यादमा आउँदा विद्यालयकालीन सम्झनाहरू पनि पुराना लोककथाहरूझैँ रमाइला लाग्छन् । आज विद्यालय जीवनबाट टाढिएको करिब १४ वर्ष जतिपछि ती दिनहरूतिर फर्केर सम्झिँदा कता कता ओठमा खुसी फुस्किन खोजे जस्तो गर्दछ।
मन आलादित भएर आउँछ। कुनै कर्तुतहरूले त अहिले पनि ग्लानिबोध गराउँछन् । धेरै पक्षहरू सम्झनाका कुनाहरूमा बयेली खेल्छन् ।
कर्मप्राप्ति निमावि हालको माविमा प्राथमिक विद्यालयको पढाइ सुरु गर्नुभन्दा अघि महेन्द्र माविमा कक्षा एकमा गुल्टिसकेको थिएँ। कक्षा एकको नेपालीको लिखित जाँचमा चौरमा ब्लाकबोर्ड राखी त्यसमा ‘क’ लेख्न भनिएको थियो । मलाई ‘क’ लेख्न आएन । गुल्टिएँ । महेन्द्र माविमा कक्षा एकभरिको मेरो प्रगति बुवाले घरमा सिलोटमा सिकाउनु भएको क…ख…. बिर्सिनु नै थियो । अब म श्री कर्मप्राप्ति प्राविको कक्षा एकको विद्यार्थी भएको थिएँ ।
कक्षा एकदेखि तिन कक्षासम्मका विषयहरू उत्तिसाहो सम्झनामा आउँदैनन् । त्यसपछिका रमाइला दिनहरू सम्झनाका कुनाहरूमा सुरक्षित छन् । अब म कर्मप्राप्ति स्कुलको विद्यार्थी भएको थिएँ । यसमा दुई कारणहरू प्रस्टसँग लुकेका थिए। पहिलो कारण, म कक्षा एकमा अनुत्तीर्ण भएको थिएँ । दोस्रो कर्मचुलीको विद्यालय जाँदा खोला तर्नु पर्दैनथ्यो र बर्खामासको सम्भावित जोखिम वहन गर्नु पर्दैनथ्यो । कर्मचुलीको पढाइ पनि निकै रमाइलोसित बित्यो । साना कक्षाहरूमा पढ्दा केही झगडा गर्नेबाहेक अन्य अर्थमा जोखिमपूर्ण काम गरेको खास थाहा छैन । कहिलेकाहीं साथीहरुले केही कारणहरुले पिट्थे । म प्रायः पिटाइ खानेमा नै पर्थे । किनकि पिट्ने खास आँट पुग्दैनथ्यो । तर एकपटक भने दिपेश र दीपक देवकोटा दाजुभाइसँग जुधेको घटना याद छ । उनीहरूलाई चाहिँ मैले जुधेर पराजित गरेको थिएँ । एक जनालाई ठेलेर नहरमा हालिदिएको त अर्को जना त टाप कसिसकेछन् । तर पछि दिपेश नै मेरो मिल्ने साथी भए । हाल अलिक कम भेटघाट हुन्छ । म प्रायः पिटाइ खाएर घर आएको बेला ममीले यो कुरा थाहा पाइहाल्नुहुन्थ्यो । खासमा हामी धुलौटे माटोमा खेल्नेहरूको रुंदा लेग्रा बस्दो रहेछ अनुहारमा । अनि त्यही देखेर घरमा जानकारी भइहाल्ने । अनि उल्टो पिटाइ खाइन्थ्यो । पिटाइ खानुको कारण हुन्थ्यो आफूले झगडा नगरी पिटाइ खाइँदैन भन्ने तर्क ।
बिहानीको पढाइ चल्ने बेला घरबाट खाजाको रूपमा गहुँको रोटी पकाएर पठाइदिनुहुन्थ्यो । हामी प्रायः रोटी स्कूल लाँदैनथ्यी रोटीलाई झाडीमा लुकाउँथ्यो । स्कुल सकिएपछि फर्किएर आई रोटी निकालेर त्यही टोक्दै घर फर्किन्थ्यो । कुनै दिन केही साथीहरू आफू खाजा नलगी अस्को चोरेर खाइदिन्थे अनि हामी पेट छाम्दै घर फर्किन्थ्यौ।
