिसअनुसार फरक फरक रहेता पनि सामान्यतयाः पादलाई यसरी मूलरुपमा विभाजन गर्न सकिन्छः

      • बुलेट पादः आजकाल बुलेट बाइकको झैं गर्जनका साथ बज्रने पादलाई यस कोटीमा राखिएको पाइन्छ । गाउँका मुखिया, घरका ठालू, विहेको कयौं वर्षपछिका दम्पत्ति यसका अनुयायी हुन् । मैदाजन्य खाद्यका पारखीहरू यो पादका पीडित हुन् ।

      • सहनाई पादः मध्यम आवाजको थर्कमानसहितको पादलाई सहनाई पाद भनिन्छ । सरकारी स्कूल र कार्यालयका क्यान्टिन, फूटपाथका झुप्रा तथा ठेला होटलका खाना खानाले यस्तो पादको पीडित भइन्छ ।

      • मास्टर पादः ठूला स्वरले कराएर पढाउँदा पढाउँदै आउने पाद । विद्यार्थीले थाहा पाउलान् कि भनी अझै ठूलो स्वरले चिच्याई चिच्याई पाद्‍ने… (ए होइन होइन पढाउने पो) ।

      • हाकिम पादः नयाँ हाकिम फेरिएपछि कुर्सी पनि फेर्नुपर्ने हुनु । कुर्सीको बस्ने भागको बीचमा धुजा धुजा हुनु हाकिम पादको परिणाम हो । ग्यास ज्यादै गुम्सिएकोले यस्तो हुनसक्ने अनुमान गर्न सकिन्छ ।

      • फुस्फुस् पादः फूस्स फूस्स वा पिर्र पिर्र आइरहने पाद यस कोटीमा पर्दछ । टुटेका फुटेका वा सरकारमा जान खुट्टा उचालेका स-साना दलका नेताहरूजस्ता बोलाइदे पनि हुन्थ्यो भन्ने पादको आवाज तथा गन्धका दृष्टिले खासै अर्थ भने रहँदैन ।

      • झूठो पादः गन्हाउने तर आवाज नआउने अनि कर्ता को हो भन्ने पत्तो लगाउन नसकिने । चल्दाचल्दै एक्कासी ढलेका सरकार, अपर्झट सरुवा भएका हाकिम तथा घुस खाने हाकिम, जागिर जाने कारिन्दा उखान चरितार्थ हुने यो पादको असर बर्खाको खहरे खोलाझैं हुन सक्छ । तलको चुट्किलाले यसलाई अझै स्पष्ट पार्दछः

    एउटा अन्तर्राष्ट्रिय पाद प्रतियोगिता भएछ । अमेरिकाने, चाइनिज, जापनिज, इण्डियन र नेपाली जम्मा भएछन् । अमेरिकानेले ढ्वार्र पादेछ । चाइनिजले च्वाइयँ पादेछ । जापानिजले ढ्वाङ् पादेछ । इण्डियनले पाद्‍दा अरुभन्दा ठूलो आवाज आएछ । नापी हेर्दा अरूलाई जितेर ४० अंक पाएछ । अब नेपालीलाई पर्‍यो फसाद ।

    नेपालीले गएर ठुस्स पादेछ । निर्णायकले आवाजै सुनेनछ ।

    नेपालीले भनेछ सुँघेर त हेर् ।

    निर्णायकः (सुँघ्दै)…. पचाँSSSSस् ।

    (यसरी नेपाली पहिलो भएछ ।)

    यस्ता कथा सुनाउनुलाई आजकाल अश्‍लील मानिन्छ । हुन त कुनै पनि शब्द आफैंमा किन पो अश्‍लील हुँदो हो ? बोल्नेले अनेकन कित्तामा बाँडेर शब्दलाई नै खराब देखाइदिए । यसैले त तपाईँ यो लेख उहिले उहिलेको सत्यकथा/यौनकथा/रसरङ्ग पढेझैं अरूले नसुन्ने र नदेख्नेगरी खुसुक्क पढ्दै पो हुनुहुन्छ कि !

    अल्पमतमा पाद

    पादबारे देशैपिच्छे भेषैपिच्छे फरक फरक प्रकारहरू विभाजन गरिएका छन् । पाद्नलाई आँट गर्दागर्दै त्यसको सट्टामा अर्कै आइपरेको पादलाई नेपालमा खासै महत्व दिइएको छैन । त्यस्तै आवाजका हिसाबले युभी (इलेक्ट्रिक) बाइकजस्ता शान्त आवाजका पादलाई पनि नेपालमा स्थान मिलेको छैन । हो-हल्ला, भाइरल, हुलदङ्गा, मौकामा चौका, तोडफोड आदिसँग सम्बन्धित पाद भने नेपालमा धेरै समयदेखि चल्तिका पाद हुन् । तथापि आफ्ना विचार मिल्नेले पादेको बारे होहल्ला हुँदैन । विपक्षीले ढ्याउ गरेको पनि टोलटोल अनलाइन, चोकचोक डटकमदेखि ‘एक मोबाइल एक युट्युब’ च्यानलतिर भाइरल भैसक्ने समयमा छौं ।

    जेहोस् पादबारे यस्ता कथा पनि छन्-

    कसैलेचाहिँ कस्तुरी नाइटोको बासनाभन्दा पनि आफ्नै पादले भागाभाग गर्छ भन्दारहेछन् । कुनचाहिँले के बजायो भनेर ज्यान बचाउन भागेको कस्तुरी आफ्नै पादका कारण थकित भएर मर्दो पनि रहेछ । कथा सकियो तर पाद पुराण सकिनेवाला छैन ।

