बबिता विष्ट

सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेशको अध्यक्ष रहनुभएकी नारायणी नगरपालिका ६ दैलेख निवासी गजलकार बबिता विष्टले गजल, मुक्तक, कविता, हाइकु र टुक्रा कवितालगायतका विधामा कलम चलाउँदै आउनुभएको छ । उहाँको गजल सङ्ग्रह ‘जीवन यात्रा’ (२०७७) प्रकाशित रहेको छ । –सम्पादक

गजल

एउटा सहर छ सधैँ उत्सव सधैँ बहार छ
अर्को गाउँ छ जहाँ मलामीको हाहाकार छ ।

मलाई ताकेको ढुङ्गा खसेर भएछ दुस्मन घाइते
बिचरा एक्लै रहेछ अस्पताल लैजाने विचार छ ।

आखिर त्यहीँ घाटसम्म त पुग्न रह्यो लेखेको
जसले जिन्दगीभर भनिरह्यो व्यस्त छु हतार छ ।

यो लडाइँमा तिमी जिते पनि हार्छौ हारे हार्छौ
म फूल बोकेर आएको छु तिमीसँग तरबार छ ।

सधैँ तिमीले जलायौ अब आफ्नालाई पालो देऊ
एउटा मान्छे अन्तिम पटक जल्न तयार छ ।

बबिता विष्ट

नारायणी नगरपालिका ६ दैलेख