– रिजन राना


उसलाई खबरदार

“उफ् ! कस्तो गर्मी हौ,
न पानी पर्छ, परे पनि बाढी नै जान्छ ।”
उम्लिएको पृथ्वीमा
उसिनिएको मान्छे छट्पटाउँदै बर्बराउँछ ।
उसको स्मृतिमा केही
श्यामश्वेत चित्रहरू चलिरहेका छन्-
‘हरियो वन, डाँडापखेरा सजाइरहेको,
कलकल बगेको खोला,
सदियौँदेखि उसको पुर्खाका तिर्खा मेटाइरहेको,
चराहरू धुरन्धर सङ्गीतकार जस्तो
कर्णप्रिय सुसेलीको धुनमा चिर्बिराइरहेको,
पारि सेतै हाँसेको हिमालसँग
प्रभाती किरण पिरती खेलिरहेको,
बालकहरू तीन तारे तित्रिक, अहो, तित्रै जस्तो टाठा !
सुन्दर बाल्कायलको सफर गरिरहेको ।’
प्रायश्चित गरे झैँ, ऊ मनमनै गुन्छ,
“सायद मनुवाहरू वन फाँडेर
आफैँ वनकर नभइदिएका भए,
सिद्धार्थ गौतमले पिपलकै बोटमुनि
बुद्धत्व पाएको सम्झिएको भए,
O2 लाई CO2 ले हरण गर्ने थिएन,
आज सासै फेर्न नसक्ने गरी ऐँठन पर्ने थिएन ।”
पढ्नलाई उसले पढेको छ,
कविशिरोमणिको वसन्त व्याख्यान,
वातावरण संरक्षण ऐनको प्राक्कथन ।
सुनेको छ,
वातावरण दिवसमा दिइने प्रवचन,
डाइनासोरहरू बिलाएको कथन,
हिमालमा हिउँ हराएको विज्ञापन ।
देखेकै छ,
१९९२ को पर्यावरण सन्धिमा गरिएको हस्ताक्षर ।
उसलाई थाहा छ,
मानिसलाई आवासको नाउँमा
प्रकृतिको निवास मासिएपछि,
धान फल्ने खेतमा कङ्क्रिट सहर उम्रिएपछि,
डाँडो काटेर समृद्धिको भ्युटावर
चढ्न कस्सिएपछि,
तब न हो, हाम्रो धरातल भासिएको ।
तर
यो सबैबिच उसको लगन भिन्नछ,
जमिन पुरेर आलिसान घर ठडाउने,
उसको एउटा सपना छ ।
नदीकिनार खनेर बालुवा खानी
चलाउने धन्दा छ ।
साथमा मान्छे भएको
अभिमानी झन्डा छ ।
उसले देखेको वनमा, डाँडापखेरामा, समथरमा,
जलथलमा, सुनको अन्डा छ ।
उसलाई त्यहाँ खन्नु छ, त्यही खोज्नु छ ।
उसले उर्वर भूमिलाई मरूभूमि बनाएर भुँडी भरेको छ,
स्वार्थारोहणको होडबाजीमा
तँछाडमछाड,
ऊ नै अघि लागेको छ ।
उसको छिमेकी झनै उग्र छ,
त्यसले तेल निकालेर
फुस्रा रेत छोडेको छ,
खनिज खोतल्न पहाड अनि
शक्ति देखाउन बम फोडेको छ,
ऐश्वर्य विलास गर्न पर्यावरणीय
सन्तुलन खल्लास पारेको छ,
मानवको दुख विसर्जन गर्ने खोजमा
हानिकारक रसायन उत्सर्जन गरेको छ ।
प्रविधिको जमाना भए पनि
उसले नबुझ्ने विधिमा
हिजोसम्म शान्त पर्यावरण
आज मुर्मुरिएको छ ।
उम्लिएको पृथ्वीमा
उसिनिएको उसलाई भन्छ-
“म छैन त तेरो अस्तित्व रहने छैन,
उसो त,
म पग्लिए तेरो उचाइ अग्लिने छैन,
खबरदार !
तैँले ममाथीको दोहनकारी क्रिया नबदले,
मेरो प्रतिक्रिया बद्लिने छैन ।”

– रिजन राना, गोरखा