मलाई सधैँ देख्नेहरे वा चिन्नेहरूले याद गर्नुभएको छ कि छैन को‘ नि ! मेरो देब्रे कान दाहिने कानभन्दा तुलनामा निक्कै ठूलो छ । दुइ प्रकारका मेरा कान देखेर मेरा सहपाठीहरूले मलाई न ‘हात्तीकाने’ भनेर जिस्काउऩ सक्छन् न ता ‘मूसेकाने’ भनेर गिल्ला नै गर्न सक्छन् । यसकारण मेरो देब्रे कान ठूलो र दाहिने कान सानो भएकोमा मलाई एक रत्ति दुःख मऩाउ छैन । तर एउटा ढ्याब्रे कान र अर्को सिप्रिक परेको कान लिएर जन्मिएको चाहिँ पक्कै होइन म ।
स्कूलका हिसाब सरले कान निमोठेर निमोठेर मेरो देब्रे कान ठूला न ठूला बनाइदिएका चाहिँ पक्कै हो । धन्य सरले मेरो भुँड़ीको लाम्टो तानेनन् । मेरो कानको सट्टा उनले भुँड़ीको लाम्टो दिनहुँ तानिदिएका भए अहिलेसम्म मेरो भुँड़ी झोलिएर घूँड़ासम्म पुगिसक्नेथ्यो । धन्य बाँचियो । हिसाब सरले तिनको भएभरको शारीरिक, मानसिक एवम् सांसारिक गज्याङ्, जस्तो, बात, स्पण्डलाइटिस (उबेला यस रोगलाई ‘घिच्राको व्यथा वा दुःखाइ’ भनिन्थ्यो )- को पीर मैमाथि न्यौछावर गर्दा हुन् । सायद यस रोगको पीड़ाबाट सामान्य बिसेक हुनु उनले मेरो कान निंमोठेका हुनन् भन्ने पनि लाग्छ मलाई । मेरो कान निमोठेर सरले भक्कुचूर रुपियाँको श्राद्ध गरी फिजियो थेरापिष्टको हजारौं कच्याङ्-कच्याङ्बाट मुक्त हुनलाई नै उनले मेरो कानलाई थेरापी ठानेर कान निमोठेका हुनन् । त्यतिमात्र होइन, ग्रेट-डेन कुकुरजस्तो घिच्रामा कलर पनि लाउनुपर्ने थिएन । अवसाद, हताशा, निराशा, डिप्रेसन, असहयोगी गुरुपत्नीसितका दिन रात कलह. उनका पट्ठो, गधापच्चिसे तर बेरोजगार कुपुत्र स्वप्नदोष इत्यादिका हातबाट मुक्ति पाउन चाहन्थे मलाई कर्णपीड़ा दिएर । यसैकारण मेरो दाहिने कान मेरा परमआदरणीय हिसाब सरबाट आकर्षित हुँदै देब्रे कानभन्दा तुलनामा ढ्याब्रे भएको हो । सरले मेरा दुइवटै कान समानरुपे निमोठिदिएका हुँदा हुन् ता सायद मेरो कानदेखि म लाई अहिले लाजमर्दो अवस्था हुने थिएन । तर हाम्रो पा लामा प्रतिवाद गर्ने दस्तूर थिँदै थिएऩ ।
हो, अहिल्यै जस्तो कुरैकुरामा प्रतिवाद गर्ने समय हाम्रो पालामा पटक्कै थिएन । तर अचेल जमाना बद्लिएको छ । हिजोआज सरहरूलाई कटुक्ति गर्न सकिन्छ, गरिएको देखिँदो पनि छ बेलाबऎखत । कुनै पनि विद्यार्थीमाथि सरको क्षणिकको उत्तेजना वा अदूरदर्शिताको कारणे विद्यार्थीको गाला रन्काउँदा वा झ्याँपट वर्षिँदा, कान निमोठ्नु ता परै जावोस् सामान्य तान्दा पनि हिजोआज सर-गुरुआमा ‘जनरोस्’मा