आश्विन १६, मकवानपुर ।
किताबघर हेटौँडाद्वारा हेटौँडा १६ मा अवस्थित जनप्रिय मा.वि. मा पुस्तक प्रदर्शनी गरिएको छ ।
यो सिजनमा मकवानपुरका ८ विद्यालयहरूमा गरिएको प्रदर्शनीमध्ये मंगलबार जनप्रिय सभाहलमा ६ वर्ष उमेरमाथिका विद्यार्थीलक्षित पुस्तक प्रदर्शनी गरिएको छ ।

साहित्यिक, राजनीतिक तथा विचारप्रधान पुस्तकहरू मात्र उपलब्ध हुने किताबघरको दशैँअघिका कार्यक्रमअन्तर्गत असोज ९ गते कमाने एकेडेमीबाट सुरू भएको प्रदर्शनी यात्रा असोज ३० गते जीएस निकेतनमा पुगेर टुङ्गिनेछ ।
यस्तै वर्षे विदाको समयमा विविध साहित्यिक कार्यशाला सञ्चालन गरेको यस विद्यालयमा भइरहेको पुस्तक प्रदर्शनीबाट विद्यार्थीहरूले कक्षागत पुस्तक अध्ययनका अलावा विविध विधाका पुस्तकमा चासो राख्ने र यसले उनीहरूमा पठन संस्कृतिको विकास हुने अपेक्षा लिइएको प्रधानाध्यापक भुपेन्द्र चौलागाईँले जानकारी दिनुभयो । साथै उहाँले पठन संस्कृतिको अभवृद्धिका लागि विद्यालयमा पुस्तकालय व्यवस्थापनका कार्यहरू भइरहेको हुँदा विद्यार्थीका अलावा स्थानीयले समेत अध्ययन गर्ने थलोको रूपमा विकास गर्न सके यसले सार्थकता पाउने बताउनुभयो ।
सोही क्रममा कक्षा ९ की छात्रा बिबिशा खड्काले विद्यालयले विद्यार्थीहरूको रुचीलाई ख्याल गरेर विविध कार्यक्रमहरू गर्दै गएकोले आफू निकै खुशी भएको बताउनुभयो । साथै सो कक्षाका सबै विद्यार्थीले एक विद्यार्थी एक पुस्तक लिएको र दशैँको विदापश्चात् सोबारे समीक्षा लेखन तथा वाचन क्रियाकलापहरूका लागि पूर्व तयारीका लागि पनि यसो गरिएको जानकारी दिनुभयो ।
नेपाल, भारत, अमेरिका, फ्रान्स आदि देशका प्रकाशन गृहका नेपाली र अंग्रेजी भाषाका पुस्तकहरू रहेकोमा शिक्षक र विद्यार्थीहरूले विविध पुस्तकहरू लिएका छन् । शिक्षक रविन श्रेष्ठले जोन हल्ट र गिजुभाईका पुस्तकहरू सङ्कलन गर्नुभयो भने प्रधानाध्यापक चौलागाईँले गणित सिकाइसँग सम्बन्धित पुस्तक सङ्कलन गर्नुभयो । शिक्षक संप्रस पौडेलले मदनकृष्ण श्रेष्ठद्वारा लिखित पर्यासाहित्यका पुस्तकसहित केही थान बालसाहित्यका पुस्तक सङ्कलन गर्नुभयो ।
विद्यालयमा शिक्षकको जन्मदिनका अवसरमा कक्षामा रहनेगरी पुस्तक उपहार दिने परम्परा व्यवस्थित हुँदै गएको छ भने साहित्य सर्जक, अभिभावक, विद्यार्थी, पुस्तकप्रेमीहरूबाट एक व्यक्ति एक पुस्तक अभियानअन्तर्गत विद्यार्थीका लागि कक्षामैं उपलब्ध रहनेगरी पुस्तक सङ्‍कलन अभियान सञ्चालनका क्रममा रहेको अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले जानकारी दिनुभयो ।
मंगलबार कक्षा ८-१० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको थियो भने बुधबार ११, १२ तथा साना बालबालिका लक्षित प्रदर्शनी रहने सञ्चालक छवि अनित्यले बताउनुभयो । निजी तथा संस्थागत विद्यालयहरूमा मात्रै यस्ता गतिविधि भइरहेकोमा जनप्रिय मावि मकवानपुरका विद्यालयहरूमध्ये पुस्तक प्रदर्शनी गर्ने पहिलो सामुदायिक विद्यालयका रूपमा चिनिएको छ ।