वि.सं. १९८५ अर्थात् आजभन्दा ९५ वर्षअघि आफ्नै शब्द, सङ्गीत र स्वरमा रहेको ‘सवारी मेरो रेलैमा’ निकै चर्चित गीत मेलवादेवी गुरूङ (वास्तविक नाम सुनमाया लामिछाने गुरूङ) ले गाउनु भएको हो । मेलवादेवी क्यासेटमा नेपाली गीत रेकर्ड गर्ने पहिलो नेपाली गायिका हुनुहुन्थ्यो जसलाई दरबारमा चन्द्र शमशेरको प्रिय गायिकाका रूपमा चिनिन्छ ।
यो गीत कलकत्ताको हिज मास्टर रेकर्डिङ स्टुडियोबाट रेकर्ड गराउनु भएको मेलवादेवी ओखलढुङ्गाको रुम्जाटार काफलबोटे (*चण्डीगाउँ) मा मामाघरमा जन्मिनु भएको र उहाँको पुर्ख्यौली घर भने गोरखामा (हालको बारपाक) रहेको थियो । तथापि यसबारे फरक फरक जानकारीहरू पाइन्छन् । जामुने सुब्दार (ज्ञानबहादुर लामिछाने गुरूङ) र सप्तदेवी गुरूङका कोखबाट १९५९ (कतै कतै १९५४ र अन्य मिति रहेको) मा जन्मिनु भएको उहाँ टेकु, काठमाण्डौँ बस्नुहुन्थ्यो । ७ वर्षमैँ दरबारमा आफ्ना बाबुले चिनाएपछि आमासहित दरबार प्रवेश गर्नु भएका उहाँले देशी, विदेशीहरूलाई आफ्ना स्वरमा मग्न गराउने गरेको इतिहासमा पढ्न पाइन्छ ।
यसैक्रममा मदनमणि दिक्षितले लेख्नुभएको छः पहिलो भेटमा मेलवादेवीबाट ज्यादै प्रभावित भएपछि दरबारमैँ सङ्गीत प्रशिक्षक बनाएर ‘मेलवानानी’ नाम दिएर छिटको धोती उपहार दिँदै दुई दिनमा एक मोहर पाइनेगरी उनलाई नियुक्ति गरिएको थियो । त्यसो त चन्द्र शमशेरले शिकारका क्रममा मेलवादेवीलाई लिएर जाने गरेको र मेलवादेवीले गीत गाएर उनको नजिक आएका हरिणहरूलाई नमार्नु भन्ने आदेशबाट पनि उनको गायनको सम्मानबारे प्रष्ट हुन सकिन्छ ।
यस्तै चन्द्र शमशेरले आफ्नी रानीलाईभन्दा उनलाई बढी महत्व दिएको, मध्यरातसम्म उनकै साथमा गीत सुनेर बस्ने गरेको किस्साहरू पनि सुन्न र पढ्नमा पाइन्छ । बरीष्ठ शाष्त्रीय साधकहरू उस्दाद बालाप्रसाद शर्मा, ढुण्डे खाँ, गणपत, खेमचन्द्र, माधवप्रसादबाट सङ्गीत सिक्नुभएको उहाँले सङ्गीत प्रवीण नरराज ढकाल लगायतका सङ्गीत साधकहरूलाई सङ्गीत सिकाउनु भएको पाइन्छ । उहाँ मास्टर रत्नदास प्रकाश (‘म माहुरी हुँ राधा, तिमी आँप मञ्जरी हौ’ का गायक) तथा कलकत्तामा सङ्गीतका प्रशिक्षक गोपाल श्रेष्ठसँग सङ्गीत सामीप्यमा रहनु भएको थियो ।
कान्छी महारानी बालकुमारीले श्री ३ ले मेलवादेवीलाई ज्यादै ख्याल गरेको र रानीको पदमा उन्नति गर्न आँटेको गाइँगुइँ सुनेपछि गीत गाउनुअघि बनारसी पानमा सिन्दुर हालेर खान पठाएपछि मेलवादेवीको स्वर धोद्रो भएको र श्री ३ ले वैद्य र बेलायती घाँटी रोग विशेषज्ञ मगाएर लगातार २ महिना उपचार गराएपछि कालान्तरमा सुधार हुँदै गएको भनाइहरू पनि प्रचलित छन् । त्यसो त कतिपय लेखक र अनुसन्धानदाताहरूले चन्द्र शमशेरले उनलाई छोरीको स्थानमा राखेको भनेर पनि सुन्न तथा पढ्न पाइन्छ ।
यस्तै मेलवादेवीले एक तबलाबाधक तथा पूजारीलाई मन पराएको र उनको दरबार छोडेर जाने इच्छा बुझेपछि उनैलाई लक्षित गरी १९८५ मा श्री ३ ले दुखका साथ ५ वर्ष बसेका सुसारे नानीहरूका लागि फर्मान जारी गरी सिंहदरबार छोडेर जान सक्ने आदेश दिएपछि उनी दरबारबाट बाहिरिएकी बताइन्छ । त्यसो त विजेश्वरी मन्दिरका पूजारी तथा तबलावाधक भगतकृष्ण मानन्धरसँग दक्षिणकाली मन्दिरमा विवाह (कतै दोस्रो त कतै तेस्रो पत्नीका रूपमा विवाह) भएको तर बिहेबाट अपहेलना झेल्नु परेको बताइन्छ । हुन त भुकम्पका समयमा मानिसहरू मरेका, भागेका, उनीहरूका पीडा लिएर उनले आफ्ना पतिद्वारा रचित गीतलाई पतिकै भाषामा गाएर रेकर्ड गराउनु भएकोले नेपाल भाषामा गीत गाउने सेतुरामपछि उहाँ दोस्रो गायिका हुनुहुन्थ्यो ।