पर्ने सोह्रै आना सम्भावना देखिन्छ । उबेलाका अभिभावक, जनता-जनार्दन तथा विद्यार्थीहरू अत्यन्तै सोझा, सरल । साँच्चै हाम्रो पालामा के विद्यार्थी के सर सबै नै व्यक्तिस्वतन्त्रमा विश्वासी थियौँ । ‘मुद्दाआधारित राजनीति’, ‘प्रतिक्रियाशील राजनीति’, ‘मस्तान’, ‘दादा’, ‘राउडिज’ तथा ‘छल र खलबुद्धिजीवी’हरूका माखेसाङ्लोमा जकड़िएका थिएनौं हामी ।
मेरा एकजना सहपाठी थिए । तिनको नाम डम्बर । स्वाभाव ले नै तिनी हाम्रा सरदारजस्ता थिए । दुइ दुइ वर्षसम्म एउटै क्लासमा बसेकाले वा फारो गरेर पढ़ेकाले तिनको उमेरको जोर, शरीरको जोर, सिनियरको जोरका कारणले पनि तिनलाई हामीले मान्नैपर्ने हुन्थ्यो । पछिल्लो बेञ्चमा बस्ने, सरले पढ़ाउँदै गर्दाहुँदी किताबले अनुहार छोपी खैनी च्याप्नमा उस्ताद । तर हामालाईई कहिल्यै खैनी च्यापन् अभ्यास गराएनन् डम्बरले । मान्छे हेर्दा गम्भीर देखिने । अत्यन्तै शान्त । तर सरहरूको नाम राख्नमा उस्ताद फेरि । हिसाब सरको नाम ‘छुचुन्द्रो’ राखेका थिए । त्यो कुरो हामी सामान्य विद्र्यार्थीलाई मात्र थाहा भए पनि सरकहाँ ट्यूशन पढ़्नेहरू कसैले यो ‘छुचुन्द्रो’ नाम सरको कानसम्म पुऱ्याइसकेका रहेछन् । पिञ्जराको सुगालाई ‘ए सुगा’ भन्दा सुगा पिञ्जराभित्र छटटिएजस्तै हिसाब सर पनि दुरुस्तै ‘छुचुन्द्रो’जस्तै छटपटिन्थे फर्मुला सिकाउँदा, थेरोमा पढ़ाउँदा । यो उनको बडी ल्याङ्गुवेज नै हो । सरको ‘छुचुन्द्रो’ बडी ल्याङ्गुवेजले ‘छुचुन्द्रो’को स्टाइल प्रदर्शन गर्दा हामी डम्बर एण्ड कम्पनी बेजोड़ उल्लसित हुन्थ्यौं । साँच्चै हिसाब सरलाई हेर्दा ठ्याक्कै ‘छुचुन्द्रो’जस्तै नै देखिन्थ्यो । छुचुन्द्रोको मुख र हिसाब सरको मुखमा कुनै फरक थिएन । काटाकुटी ‘छुचुन्द्रो’ नै । सहपाठी डम्बरले हिसाब सरको नाम ‘छुचुन्द्रो’ ऱाखिदिएकामा हामीलाई भक्कु स्वाद परेको थियो ।
एकदिन अङ्कगणितमा मेरो सामान्य गल्ती भएकोमा हिसाब सरले मेरो कान निमोठे । दुःखेर म हुरुक्कै भएँ । मेरो देब्रे कान निमोठ्ने तिर्सना मेटेपछि काठको प्लेटफर्ममाथि गई जब उनी कुर्सीमा बसे, जम्बर अचानक आफू बसिका बेञ्चबाट उठे र अत्यन्तै गम्भीरपूर्वक क्लासको देब्रेतिरको देवालतर्फ सामान्य अघि बढ़ेर रोकिए । त्यसपछि खल्तीबाट मैला न मैला रुमाल निकालेर देवल घस्न थाले । हिसाब सर मात्रै होइन श्रेणी कोठाका तमाम् सहपाठीहरू तीन छक्क पऱ्यौं ।
सर गर्जे – एई ! एई ! एई ! त्यहाँ के हुँदैछ ? के गरेको डम्बरे ?
