मैले गणतन्त्र प्राप्तिका लागि के मात्र गरिनँ
कस्ता कस्ता अवसरहरू त्यागें
कस्ता कस्ताका पछि लागें
हुँदा खाएँ नहुँदा भोकै सुतेँ
तर पनि अल्छी गरेर घरमा बसिन
छाती खोलेर मोर्चामा अगाडि उभिएँ डराएर दुलोभिन्न पसिनै ।
र आफू मात्र होमिइन युद्धमा
इष्टमित्र नातागोता सबै आतङ्ककारी भनाइए कोइ स्वेच्छाले लागे कति बाध्य बनाइए एक्ली छोरीलाई सुरक्षा फौजले यातना दिएर मारे छोराको अझै खोजखबर छैन कता बेपत्ता पारे पारे आफै पनि युद्धका थुप्रै घाउहरू लिएर बाँचिरहेको छु र पनि आशा अझै मरेको छैन ।
मलाई लागेको थियो
गणतन्त्रमा केवल राजा नहुने मात्र होइन
मैले जिउन जानिनँ ।
कोइ पनि राजा जस्तो हुँदैन
जसको जीवनशैली आभिजात्य होस्
जसलाई छुन नसकियोस्
जसको अगाडि गएर रुन नसकियोस्
जो सिङ्गो सडक कब्जा गरेर हिँड्नुमा आफ्नो शान ठान्छ
जसको कारण जाममा फसेर
एउटा विरामी र सुत्केरीको ज्यान जान्छ ।
तर राजतन्त्रको अवसानपछि पनि
अवस्था ठिक त्यस्तै भयो
काम गर्नेहरूको कदर भएन
कान भर्नेहरूको सदर भयो
माफिया र तस्करहरूको घेरामा रमाउन थाले नेताहरू
निमुखाहरूको निवेदन बदर भयो ।
गणतन्त्र र सङ्घीयता त आयो देशमा
तर राजाको उत्तराधिकारी बन्ने होडमा लागे सबै
आफ्नो धरातल हेरिएन
अनुहार मात्र फेरियो, व्यवहार र शैली फेरिएन
अञ्चलाधीशहरू मुख्यमन्त्री भएर आए
राजाको सिंहासन राष्ट्रपतिले पाए
यसरी
परिवर्तन केवल एउटा शकुनि खेल भयो जनताले फेरि हारे, खेलमा पूरै झेल भयो ।
र परिवर्तनपछि
केवल राष्ट्रसेवकको लिबास फेरियो
नेताहरूको निवास फेरियो
नाम फेरियो बोर्ड फेरियो
देशको कित्ताकाट गरियो र त्यसको कोड फेरियो
बाँकी जस्ताको त्यस्तै रहयो ।
न भ्रष्टाचार हट्यो
न गरिबी घट्यो
जति क्रान्ति गरे पनि
जति मान्छे मरे पनि
खै हामी भुइँमान्छेहरुको सुदिन आएन
संविधान पनि बन्यो तर त्यसले पनि लछारपाटो लाएन
भन्दै बर्बराउँदै ऊ त संविधान च्यात्न पो अघि सत्यो
ठिक त्यति नै बेला
मोबाइलमा घन्टी बज्यो र म ब्युँझिएँ
बाहिर नारा घन्किरहेको थियो
संविधान दिवस सफल पारौं, सफल पारौं ।
-मीनप्रसाद लामिछाने