मकवानपुर । कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ का लागि दोस्रो चरणमा छनोटमा परेका पाँच कृतिको नाम कविडाँडा साहित्य समाजले सार्वजनिक गरेको छ । नेपाली साहित्यको प्रगति र उत्थानमा सक्दो सहयोग गर्नका लागि स्थापित समाजले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ का लागि जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐँठन’, रामलाल जोशीको ‘बाआमा’, देवीप्रसाद सुवेदीको ‘मनु’, र अशोक थापाको ‘सन्तापको धुन’ छनोटमा परेको समाजका अध्यक्ष एल बि क्षेत्रीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
समाजले पहिलो चरणमा दश जना लेखकको पुस्तकहरू छनोट गरेको थियो । पहिलो चरणको छनोटमा जानुका खतिवडाको ‘आतोओडा’, विवेक ओझाको ‘ऐँठन’, गोपी सापकोटाको ‘चिसो बाफ’, मनोज चौधरीको ‘टुवारा’, रामलाल जोशीको ‘बाआमा’, देवीप्रसाद सुवेदीको ‘मनु’, सञ्जय विष्टको ‘माटाको घर’, हरिबोल काफ्लेको ‘यशोधरा’, रेणुका जिसीको ‘सनेस’ र अशोक थापाको ‘सन्तापको धून’ परेका थिए ।
कविडाँडा साहित्य समाजले पुरस्कारका लागि छनोटमा परेका पाँच कृतिमध्ये पुनः एक उत्कृष्ट कृतिलाई कविडाँडा साहित्य समाज आख्यान पुरस्कार–२०७९ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
पुरस्कार राशि रू. १,२५,०००/- (एक लाख पच्चीस हजार रुपियाँ) रहेको छ ।