कक्षा चार पढ्दा तेस्रो घन्टीमा सूर्यकान्त ठाकुर सरले पढाउनुहुन्थ्यो । उहाँ अलिक नरम स्वभावको । हामी यही कुरोको फाइदा उठाउँथ्यौ । केही साथीहरू थिए-दीपक माझी, विष्णु माझी लगायत उनीहरू रुख चढ्न सिपालु थिए । सम्भवतः तेस्रो पिरिएडको कक्षा छोड़ने गर्थ्यों । त्यसपछि मौजे वनको बेलको रुखमा ती साथीहरू बढ् र बेल भारी खुवाउँथे । सम्भवतः उनीहरूसँगको सम्बन्ध त्यही कारण बलियो थियो । आफ्नो त रुख चढ्ने हुती र सिप थिएन । साना रुखहरू चढ्न सके पनि ठुला र काँडाहरू पनि हुने बेलको रुख चढ्नु दुःसाध्यकर नै थियो । कक्षा छ मा पढ्दाताका अँधेरीबाट पढ्न आउने तेजबहादुर गुरागाईंका दाजुभाइले घरवाट बदाम ल्याएर बेच्थे हामी उनीहरूसँग कहिले पैसामा बदाम किन्थ्यो त कहिले खाली कापीका पानाहरूसँग साट्थ्यौ ।
हामीले खेल्ने अर्को रमाइलो खालको खेल पनि हुन्थ्यो । त्यस खेलको नाम झिंगा दाउ’ भनेर राखिएको थियो । त्यस खेलका निम्ति खेल्ने जति सबैले कागजका खाली पानाहरू निकाल्थ्यौ । त्यसलाई भिंगा लाग्ने ठाउँमा फिंजाउँथ्यौ । जसको कागजमा भिंगा बस्थ्यो, त्यसले सबै कागजका पानाहरू जित्थ्यो । कहिलेकाही त सबै कागजका पानाहरू जितेर एउटा कपी नै तयार हुन्थ्यो त कहिले सबै हारेर घरमा नयाँ कपी किन्न लाउनु पर्ने हुन्थ्यो । हारेका दिनचाहिँ कपी हरायो भन्ने गजबको बहाना बनाइन्थ्यो घरमा ।
एक दिन तामाङ साथीहरूले राम्रा शब्दहरू भन्दै सिकाइदिएका अपशब्द कक्षामा बोल्नाले म र अर्को एउटा साथीले सरको नराम्रो झापड भेट्यौ हामीभन्दा ठूलो एक जना तामाङ साथीको तालमा लागेर तामाङ भाषा बोलुन्जेल त गज्जबै लाग्दै थियो तर, कक्षाका केटीहरूले सरलाई भनिदिएर पिटाइ भेटेपछि तिरिमिरी भयो ।
कर्मचुलीको मौजे वनमा सिमलका ठुला रुखहरू थिए । ढलेका सिमलका रुखहरुमा प्वाल बनाएर ठुला कीराहरू बस्दा रहेछन् । हामी त्यही लौरीले र सिन्काले घोचेर त्यसको भू भू. आवाज निकाल्थ्यौ र रेडियो बजाएको भन्ने गर्थ्यो । दिनको एक पटक त्यहाँ पुगेर उक्त कार्य गर्नु हाम्रो नियमितता जस्तै थियो । ठूलो कक्षामा पुगेपछि यो कार्य बन्द भयो ।
एक दिन सन्तोष बन्जारा, सगुन बन्जारा र म पावसको माझी गाउँभन्दा तल तर बगुवा खहरे नपुग्दै रहेको नुनढिकी झाडीमा लुकेर स्कुल गएनौं । यसको कारण हामी स्कुल जान अलिक ढिलो हिँडेका थियौं या ढिलो खेल्दै गएका थियौं । यो वेला सगुनको आँखामा अन्धो आएको थियो । अब हामी त्यहाँ दिनभरि अभिनय गरेर बस्यौं । सगुन बिमारी बन्ने, सन्तोष उसको घरको अभिभावक अनि म डक्टर । म अलिक टाढा घरमा हुन्थे, सन्तोष बोलाउन आउँथे र मचाहिँ झोलामा औषधी बोकेको जस्तो गर्दै गएर उनको उपचार गरेजस्तो गर्थे । बिचमा निकै पानी प्यास लाग्यो । त्यहाँ नजिकै पानीको कुवा थियो तर त्यो कुवा भाडीभन्दा बाहिर थियो । हामी त्यहाँ पानी खान गएका थियौं । यस बिच खेतमा धान गोड्न गएका रोपारहरूले देखेछन् र घर गएर भनिदिएछन् । स्कुलबाट एक जना पूर्ण माझी भन्ने दाइ फर्केको देखेपछि, त्यही समय अड्कल गरेर हामी घर फर्कियौं । तर हामीले पवडाउ खाइहाल्यौं । त्यो दिन रामधुलाइ खाइयो ।
