यति सुनाउन पाउँदा पनि गर्व लागेर आउँछ
मेरो गाउँले भाइ काठमाडौँमा पठाओ चलाउँछ ।
तँ पढ्न बसेपछि छिमेकीले लाइन काटिदियो
भैगो नरो छोरा ! भोलि बिहानै घाम उदाउँछ।
रातभरिको हुरीले चरीको गुँड भत्काइदियो
यो दु:खको खबर परदेशीलाई कसले पुर्याउँछ ?
यो समय जति क्रुर र निष्ठुरी कोही हुन सक्दैन
बाआमालाई सन्तानको लास जलाउन लगाउँछ ।
खुशी हुन बच्चालाई कसैले रोक्न सक्ने छैन
जब फोहोरको डङ्गुरमा दुईटा गुच्चा भेट्टाउँछ ।
