छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्दसाधक कविहरू भुवनहरि सिग्देल र कविराज पौडेललाईे प्रदान गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि सभामुख घिमिरेले दुई पुस्ताका कविहरू सिग्देल र पौडेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गर्दै आएकोमा गत वर्षदेखि छन्दसाधना युवा प्रतिभा पुरस्कारसमेत थप गरी एक जना अग्रज कवि र एक जना अनुज कविलाई पुरस्कृत गर्ने गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सभामुख घिमिरेले छन्दसाधकद्वय सिग्देल र पौडेलले नेपाली छन्दकविताको उन्नयनमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी पुरस्कार प्रदान गरिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “छन्द वेदको एउटा अङ्ग हो । अहिले पूर्वीय जगत्का ज्ञानगौरवहरू दिनदिनै हराउँदै जान थालेका छन् । कुनै समयमा गणित, इतिहास, अर्थशास्त्र आदि समेत लेखिने र तत्काल कण्ठ गर्न र लामो समयसम्म स्मरणमा राख्न सकिने हुनाले छन्दको विशिष्ट भूमिका रहने गरेको छ ।”

डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको जोडीहरूद्वारा स्थापित र सञ्चालित यस छन्दसाधना पुरस्कारले यस क्षेत्रमा योगदान दिने एक जना विशिष्ट साधक र एक जना युुवा साधकलाई सम्मानित तथा पुरस्कृत गरेर सबै पुस्तालाई थप हौसला प्रदान गरेको छ ।

प्रा.डा. रामप्रसाद ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले छन्द–तरङ्गले गरेका ऐतिहासिक कामहरूको स्मरण गर्दै ज्ञवाली र नेपालको सत्कर्ममा आफ्नो सदैव साथ रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा ‘विशिष्ट छन्दसाधना पुरस्कार’बाट पुरस्कृत वरिष्ठ कवि भुवनहरि सिग्देलले यस पुरस्कारले आफ्नो छन्दसाधनालाई सम्मान गरी थप जिम्मेवारी प्रदान गरेको विचार व्यक्त गर्नुभएको थियो भने ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’बाट पुरस्कृत युवाकवि कविराज पौडेलले संस्कृत छन्दविधान र अङ्ग्रेजी छन्दविधानसम्बन्धी आफ्नो अत्यन्त प्राज्ञिक मन्तव्य प्रस्तुत गर्दै आजका दिनबाट आफूमा गहन जिम्मेवारी थपिएको हुनाले सकेसम्म छन्द कविताको उन्नयनका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै एक सशक्त छन्दकविता वाचन गर्नुभएको थियो ।

सोही सभाकक्षमा दोस्रो चरणमा गरिएको कृति लोकार्पण कार्यक्रममा विशिष्ट छन्दसाधना पुरस्कारद्वारा पुरस्कृत भुवनहरि सिग्देलको जीवनाख्यान ‘साँखेजुङको उकालो’ कृतिको लोकार्पण पनि गरिएको थियो ।