हामी कर्मचुलीको विद्यालय अवधिभर निकै प्राकृतिक थियो भन्ने लाग्छ । स्कुल सकिएपछि कहिले डुली खान वनवन चहानें, कहिले नुनढिकी र काँसीको कलिलो गुभो खान फाँटफाँट चहार्ने, कहिले थाकल, कहिले अँगेरी, अमारो, अमला, धंगेरीको फूल, धाकलको गुभा, मकर काँजी, बयर, काभ्रोका कोपिला, कोइरालाको फूल, खनायो, कबाइ, कुटिली कोसा, अम्बा आदि खोज्दै खाने गर्थ्यो । एकताका धानको कलिलो गुभा निकालेर खाने काम केही आफूभन्दा ठुला दिदी र दाजुहरूले सिकाएका थिए । हामीले यस अवधिमा आफू हिँड्ने आली वरपरका धेरै नै धानका गुभाहरू निकालेर खायौं । एक दिन एकजना बच्चे भन्ने दिदीलाई कर्मचुलीका दुरुङच्याङ बुढाले धानको गुभा थुत्दाथुत्दै समातेका कारण सँगुरको खोरमा थुनिदिए । यो दृश्य हामी केही साथीहरूले प्रत्यक्ष देख्यौ । सायद उनले पोल गरिदिइनन् र हामी बाँच्यौं । त्यो बेला सुँगुरको खोरभित्र उनी आत्तिएर रोएको दृश्य धानको बोट देख्नासाथ झल्झली सम्झनामा आउँथ्यो । यसपछि यो काम गर्न नहुने रहेछ भन्ने पूर्ण चेतना हाम्रो दिमागमा प्राप्त भएको हुनुपर्छ ।
अब त हामीलाई धानको बोट छोइए पनि करेन्ट लाग्नेजस्तो हुने भएको थियो । एक दिन हाम्रो कक्षा खाली थियो । क्लासमेट जीवन पौडेल भाइ र म अफिस छिरेका थियौं । प्रधानाध्यापक रहनुभएका पदम सरको डेस्कमा दुईवटा अमारो रहेछ। जीवनले एउटा र मैले एउटा समातेर अमारो टोक्न लागेका थियो । अफिस माथिल्लो तल्लामा थियो । भन्याङ बजेको आवाज सुनियो । अब पयो मार । मैले अमारो फ्याँकिदिएँ । मैले फ्याँकेको अमारो त झ्यालबाट बाहिर गएछ तर जीवनले फ्याँक्दा अफिसको भित्ते घडीको सीसामा लागेर सिसा झयामकुरुम फुट्यो । हामी बाहिर निस्कियौ । हामीमा भयको पारो चढेको थियो । तर संयोगवश त्यहाँ कोही आएको रहेनछ । अब अफिसको घडीमा सिसा थिएन । हामी कहिलेकाही घडीको सुई हातले घुमाइदिएर टिफिन टाइम लम्ब्याइ दिन्थ्यो त कहिले छिटो छुट्टी गराइदिन्थ्यो । स्कुलको पियन कमल दाइको हातमा घडी हुन्नथ्यो । उनी घन्टी लाएर जाल बुन्न थाल्थे वा माछा मार्न जान्थे र अड्कलेर फर्किई घन्टी लगाउँथे ।