    पादको वर्तमान अवस्था

    सहरमा कोटप्यान्टले पादलाई पूर्णतया छोप्‍न सकेको छैन तर पनि मान्छेहरू थाहा नभएको अभिनय गर्दैछन् । गाउँमा अझैसम्म खुल्लमखुल्ला प्रदर्शन र श्रवण भैरहेको छ । यसर्थ पादको लागि उपयुक्त वातावरण सहरभन्दा गाउँ नै देखिन्छ ।

    यसरी पादलाई उचित तवरले चिन्‍न सकिएन भने जीवनकै क्षति हुँदो रहेछ । यसैले यो नारा याद गरिहालौं- व्यवस्थापनमा चुक्नुहुन्नँ रति, पादले नगरोस् जीवनको क्षति ।

    पादलाई मूख्य हतियार बनाएर एउटा संगीत रचना गरिएको  र झण्डै ५ लाखले हेरे/सुनेको भिडियो लिङ्क तपाईँका लागि यहाँ उल्लेख गरेको छु । सुनेर आजको दिन रमाइलोसँग बिताउनुहोस्- https://youtu.be/dnByeHVQxYc

    पाद बारे केही तथ्यहरू नेपालीमैं जान्नु परेमा वरीष्ठ पादोलोजिस्टसँग यहाँ सम्पर्क गर्न सक्नुहुनेछ- https://www.facebook.com/bhupendra.bookhill/posts/pfbid0RPUbiwjFb9uDzpb951V17tEJVoGcSpyhDBZViebQDyqW3EndXMZajpuDQ8kXKxiFl  

    यिनलाई नोटप्याडमा कपि गर्दै गर्दा नोटप्याड पनि नोडप्याड नभएर नोटपाद भनेर पढेँ । डिजिटल दुनियाँमा झनै पादै पाद रहेछन् । जस्तो- वर्डपाद, माउसपाद, टचपाद, आइपाद, कीपाद, गेमपाद आदि आदि । हुन त च्याट जिपिटीले ‘pad’ आउने शब्दहरू १५९ वटा छ भनेर बताएपछि मलाई लाग्यो यो दुनियाँमा पाद्‍न सबै चाहन्छन्, तर सुनाउन चाहँदैनन् । तपाईँ यस गीतको भाकामा गाउँन सक्नुहुन्छ- मन पराउने हजार भेटिन्छन्, जुनी काट्ने एउटै हुन्छन् ।

    माथिको लिङ्कमा उल्लेखित सामग्री यस्ता छन्:

    १. पाद्ने बेलामा पादको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।

    २. पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।

    ३. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।

    ४. पादमा ५९% नाइट्रोज़न, २१% हाइड्रोज़न, ९% कार्बनडाइअक्साइड, ७% मिथेन, ३% अक्सिजन तथा १% अन्य तत्वहरु मिसिएको हुन्छ ।

    ५. पाद्नु स्वास्थ्यका लागि राम्रो हो, यसले ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।

    ६. पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ किनभने पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।

    ७. ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोकाभित्र एउटा सिंगै घोडा अट्दछ ।

    ८. पृथ्वीमा भएका सबै प्राणीमध्ये धमिराले धेरै पाद पाद्छ‍ ।

    ९. मध्य युगमा मानिसहरु एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछि त्यस पादलाई सुँघ्यो भने आयु बढ्छ भन्ने अन्धविश्वास थियो ।

    १०. कुकुरले आफ्नो पादलाई देख्‍न सक्छ ।

    ११. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्छ भने जीवनभरमा ४०२००० पटक पाद्छ‍ ।

    १२. तपाईंले पादेको हावाले बलिरहेको मैनबत्ती सजिलै निभाउन सकिन्छ किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

    १३. पादलाई बासनादार बनाउनको लागि दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने दबाई खानुभयो भने तपाईंले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउँछ ।

    १४. जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ, उक्त पादमा गन्ध धेरै आउँदैन तर त्यस्ता पादहरुको आवाज ठूलो हुन्छ ।

    १५. सिमीको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरैपटक आउँछ ।

    १६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय विद्यार्थीलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

    १७. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन् किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानी र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुँदैन ।

    १८. हाम्रो पादलाई रहेको १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउँदछ ।

    १९. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहन्छ भने त्यो पादको इनर्जी एउटा एटम बमजत्तिको हुन्छ ।

    २०. चिम्पान्जीले धेरै ठूलो आवाज निकालेर पाद्दछ ।

    २१. पादैपादले भरिएको च्याम्बरमा तपाईँलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुँदैन ।

    २२. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछन्, पादको दुर्गन्ध कम गर्नका लागि चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

    २३. मानिस मरेको ३ घण्टापछि पनि पाद भने आइरहेको हुन्छ ।

    २४. पृथ्वीमा रहेका सबै मानिसहरुले एक सालमा करिब 17,000,000,000,000,000 पटक पाद्छन् ।

    २५. कहिलेकाहीँ पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसाबीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पादसँगै आउँदछ ।

    यसरी पादकै विशेषज्ञ हुने हो भने पादको एक्सरे गर्नुपर्ने हुन्छ । पादलाई बट्टामा राखेर जाँच्नुपर्ने हुन्छ । पाद सुँघेर बिरामीको अवस्था थाहा पाउनुपर्ने हुन्छ । एक पटक पाद्‍नोस् त भनेर जाँच्‍नुपर्दा त्यो कति पीडादायक होला । दिनभरि पादका बिरामी जाँचेर घर फर्किँदा के अवस्था होला । पादका लागि छुट्टै वीमा योजना बन्लान् । 

    यसरी पाद टिप्पणीका रूपमा ‘पाद्‍ने क्रममा भेट्टाएको’ स्रोत लेख्‍ने पादोलजिस्टले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र पाउनुपर्छ भन्नेहरू हाजिर हुनुहोस् ।

    जदौ ।

    संप्रस पौडेल