अखण्ड, अखण्ड, अखण्ड

मात्र अखण्ड भनिरहेछ ऊ

खण्ड–खण्ड मगज बोकेर
अखण्ड आलाप
किन गरिरहेछ ऊ ?

जबकि
उसको सिङ्गै परिवार अटाउने
घरभित्र पनि छन्
थुप्रै खण्डहरू-
भान्सा, अगेनो, भुइँतला
चोटा, धनसार, बुइँगल आदि–आदि..

उसको थालमा पस्किएको भात
खण्ड–खण्ड पारेर नखाने हो भने
उसको घाँटीबाट कसरी छिर्ला अखण्ड भात ?
कसरी अटाउला उसको मुखभित्र
अखण्ड रोटी ?

उसले फेर्ने सास पनि
निमेषमै
करोडौँ खण्डमा बाँडिएर
भित्र बाहिर नगर्ने हो भने
कसरी धान्लान्
उसको दुई खण्डे फोक्सोले
अखण्ड सास ?

दुई खण्डमा बाँडिएका
उसका आँखाहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

नाकका दुईखण्डे प्वालहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

दुईतिरका दुई पाटा कानहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

दायाँ बायाँ दुईतिरका दुई खण्ड हातहरू
दुईतिर टेकेर उभिने
दुई खण्ड खुट्टाहरू
मानिलिनोस्
अखण्ड भैदिए रे
अब के हुन्छ ?

ऊ मान्छे हुन्छ कि जुका ??

हो
उसको स्वरूप अखण्ड छ
तर ऊमित्र छन् – थुप्रै खण्डहरू
उसको घर अखण्ड छ
तर घरभित्र छन् – थुप्रै खण्डहरू
यो पृथ्वी पनि अखण्ड छ
तर, यही पृथ्वीमा छन् –
थुप्रै खण्ड देशहरू
यो देश अखण्ड छ
तर, यही देशभित्र छन्
थुप्रै खण्ड भूगोलहरू ।

ऊ पनि
प्रकृतिको एउटा खण्ड हो
उसले खण्डमा
बाँच्न सक्नुपर्छ

तर सबैभन्दा खतरा त
उसको खण्ड–खण्ड मगजभित्र
अखण्ड विष रोप्ने
विखण्डनकारीहरूसँग हो ।

मुक्तान थेबा
मकवानपुर