आँखाबाट झरेका आँसु
र ओठको हाँसो मिलाएर
सजाएकी थिई–जिन्दगीमा इन्द्रेणी ।
दिमागको चलखेल
र मनको दृढताले
लडिरहेकी थिई–समयसँग संग्राम
अघोषित प्रेमीसँगको रोमान्सको कल्पनामा
कति चुम्बन गर्थी–कफीमा मगहरु
लेखेर, चुरोटको बट्टामा उसको नाम
धुँवामा उडाउँथी निकोटिन याद
र क्याफेका कुनामा बसेर
कति लेख्थी मेट्थी–प्रेमिल कविताका हरफहरु
भाग्यको भवितव्य भोग्दैभोग्दै
जिन्दगीको मसानघाटमा
काँसजस्तै फुलिसकेकी एउटी प्रेमिका
आजपनि, प्रेमीको बाटो हेरिरहेकी छे ।
एलिसा एकलास, नुवाकोट