केही शिक्षकहरूले सुर्ती खानुहुन्थ्यो र सुर्तीको पोका अफिसमा छाडेर क्लास जानुहुन्थ्यो । हाम्रा बद्री पाण्डेलगायत केही साथीहरूले सुर्तीको चुनामा चक घोटेर हालिदिँदा रहेछन् । एक दिन एउटा सर अर्को सरसँग कुरा गर्दै गरेको सुनियो- “आजभोलि सुर्तीको चुना खुब खराब आउँछ सर, मेरो त ओठ निकै नराम्रोसँग काटेको छ ।” हामीलाई भने यसको रहस्य पहिल्यै थाहा भइसकेको थियो ।
कक्षा नौ मा फेरि महेन्द्र माविको विद्यार्थी भएँ । नेपाली शिक्षक रमेशमोहन सर ले पहिलो दिनमा नेपाली वर्णमालाका अक्षरहरू लेख्नको लागि निर्देशन गर्नुभयो । नाथे क, ख… पनि नआउने हो र ? यो त एक कक्षामा नै सिकेको हो । यस्तो सोच्दै लेखेको थिएँ । तर क, ख… नै बिग्रियो । ख लेख्दा रव लेखिएछ । यो त ‘र’ र ‘व’ मिश्रित शब्द ‘रव’ भएछ । यसले मलाई साना भनी छाडेका विषयमा ठुला अर्थहरू गाँसिएर बसेको हुन्छ भन्ने गम्भीर ज्ञान दिलायो ।
गर्मीको समयमा पौडी खेल्ने धुनमा स्कुलबाट भागेका दिनहरू। स्कुल छाडीछाडी जगलमा गाईवस्तु छाडेर तास खेल्ने धुनमा गाईले अर्काको बाली खाएको र मजाले गाली खाइएका दिनहरू सम्झनामा गाढा भएर रहेका छन् । तीजको छेउछाउ जुरेली बजारमा लाग्ने हाट बजारको घुइँचो हेर्न खल्तीमा सुक्को नभए नि स्कुल छाडी भागेका दिनहरू हिजो नै हुन् जस्तो लाग्छ । खोलामा विष हालेकाले माछा टिप्ने घुनले स्कुल छुटेका दिनहरू खासै टाढा पुगे झै लाग्दैनन् ।
हाम्रो शिक्षा प्रणालीमा भएको खोटलाई सुधार्नु पर्ने कुरा एक पक्षीय रयो । यसमा धेरै त्रुटिहरू छन् । व्यावहारिक र व्यावसायिक शिक्षाको विकास हुन सकेको छैन । मूल्याङ्कन प्रणाली गतिलो छैन । पछिल्लो समय विकास भइरहेको टेक्निकालिटिजका हिसाबले हाम्रो शिक्षा त सुस्त र मन्द गतिको देखिन्छ । समयानुकूल परिवर्तन हुन सकेको छैन । यी सबै विषय तत्तत् अर्थमा सही हुन् तर, जीवन प्रक्रियामा जुन विधि र पद्धति अपनाइयो त्यसलाई पनि महत्तम ढङ्गले हेर्ने पर्दछ । आगामी पिँढीमा यसको सुधारको अपेक्षा गर्न सकिन्छ तर विगतको अवमूल्यन गरेर होइन ।
ऊ बेला कुरो टाँसिएको पाइन्ट, एउटा दुइटा टाँक फुस्किएको सर्ट, चुँडिएर दुईचार पटक बुबाले टुकीबत्तीको मद्दतले टाँसिदिनुभएको हात्ती छाप चप्पल सहितको आफैलाई सम्झन्छु वेलावेला । प्राकृतिक भी लाने ती दिनहरुलाई आजभोलि नर्सरी पढ्ने छोराका दिनहरूसँग दाँज्दो रहेछु । बोर्डिङ स्कुलका क्लास वर्क र होमवर्कको भार ले घोटिएर केटो पातलो हुँदै गइरहेको देख्छु । स्कुल ब्याग त्यसमा टिफिन बट्टा, पानीको बोतल, हामीले चार कछातिर मात्र सिकेको अङ्ग्रेजी भाषामा लेखिएको धेरै पुस्तक । ल्याउने र पुयाउने पात्र (आमा बुबा वा हजुरबा हजुरआमा) । निन्जा हथौडी, अगि एन्ड कक्रोच र मोटु पात्लुवाला गफ ।
‘कान्छो समय बदलिई सकेछ- भखी गाउँ छाडेर हामीसँगै बजार बस्न थाल्नुभएकी आमाले बेला बेला भन्ने वाक्यांश सम्झिन्छु ।