देवल घस्नमै मस्त सहपाठी डम्बरे सरलाई नहेरी बोले – पुछ्दैछु सर । कति घिनलाग्दो शब् सर ।
कुर्सीबाट जुरुक्कै उठ्दै सर बोले – कस्तो घिनलाग्दो शब्द लेखिएको रहेछ ?
डम्बर – त्यो म भन्न सक्दिनँ सर । छि: कति घिनलाग्दो शब्द । तपाई आफै यहीँ आएर हेर्नुहोस् न सर । यो नपुछिञ्जेल म मेरो ठाउँमा गएर बस्नै सक्दिनँ सर ।
सर- खै हेरुँ ता ! कस्तो घिनलाग्दो शब्द लेखिएको रहेछ ?
हिसाब सर उत्साहित भई आफ्नो ठाउँबाट देवालतर्फ आए । विद्यालयका क्लास रुम, देवाल तथा विशेषगरी वाशरुमको देवालभरि नै अश्लील चित्रहरू बनाइएको हुन्छ भने कति उत्तेजक कुराहरू पनि लेखिएका हुन्छन् । ती सबै हेरेर अनभिज्ञ अस्पवयसी विद्यार्थीहरूमाझ असर पर्नु स्वाभाविकै हो ।
चश्मा मिलाउँदै सर जब देवाल सामु आए त्यतिबेला मात्र डम्बरले मुख खोले – तपाई आफै हेर्नुहोस् सर । कस्तो घिनलाग्दो शब्द हई सर !
सर – तँ अलिक पर जा । खै हेरुँ…हेरुँ…..
डम्बर स्वयम् जोर जोरले हामी सबैले सुन्ने गरी कराए – ‘छुSSSSचुSSSSन्SSSSद्रो….’ देख्नुभयो सर ! कुनै माने हुन्छ हँ सर ! म यो पुछ्छु पुछ्छु सर ।
सर बोले – यो ‘छुचुन्द्रो….’ शब्दले तेरो के बिगार्य़ो डम्बरे ? किन तँलाई यो शब्दसित अचानक घिनलाग्यो बाबु ? यो शब्द यो श्रेणी कोठाको भित्तामा लेखिएको मैले उहिल्यै देखेको । पुछ्नु पर्दैन । त्यतिकै छोड़िदे बाबु । यो शब्द देखेर मलाई श्रेणीकोठामा उर्जा पैदा हुन्छ ….र ता तिमीहरूलाई हिसाब मज्जाले सिकाउँछु ता। जा जग्गामा गएर बस् ।
सरको यो भनाइले डम्बरलाई के असर पऱ्यो थाहा छैन तर मलाई भने सरको महानता देखेर उनीप्रति टिठलागेर आयो ।
हाम्रो समाजमा क्रिया-प्रतिक्रिया अवश्यै थियो तर त्यो नितान्तै व्यक्तिगत थियो । कुरै-कुरामा बन्ध, चक्काजाम, सानो गाड़ी बन्द, ठूलो गाड़ी बन्दको कारणले एक-दुइजनाले विरोध गर्न दस्तूर उबेला ठ्याम्मा थिएन । तर सरहरूलाई उबेलादेखि नै अप्रत्यक्षरुपमा हामी छलकपटविहीन विद्र्यार्थीहरूले असम्मान गर्दारहेछौं भन्ने कुरो अहिले यो उमेरमा पो बुझिँदैछ । ‘दुष्टलाई दमन, शिष्टलाई पालन’ भन्ने कुरो हामीहरूमध्ये जो अशिष्ट, अभद्र थिए उनीहरू मात्र जान्दथे । उबेलाको हाम्रो समाजले कुनै पनि व्यक्तिलाई यस्तो अन्धो, मूक वा वधिर बनाएको थिएन । उबेला एकाधको मात्र मन कालो थियो । अचेलजस्तो सबैको मन कालो र अन्धा थिएन पटक्कै ।
खासै कुरो भन्नु हो भने, हामी उबेला हतबुद्धिजीवि पक्कै थियो तर दुर्बुद्धिजीवि चाहिँ ठ्यामम् थिएनौं ।
कृष्ण प्रधान, सिलगड़ी (भारत)