२ छोरी (शान्ता र विमला मानन्धर-पछि विमला दिक्षीत) सहित २ छोरा लिएर देश छोडेर भारत गएपछि उहाँको गायनका कारण ‘ठुमरी (राग) की रानी’ उपनामले चिनिनु भएकी र त्यहाँ थुप्रै सम्मान तथा पुरस्कार (पचासौं पदकहरू) पाई चर्चित रहेको पाइन्छ । कतै कतै बबर शमशेरले दुख दिएपछि विदेशिनु परेको उल्लेख भएको पाइन्छ ।**
त्यसो त नेपाली कलासङ्गीतका वृहत ज्ञानकोषका रूपमा चिनिने प्रकाश सायमीका अनुसार राणाहरूको कोपभाजनमा परी जुद्ध शमशेरको पालामा उहाँ दरबारले बनाइदिएको घर छोडेर श्रीमानसँग दूरी बढेपछि भारत पलायन हुनु भएको हो ।
कलकत्ताको प्रख्याति कमाएको हिज मास्टर्स भ्वाइसमा सवारी मेरो रेलैमा रेकर्ड भएपछि सो गीत लिएर भीमफेदी आइपुगेका रेकर्ड दलका सदस्यहरू नेपालमा जुद्ध शमशेरको शासन सुरू भएको सुनेपछि रेकर्ड त्यहीँ छोडेर फर्किएको बताइन्छ ।
यस्तै मेलवादेवीको जन्मबारे फरक फरक धारणाहरू पाइन्छन् । जस्तो कि- स्वामी प्रपन्नाचार्यले वि.सं. १९५६, रामशरण दर्नालले १९६४ र मास्टर रत्नदास प्रधानले १९५९ साल (सायमी यसैलाई पुष्टी भएको मान्नुहुन्छ) मा र धेरैस्थानमा १९७० सालमा उहाँको जन्म भएको लगायतका फरक फरक तथ्याङ्कहरू पाइन्छ ।
सवारी मेरो रेलैमा पहिलो गीतमैँ चर्चामा रहनु भएको उहाँको यो गीत नेपाली गीतमा पहिलो पटक ‘रेल’ शब्दको गीत रहेको हो ।
सवारी मेरो रेलैमा
सानु रे सानु लै लै
कुसुमे रुमाल बरिलै
ज्यान तिम्ले पायौक कि
सवारी मेरो रेलैमा
झन् पर जान्छु लै लै
झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि
सवारी मेरो रेलैमा
यस्तै उहाँले हरियो भन्नु सुरती पत्र पहेँलो सुरती, आउ बसौं पियारी मिर्मिरे झ्यालैमा, थापा है थली हजुर, पापी भवँरा, हाय मेरो प्रितम छोडेर जानुभो उनैले गाउनु भएको हो भने काव्यचेतनाले ओतप्रोत उहाँले शुक्रराज शास्त्रीको रचना एक नाटकमा रहेको यस गीत गाउनु भएको थियो-(♪)
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो,
एक मात्रै धर्म साधान,
नारी घरको द्वार हो’
दरबारकी गायिकाको रूपमा चिनिएको उहाँले सरकार विरोधी शाष्त्रीको रचनाको गीत गाउनु भएकोमा पनि विवादमा रहेको बताइन्छ । भवँरा शीर्षकमा उहाँको अर्को गीत यसप्रकार रहेको पाइन्छ-
छानी-छानी रस लिने
कति निठुरी, डुलुवा भवँरा
मतलबिई लहसिएर
छाडी जाने भवँरा
पेट कालो, मुखै कालो
पापी भवँरा, डुलुवा भवँरा
छानी-छानी रस लिने
कहिले यसमा कहिले उसमा
जहाँ छ कोपिला तहाँ छ भवँरा
भनन न भनन न गर्दैछ..??…
किरिया हाल्ने त्यो भँवरा
पापी भवँरा, डुलुवा भवँरा
कोइली देवी, तारादेवी, अरुणा लामा, गौरी केसी, मीरा राणा, दिलमाया खाती, डेजी बराइली, दाबा ग्याल्मो, शान्ति ठटालसम्मले मात्र नभई अहिलेका नवगायिकाहरूले समेत उनको गीतलाई निरन्तरता दिइरहनु भएको छ । यसबाट पनि नेपाली सुगम सङ्गीतमा मेलवादेवी अझै कैयन् वर्षसम्म जीवितै रहिरहनुहुनेछ ।
अन्ततः कोलकत्ता बसाइका क्रममा २००६ (२०१२♫) सालमा ५८ वर्षे उहाँको भारत बसाइमा खाना पकाउने समयमा स्टोभ पड्किएर जलेर मृत्यु भएको बताइन्छ । आफ्नो मृत्युपछि आफ्ना सबै रचना, सङ्गीतका साधनहरू जलाइदिनु भन्ने उनको आशयका कारण पनि उनका बारेमा थुप्रै जानकारीहरू इतिहासमैँ बिलय भएको बताइन्छ । गाइने
उनै मेलवादेवीप्रति हार्दिक श्रद्धाञ्जली ।
[*, **डीआर पोखरेलका अनुसार, ♪प्रकाश सायमीका अनुसार, ♫विकीपिडियाअनुसार]
सन्दर्भ स्रोतः
१. इकुरौटे युट्युब च्यानल
२. प्रकाश सायमी, प्रथम नेपाली महिला गायिका मेलवादेवी गुरुङ (प्रकाश सायमी युट्युब च्यानल)
३. डी.आर. पोखरेल, जनमत साहित्य
