धार्मिक मान्यतामा विश्वास भएर होला पेटमा जतीसुकै गोला चले पनि पूजा नगरी भुजा छुन समेत पाइँदैन थियो । त्यसै भएर सानामा एक माना दाना हसुर्नुभन्दा पहिला म पूजाका भाँडा बर्तन मसुर्थे र धर्मकर्ममा लीन हुन्थे । छिमेकीहरू पनि कामको जतीसुकै टन्टामा समेत मैले बजाएको घण्टा र फुकेको शङ्खलाई खुब चख भएर सुन्थे ।

‘सराद्धे गर्न सजिलो तर सिदा पुयाउन गाह्रो भने झैं पूजा विधिले भन्दा पनि शङ्ख फुकाइले मेरो गिदी खान्थ्यो । जब म शङ्ख फुक्थेँ तब मरेको मान्छे ल्यायो क्यारे भनेर डरले भुराहरू लुक्थे भने सुरा चाहिँ को मरेछ ? भनेर एकआपसमा फलाक्थे । पूजाआजामा त शङ्खको ध्वनि दोहोरो हुनेमा सबै एकोहोरो लास निकाल्दा राम राम भनेर रूने जस्तो ताल भएपछि हे भगवान् के गर्ने होला मलाई प्रलयकाल परेको थियो ।एक दिनको कुरो हो सदा झैं पूजा सकेर शङ्ख फुक्दै थिएँ, पल्लो घरकी लक्ष्मी दिदीले उहाँको छोरा लालेलाई “ए मोरा ! चाँडो खाना खा माथ्लो घरबाट लास निकाल्न लागिसके” भनेको शब्द आफ्नै कानमा आएर बजियो। “एक कान दो कान मैदान” भने मैले फुक्ने गरेको शङ्ख महात्म्यको बारेमा क्रमशः गाउँभरि नै फैलिन पुग्यो । अलि पछिपछि त साँच्चिकै मान्छे मरेर हाम्रै गाउँको बाटो शङ्ख फुक्दै लास ल्याए भने पनि आ त्यै माथ्लो घरमा राजकुमारले पूजा गरेर शङ्ख फुकेको त होला नि भनेर मान्छेहरू झुक्किन समेत थालिसकेका थिए ।

एक दिनको कुरो हो- हाम्रै गाउँभन्दा अलि माथि अमिलेका अमर बहादुर अमगाइँले अचानक अररिने रोगले अइया भन्न नपाई यमलोकको यात्रा तय गरेछन् । हाम्रै घरको बाटो भएर घाट लान शङ्ख फुक्दै आएका थिए । तर, हाम्रा गाउँका मानिसहरू भने उही मैले नै शङ्ख फुकेको त होला नि भनेर चरोमुसो कोही बाहिर ननिस्केको हुँदा झन्डै गाउँकै बेइज्जत नभएको ।

घरका अरूलाई शङ्ख फुक्न नआउने भएकोले हामी दाजुभाइहरू भिन्न हुँदा समेत त्यो शङ्ख र पूजाका सामाग्रीहरू मेरै अंश भागमा परेका कारण उक्त शङ्ख यद्यपि मसँग छँदै छ । केही पहिले गाउँमा मात्र के कहर काट्नु भनेर सहर पसिएको हुँदा अहिले नास्तिक जस्तो भएर बसिएको छ । तर, ‘नेपाल गए कपाल सँगै बर्मा गए कर्म सँगै भने झैं त्यो एकोहोरो शङ्ख फुकाइ त सहरमा झन् बढी मात्रमा घन्किँदो रहेछ । मेरो थन्किएको शङ्खलाई समेत सहरका चोक चोकमा रन्किएको शङ्खको आवाजले बेलाबेलामा झस्काइरहन्छ ।
घरै पिंडालु नै पिँडालु ससुराल जाँदा बाह्र हाते पिंडालु भने पहिले त म सहरको यो चमत्कार र चालामाला देखेर चस्किएँ । गाउँमा आफैले नजानेर एकोहोरो शङ्ख फुक्ने गरेको त सहरका मान्छेहरू झन् मभन्दा पनि नजान्ने रहेछन् भन्ने जस्तो लाग्यो बेला न कुबेला बजिनीको मेला भने भी जति बेला पनि एकोहोरो शङ्खको ध्वनि मेरो कानमा आएर बज्रिन थालेकोले सो सम्बन्धमा म सोचमग्न हुन थाले ।

