२२ असोज, काठमाडौँ ।
लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ सोमबार राजधानीको एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले भन्नुभयो- ‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ ।’
यस्तै साहित्य समीक्षक विन्दु शर्माले भन्नुभयो- ‘युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा लेख्दै अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर पुस्तकमा उतार्नु भएको छ।’
पूर्वप्रशासक शारदाप्रसाद त्रितालले ‘पूरै पुस्तक पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन, बरू कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना पिटरका लेखनीमा छन् ।’ भन्नुभयो ।
अन्य वक्ताहरूमा लेखनाथ न्यौपाने, राजदेव राम (राजेश विद्रोही) रहनु भएको थियो ।
जीवन स्वयम् एउटा महाआख्यान हो भन्ने लेखक पिटर हरेक मानिसको जीवनलाई विश्वविद्यालय मान्नुहुन्छ । यस पुस्तकलाई समेत उहाँले आफ्नै जीवनको एक बकपत्र मान्नु भएको छ । उहाँ भन्नुहुन्छ- ‘मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दगुर्न नसके पनि हिँड्न त सिकाइस् तैंले ।’
यस पुस्तकमा उहाँले प्रिजन नोटबुक, एनिमल फार्मका विषयवस्तुका साथै थोमस पेन, रेब्सपियरेका प्रसङ्गहरू उल्लेख गर्नु भएको छ भने पुस्तकमा सुधीर शर्माद्वारा लिखित ‘प्रयोगशाला’ पुस्तकलाई प्रायोजित पुस्तकको उपमा दिँदै सो पुस्तक प्रचण्डले चुनावका अघि गरिएको विमोचनबारेका प्रसङ्गहरूलाई शङ्काको दृष्टीले उल्लेख गर्नु भएको छ ।
माओवादी युद्धकालका प्रसङ्गहरू, सीपी गजुरेल, हरिबोल गजुरेल, रामबहादुर थापा बादलका साथै यानप्रसाद गौतम ‘आलोक’ आदिबारे प्रसङ्गहरू उल्लेख गर्नु भएको छ । वर्ग सङ्घर्ष, प्याओ प्रवृत्ति, कारबाहीका नाममा अन्तरघात आदिका साथै माओवादी पार्टी ओरालो लाग्नुका कारणलाई मिहिन ढङ्गले अध्ययन र विश्लेषण गर्नु भएका विश्लेषक तथा कम्युनिष्ट विचारधाराका लेखक पिटरको यस पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो । जसको पुस्तकको मूल्य ६४९ रुपैयाँ रहेको छ ।
विमोचन कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरिएको हो ।