एक दिनको कुरो हो म बजारतर्फ जाँदै थिएँ । ठुलो जुलुस नारा लगाउँदै आयो । एकोहोरो शङ्ख पनि बजिरहेको थियो । केही मानिसहरू आफू नारा लगाउँदै अरुलाई समेत जिन्दावाद र मुर्दाबाद भन्न लगाउँदै थिए । उनीहरू भन्दै थिए “मान्छे मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन ।” सबै जना सडक पेटीमा ठडिएर तमासा हेर्दै थिए, म पनि त्यहीँ किनारमा लामबद्ध भै अडिएर रहें। जुलुस अगाडि बढिरहेको थियो मेरो छेउमा उभिएका दर्शकहरू भन्दै थिए ” अरे यार यो त त्यै पार्टी होइन जसले हिजो सरकारमा बस्दा सबभन्दा धेरै मान्छे मारेको थियो ? “

अर्को दिन मेरै घरको छेउबाट त्यस्तै जुलस आयो नाराहरू । घन्किइरहेका थिए “बड्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर ।” जुलुसका नेतृत्वकारी अगुवाहरूलाई यसो हेरेको त तीनै व्यक्तिहरू र त्यही पार्टीका अनुहारहरू देखिन्धे जसले सरकारमा बस्दा सबैभन्दा बढी महँगी बढाउनुका साथै अकुत सम्पति कुम्ल्याएका थिए । आफू सत्तामा रहुन्जेल जे गरे पनि ठिक आफू सत्ताबाट बाहिरिने बित्तिकै भने यस प्रकारको नाटक मञ्चन भएको देख्दा कतै ‘आफै झाँकी आफै बोक्सी भनेको यही त होइन। जे होस् सुरू सुरूमा त यस्तो सडक नाटक हेर्न मलाई पनि खुब रहर लागेर आउँथ्यो र सहभागी हुन्थे पनि तर पछिपछि यो नाटकको कुनै भर नभई बित्थामा आफै मरिने पो हो कि भन्ने डरले सहभागी हुनै छाडिदिएँ ।

उर्लिएर कुर्लिएर नारा मात्र घन्काउँदै हिँड्ने नभै यो नाटकको मुख्य आकर्षण बिन्दु भनेको चाहिँ कलाकारहरूको कला, गला र क्षमता प्रदर्शन समेत गर्नु हो । कसरी हुन्छ आफूलाई मन नपरेको पात्रको उस्तै खालको जुलुङ्गो बनाएर त्यसलाई हलुङ्गोसँग काँधमा बोकेर नगर परिक्रमा गराउँदै सडकको मुख्य चोकमा लगेर अन्त्येष्टि गरी आफ्नो भोक फेर्ने हो । सो कार्यमा साथ दिने महत्त्वपूर्ण साधन वा औजार भनेको चाहिँ त्यही शङ्ङ्ख हो जस्लाई मैले समेत एकोहोरो रूपमा घन्काउन गाउँमै सिकिसकेको थिएँ । जसका नाउँमा दाहसंस्कार गर्नु पर्ने हो, एकैछिनमा काटीकुटी उसैको रूपको पुतला बनाउन खप्पिस हाम्रा राजनैतिक क्षेत्रमा लागेका मूर्धन्य व्यक्तिहरूको दिमागी सुतलालाई भने मान्नै पर्छ ।

एकैछिनमा शङ्ख हूँ… पायो, पुतलालाई अँगालोमा हाल्यो अनि एउटा चोकमा लगेर बाल्यो । टायर भएपछि फायर गर्न पनि त सजिलो, यता कालो मुस्लो भएर पुतला जल्छ, उता सडकको पिच समेत गल्छ अनि भएन कार्यक्रम सफल ? तर के गर्नु जसको पुतला जल्छ उसको एउटा भुत्ला पनि झर्दैन । देख्नु भो नि पुतलाको पावर ?

  • यस रचनालाइ राजकुमार लामिछानेकाे ”पुतलाको पावर हास्यव्यङ्ग्य सङ्ग्रह २०७४” बाट साभार गरिएकाे हाे ।